विलासी गाडीको ताँती: साइकलदेखि हेलिकप्टरसम्म, राजाकै शैलीमा राष्ट्रपतिको सवारी


राजेन्द्र महर्जन/काठमाडौँ ।  रुसी शासक जार राजधानी पेट्रोग्राडका सडकमा बग्गी चढेर आउँदाखेरिको ढाँचा हुन्थ्यो– राणाकालमा सहर–बजारतिर प्रधानमन्त्रीको सवारी चलाइँदा । सरदार भीमबहादुर पाण्डेका अनुसार राजा र महाराजा भनिने प्रधानमन्त्री सवारी हुने बाटोमा मानिस अगावै हटाइन्थे ।

बाटो खाली गर्न लामो छडी लिएका रिसल्लाहरू ‘महाराजको सवारी भयो, बाटो हट’ भनेर कराउँदै घोडा दगुराउँथे । पर रिसल्लाहरू आएको देख्नासाथ जनता छेउ लागेर कुर्नेस मार्दै (नुहेर सलाम गर्दै) ‘जय महाराज’ भनेर कराउँथे । बेलैमा छेउ लागेनन् भने राजाको बग्गी पछि–पछि बेतोडले घोडा दगुराउने चाकरीदारले किच्ने जगजगी हुन्थ्यो ।

‘मेरो सवारी हुँदा सडक जाम होस्, बटुवालाई सकस होस्, म ढिलो गएकै कारण प्लेन डिले होस्, तब न सत्ता–शक्ति चाख्नुको खास स्वाद आउँछ †’ यो मनोकांक्षा त्यस्तो पात्रको हो, जो मुख्यमन्त्रीबाट प्रधानमन्त्रीको कुर्सीमा आसिन हुँदै थियो । यो पाकिस्तानी टेलिफिल्मको संवाद हो, संवाद हुबहु नहुन सक्छ, भाव भने दुरुस्तै छ । रूसी सम्राटदेखि पाकिस्तानी सत्तासीनहरूको मानसिकता जनाउने यी शब्दले नेपालका पुराना–नयाँ शासकको आचरणलाई पनि प्रतिनिधित्व गर्छन् ।

फारसी मूलको शब्द ‘सवारी’ले गणतन्त्रमा पनि जसरी सामन्ती मानसिकतालाई प्रतिविम्बित गर्छ, त्यसरी नै सवारी चलाउने लोकतान्त्रिक नेताहरूको शासकीय व्यवहारले पनि राजतन्त्रका मूल्य–मान्यता र संस्कृतिलाई उजागर गर्छ । यस्ता मूल्य–मान्यता, मानसिकता र संस्कृतिबाट हाम्रा ‘लोकतान्त्रिक र वामपन्थी’ नेताहरू पनि मुक्त छैनन् । उनीहरू नेताबाट शासकमा फेरिएपछि सामन्ती संस्कृति नयाँ रूपमा झ्यांगिएको दृश्य देखेरै ‘नयाँ महाराज–महारानी’को पगरी गुँथाउने चलन बढेको हो ।

साइकलदेखि हेलिकप्टरसम्म

लोकतान्त्रिक गणतन्त्रका अभियन्ता देवेन्द्रराज पाण्डेको प्रतीकात्मक भाषामा भन्दा, खासमा ‘काठमाडौंको पानी’ नै खराब छ, यहाँको पानी खानासाथ नेताहरूका लवाइ, खवाइ, बोलाइ फेरिन्छन्, दरबारिया हावभाव र शैलीमा ।

सात सालदेखिका आन्दोलनपछि जन्मिएका नयाँ–नयाँ शासक वा मिलोभान जिलासको शब्दमा ‘नयाँ वर्ग’ देखेका–भोगेका पाण्डेले ‘सेता र राता बुर्जुवा’का अश्लील चालढालतिर संकेत गर्ने क्रममा काठमाडौंको पानीको खराबीको कुरा उठाएका हुन् ।

‘साइकल चढेर सिंहदरबार छिरेका’ लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएर काठमाडौंको पानी खाएपछि देखाएको गाडी मोह र सरकारी गाडीको दुरुपयोग सत्ता–शक्ति–सम्पत्तिको निजीकरणको एक द्योतक हो, जुन अधिकांश नेतामा पाइन्छ ।

कुनै बेला काठमाडौंको ज्ञानेश्वरमा डेरामा बस्ने नेता ईश्वर पोखरेल एक जमानामा नेकपा एमालेका शक्तिशाली महासचिव मात्रै होइनन्, उपप्रधान एवं रक्षामन्त्री भएका छन् । उनको सत्ता–शक्तिको अभ्यास पार्टीको चियापान समारोहमा सहभागिताका लागि हेलिकप्टर अवतरण गर्न क्रिकेट प्रतियोगिता नै स्थगित गरिएको विवादास्पद प्रकरणमा देखिएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि म्याग्दीको तातोपानीमा स्नान गर्न पुगेका नेकपा डबलका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा बादलले सपत्नी गरेको हेलिकप्टर भ्रमण पनि विवाद र प्रश्नबाट मुक्त भएन । नेपाली सेनाको हेलिकप्टरको खर्च कसले कसरी ब्यहोर्छ भन्ने प्रश्नसँगै नेता र शासकको रवाफिलो सवारी अनि सत्ता–शक्तिको प्रदर्शन प्रश्नको घेरामा पर्नु अनौठो होइन ।

जनतासँग नदीमा माछाजस्तै घुलमिल भएर बस्नुपर्छ भन्ने माओको शिक्षा पढाउने गुरु प्रचण्डको सवारीका लागिसमेत शाही शैलीमा सडक खाली गरिने र बाटो काट्ने बटुवालाई जरिवाना तिराइने प्रचलनलाई लोकतान्त्रिक आचरण वा वामपन्थी संस्कृतिको द्योतक भनी कसैले पनि जवाफ दिन सक्दैन ।

यस्तो व्यवहार कुनै नेता, शासक वा राज्यको दैनन्दिन सामान्य व्यवहार नहुन पनि सक्छ, जनता, पार्टी र देश हाँक्नेहरू यस्ता ‘ससाना घटना’बाट बेखबर हुन सक्छन् । तर मिडियामा छाइसकेपछि कुनै कारबाही नहुनु वा आफ्नो व्यवहारमा सुधार नगरिनुको अर्थ हुन्छ– सत्ता–शक्तिको मात प्रदर्शन ।

राजाकै शैलीमा राष्ट्रपतिको सवारी

जनताका नेताबाट मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति–उपराष्ट्रपति जस्ता पदधारी शासकहरूको सवारी लोक वा गणका लागि सकस हुनु लाजमर्दाे हो । सबैभन्दा सकसको सवारी त राष्ट्रपति महोदयको हुँदै आएको छ, जसको धार्मिक भ्रमणले बटुवालाई दिनुसम्मको सजाय दिने गरेको छ ।

हिन्दु धर्म, वर्णव्यवस्था र पितृसत्ता जस्ता सामन्ती मूल्य–मान्यता र संस्कृति बचाउन राजा–महाराजाले चलाएका पूजा–अर्चनालाई निरन्तरता दिने क्रममा राष्ट्रपतिबाट हुने धार्मिक भ्रमणले अध्यात्मवादीलाई समेत आक्रोशित तुल्याउने गरेका छन् । उनको सवारीको तामझाम हेर्दा लाग्छ, उनी कुनै बेला कम्युनिस्ट पार्टीको उपाध्यक्ष तथा महिला संघको अध्यक्षजस्तो सर्वाेच्च पदमा आसिन नेतृ होइनन्, बरु बडामहारानीकी नयाँ अवतार हुन् ।

वामपन्थी पृष्ठभूमिका राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि पूर्वराष्ट्रपति र सत्ताच्युत राजाकै शैलीमा धर्मनिरपेक्ष मूल्य–मान्यता विरुद्ध हुने पूजा–अर्चना–टीकाटालो गर्ने र बटुवालाई सकसमा पार्ने सवारी कसरी लोकतान्त्रिक आचरण हुनसक्छ ? आफूलाई राजतन्त्र र सामन्तवाद विरोधी ठान्ने दल, तिनका नेता र शासकहरूले राजा–महाराजाकै चालढालमा धार्मिक क्रियाकलाप गर्दै जाने र सकस फैलिनेगरी कसरी सवारी चलाउन सक्छन् ?

जननिर्वाचित हो भने राष्ट्रपति भण्डारीले जवाफ दिनुपर्छ– हामीले फालेको राजतन्त्र र थापना गरेको गणतन्त्रमा के कति राजनीतिक फरकपन आयो ? राजा र राष्ट्रपतिको आचरणमा के सांस्कृतिक भिन्नता भयो ? एउटा सेतो हात्तीलाई नागार्जुनतिर लखेटर पनि अनेक सेता हात्ती सहरमा पाल्नुपर्ने बाध्यताले गणतन्त्रलाई पनि राजतन्त्रसँग तुलना गर्ने काम हुँदैन ?

यस्ता प्रश्नले गणतन्त्रका सारभूत तत्त्वमाथि सवालिया निसान लगाएका छन् । यस्ता प्रश्नको भुंग्रोमाथि बसेको शीतल निवासका राष्ट्रपति जवाफ दिने मनस्थितिमा देखिँदैनन् । त्यहाँको कुर्सीमा आसिन भएका जुनसुकै शासकको मनमस्तिष्कमा शीतल निवासका निर्माता श्री ३ महाराज चन्द्रशमशेर सवार हुन थाल्छन् ।

विलासी गाडीको ताँती

आम जनताका लागि सकस हुने खालको राष्ट्रपतिको सवारी र सवारीले बोकेको शाही परम्परा वा राणा संस्कार विद्यादेवी भण्डारी र उनको वैधानिक सल्लाहकार मानिने खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारका लागि कुनै चासो, चिन्ता र चिन्तनका सवाल होइनन् ।

ती दुवै राजकीय संस्था र तिनका एकैवर्णका शासकहरू आज र अहिल्यै आफ्नो समृद्धि स्थापित र प्रदर्शित गर्न मरिहत्ते गर्दैछन्– सेनामार्फत महँगा विलासी गाडीको ताँती लगाएर, हेलिप्याड सहितको निवासको विलास फैलाएर, शासकहरूको विलासका लागि जनताको थाप्लोमा ऋणको भारी बोकाएर ।

राष्ट्रपतिको सम्मान र सुरक्षाका नाममा, औपचारिक कार्यक्रममा जाँदा चढ्ने र अनौपचारिक रूपमा उपयोग गर्ने निहुँमा १८ करोडमा किन्न लागिएका आठवटा गाडीको ताँतीले सडकमा बटुवाको यात्रा र सामाजिक जीवनलाई तन्नम र कष्टकर पार्ने एवं सामन्ती संस्कार प्रदर्शन गर्ने पक्ष शासकहरूका लागि वास्ता हुने विषय होइन ।

त्यसो त वर्तमान राष्ट्रपतिका श्रीमान मदन भण्डारीले कुनै जमानामा साइकल चढ्ने गरेको (कु) तर्कका आधारमा देशको सर्वाेच्च पदको गरिमा र राष्ट्रकै ‘पति’को सुरक्षाजस्ता विषयलाई सरकार हाँक्नेहरूले कम आँक्ने कुरा पनि भएन नि ।

राष्ट्रपतिको हुकुम शिरोपर गर्दै सरकारले शीतल निवास विस्तार गर्न प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनौती सार्ने र निवासभित्रै स्थायी हेलिप्याड बनाउने ऐतिहासिक निर्णय गरेकामा कुनै शंका छैन । अबदेखि राष्ट्रपति महोदयले हेलिकप्टरबाटै काठमाडौं खाल्डोभित्र र बाहिरको हवाई सवारी गर्ने भएपछि रैतीहरूले सडक यात्राको सकसबाट राहत पाउने र कुदेर समृद्धिको यात्रा तय गरिने ‘गम्भीर चिन्तन’ गरिएकामा पनि सन्देह छैन ।

विडम्बनाको कुरा, यस्तो समृद्धि चिन्तनलाई पनि सामन्ती परम्परा र संस्कृतिले टेको दिने खालका अश्लील दृश्य तब देखिनेछन्, जब १८ करोडको विलासी गाडीको ताँतीले काठमाडौं खाल्डोलाई अस्तव्यस्त पार्छ र यात्रु ‘कहाँबाट नयाँ महारानी जन्मिए’ भन्दै सडकमा सराप्न थाल्छन् ।

उभयचर प्रवृत्ति

सत्तासीन नेकपा डबलका ‘आइडियोलग’ र राष्ट्रपति भण्डारीका पति मदन भण्डारीको भनाइ छ– राजा नामको सेतो हात्ती पाल्न नेपाली जनता अभिशप्त छैनन् ।

जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तीकरणका साथ राजासहितको बहुदलीय प्रजातन्त्रलाई सकारेका भण्डारीलाई राम्ररी थाहा थियो– जनताबाट निर्वाचित नहुने राजा भनेको राजतन्त्रको सर्वाेच्च अंग मात्रै होइन, सामन्तवादी संस्कृतिको द्योतक पनि हो ।

त्यसैले जनताबाट निर्वाचित भएका उनकै पार्टीका प्रधानमन्त्री वा राष्ट्रपति वा अन्य पदाधिकारीमा पनि चिन्तन र संस्कृतिका माध्यमबाट राजाको छायाछवि देखिनु आश्चर्य होइन । त्यस्तै लोकतान्त्रिक गणतन्त्रका नयाँ शासकहरूका आचरणमा सामन्तवादी मूल्य–मान्यता अभिव्यक्त हुँदा ‘नयाँ महाराज वा नयाँ महारानी’को जन्म हुनु अनौठो होइन ।

नयाँ महाराज हुने नेताको नीति र नियत नहोला, तर महाराजहरूसँग द्वन्द्व र संसर्गमा रहँदा–रहँदै राजतन्त्रका मूल्य–मान्यता सल्किएको हुनसक्छ, सरुवा रोगजस्तै । जोसँग निरन्तर संघर्ष र संसर्ग गरिन्छ, उसका गुण–अवगुण दुवै पक्षमा सर्नसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

चिन्तक पाउलो फ्रेरेको विचारमा सत्तासीन वर्गको ‘हेजिमोनी’ (वर्चस्व) का कारण उत्पीडितको मनमस्तिष्कमा पनि उत्पीडकको बास बसेको हुन्छ । र उत्पीडितको मुक्तिको राजनीतिक ठेक्का लिने मध्यम वर्गका नेताहरूले जल र थलमा बाँच्न सक्ने ‘उभयचर प्रवृत्ति’ देखाउँछन् । फ्रेरेको चेतावनी हाम्रा नयाँ शासकहरूका पाखण्डपूर्ण विचार र दोधारे व्यवहार बुझ्न निकै उपयोगी देखिन्छ ।

इतिहासकार प्रत्यूष वन्त अचेल सोध्ने गर्छन्, के हामीले नयाँ महाराज–महारानी जन्माउन जनआन्दोलन गरेका हौँ र ? संसारमा दास–विद्रोह सफल भएपछि दासहरू मालिक भएको र पूर्व मालिकहरूलाई दास बनाइएको इतिहास छ, नेपाली इतिहास पनि अपवाद भएन । इतिहासले देखाउनेछ, सामाजिक न्याय र समता सहितको लोकतन्त्र खोज्दा–खोज्दै पनि नेताहरू शासक हुने क्रम बढे आमजनता पनि नयाँ महाराज–महारानीलाई पाल्दै–पोस्दै बस्न बाध्य छैनन् ।

कान्तिपुरदैनिकबाट साभार 

४ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको