बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा


मङ्सिर ४, हेटौँडा । गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङ्गको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र राक्सिराङ गाउपालिकाका अध्यक्ष मल्ल गंगामायाको उद्धार गरी उपचारका ल्याउन आफै लाग्नु भएको थियो ।

राक्सिराङ गाउँपालिकाको ३ स्थित माइतीघरमा बस्दै आउनुभएकी चेपाङलाई उपचारका लागि ल्याउन अन्यले गरेको प्रयास उनीहरुको डरका कारण असफल भएको थियो ।

गाउँपालिका उपाध्यक्ष हिम्डुङ्गले केही हुँदैन डर मान्नु पर्दैन भन्दै सम्झाइबुझाई गरेपछि उपाध्यक्षको साथ लागेर अस्पताल आमा राममायासँगै गङ्गामाया आउनुभएको हो ।

अस्पतालमा गङ्गामायाको प्रारम्भिक जाँच गरिएको छ । उपचारमा संलग्म हेटौँडा अस्पतालका डाक्टर निशा राईले बाल अवस्थामा गर्भवती भएकोले जोखिम रहेको भन्दै अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताउनुभयो ।

प्रारम्भिक जाँचबाट पेटमा रहेको बच्चा ३४ हप्ता पुगेको जस्तो देखिन्छ, डाक्टर राईले भन्नुभयो, थप जाँच गरेर आमा र शिशुलाई सुरक्षित गर्ने उपाय अपनाउनु पर्छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी र राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लमार्फत् प्रजाको उपचार र उद्धारका लागि सरकारले पहल थालेको हो ।
गङ्गामाया कलिलो उमेरमै आमा बन्दै गरेको समाचार गोरखापत्र दैनिकले गत कात्तिक २६ गते प्रकाशित गरेको थियो । सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको निर्देशन लगत्तै गंगामायाको उद्धारको पहल सुरु भएको हो ।

उपचार र उद्धारका लागि पहल गर्न आफूलाई प्रधानमन्त्री कार्यालयबाट पटक पटक टेलिफोन सम्पर्क गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्लले गङ्गामायाको उपचार र जीवन रक्षाका लागि सबै सहयोग गर्न तयार छौँ भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङले गङ्गामायाको उपचारको जिम्मा अब राज्यले लिएको बताउँदै मङ्गलबार थप परीक्षण गरी कहाँ उपचार गरिने तय गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ’यहाँ उपचार नहुने अवस्था आए तुरुन्त काठमाडौँ पठाउँछौँ ।’

गङ्गामायालाई गाउँपालिकाको पहलमा हेटौँडा अस्पतालमा भर्ना गरिएको छ । उपचारमा संलग्न डाक्टर राईले भन्नुभयो, चेपाङको उमेर कम भएको र शारीरिक बनावट परिपक्क नभएकोले जोखिम बढी छ, शल्यक्रिया गरेर शिशुलाई जन्मदिनुको विकल्प छैन ।

अस्पतालमा गंगामायालाई गाउँपालिकाको समन्वयमा ल्याइएपछि अवस्था बुझ्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङ र मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ पुग्नु भएको थियो ।

गङ्गामायाका पति रञ्जित चेपाङ पछिल्लो समय सम्पर्कमा रहेको आमा राममायाले जानकारी दिनुभयो ।
कैलाश गाउँपालिका ७ घर भएका पति रञ्जित घरको आर्थिक अवस्था कमजोर भएकाले अधिकांश समय दैनिक ज्यालादारीका लागि गाउँभन्दा बाहिर जाने गर्नु भएको छ ।

४ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको