मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को विवाद समाधान भइसकेको दावी गरेका छन् । प्रेस युनियन जिल्ला शाखा मोरङले आयोजना गरेको अन्तक्र्रियामा मंगलबार बिहान बोल्दै सभापति देउवाले नेविसंघको विवाद समाधान भइसकेको र निर्वाचित पहिलो समिति भएकाले काम गर्न मौका दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले मंसिर २८ गतेका लागि तोकिएको महासमिति बैठक पछाडि नधकेलिने कुरामा आफु ढुक्क रहेको बताए । महासमितिको बैठकबारे मिति तोकिसकिएको हुनाले अब पछाडि फर्कन सकिदैन र सञ्चारमाध्यममा आएका कुरामा आफूले ध्यान नदिएको उनले स्पस्ट पारे ।
कोइराला परिवार बीचको एकताले सभापति देउवा अत्तालिए भन्ने प्रश्नमा उनले पार्टीभित्र मेलमिलाप हुनु राम्रो भएको र तीन कोइरालाको एकताले पार्टी अझ मजबुत हुने धारणा ब्यक्त गरे ।
सोही क्रममा वर्तमान सरकारअघि प्रमुख प्रतिपक्षि दलको भूमिका कांग्रेस फितलो अवस्थामा रहेको भनाइलाई देउवाले स्वीकार गरे ।
त्यसैगरी केही समयअघि तत्कालिन फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई एकतापछि विधान विपरीत बहुमतको आधारमा उपसभापति बनाइएको भन्ने सन्दर्भमा उनले भने, ‘दुईवटा पार्टी मिलेपछिको सहमतिको कुरा हो र यो राजनीतिक निर्णय हो । त्यसैले विधानमा नभएको कुरालाई सहज अवतरण गराएका हौं । सहमतिका कुर्दाकुर्दा ढिलो भयो, त्यसैले पार्टी बहुमतको आधारमा नियुक्तीमा लागेको हो ।’
पार्टी भित्र चर्को गुट उपगुट रहेको र त्यसलाई समाधान गर्न सभापतिले जिम्मेवारी भूमिका वहन गर्न नसकेको प्रश्नमा सभापति देउवाले ‘कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा छ । तर, यसले बोलीचाली नै बन्द गराइसक्यो । जित र हारबीच बोलचाल नै छैन भन्ने हैन ।’
पार्टी भित्रको गुटउपगुटलाई स्वाभाविक मान्नुपर्ने बताएका उनले भने, ‘प्रजातान्त्रिक पार्टी हो यसैले यस सहमत असहमत पक्ष हुन्छ । त्यसैले यस विषयलाई स्वभाविक मान्नु पर्छ ।’
सञ्चारकर्मीसंगको अन्र्तिक्रया पूर्व देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच करिब २५ मिनेट गोप्य कुराकानी समेत भएको छ ।
सोमबार बेलुका विराटनगर आएका सभापति देउवा प्रदेश नम्बर एकस्तरीय महाधिवेशन प्रतिनिधी प्रशिक्षण भेलामा सहभागि हुने र मंगलबारै काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस