एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेभान्तेसँग २-१ ले पराजित भएको छ ।
पहिलो हाफको सुरुवाती समयमा नै रियल पछाडि परेको थियो । लेभान्तेका लुइस मोरालेसले सातौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो पोस्टिगोको पासमा गोल गरेका थिए । त्यसको ६ मिनेटमा लेभान्तेले अग्रता दोब्बर पार्यो । रोजर मार्टिेले पेनाल्टीमा गोल गर्दै २-० ले अग्रता दिलाए ।
दोस्रो हाफमा रियलले खेलमा पुनरागमन गर्ने प्रयास गर्यो । दोस्रो हाफको सुरुवातमा ग्यारेथ बेल मैदान प्रवेश गरेका थिए । ६० हौं मिनेटमा करिम बेन्जेमा र डानी सेबालोस पनि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरे । बेन्जेमाले ७२ अौं मिनेटमा मार्सेलोलाई दिएको पासमा ब्राजिलियन डिफेन्डरले गोल गरेर रियललाई खेलमा फर्काउने प्रयास गरे ।
अंक तालिकाको तल्लो हाफमा रहेको लेभान्ते जितपछि सातौं स्थानमा उक्लिएको छ । रियलले घरेलु मैदानमा पराजय भोगेसँगै लिगको शीर्षस्थानमा उक्लने मौका गुमायो ।
प्रतिक्रिया दिनुहोस