असोज ३, महोत्तरी । महोत्तरीको औराही–१ का सन्तोषकुमार चौधरीकी ८ महिने छोरीको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतकुमार शाह छन् । उनलाई सुनसरीको भन्टाबारी क्षेत्रबाट पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । यसअघि उनी भागेर भारत छिरेको आशंका गरिँदै आएको थियो । र, भारतीय प्रहरीको समेत समन्वयमा शाहको खोजी बढाइएको थियो ।
महोत्तरीका प्रहरी प्रमुख एसपी र्इश्वर कार्कीले सुनसरी प्रहरीसँगको समन्वयमा शाहलार्इ महोत्तरी ल्याउने प्रयास भइरहेको बताएका छन् ।
उनले भने, ‘भन्टाबारीमा पक्राउ गरेको खबर अाएपछि हामीले भेरिफिकेशनका लागि फोटो पठाएका थियौं । शाहलार्इ यहाँ ल्याउन समन्वय भइरहेको छ ।’
भदौ १० गते महोत्तरीको औरही बजारका फेन्सी तथा कस्मेटिक पसल सञ्चालक सन्तोष चौधरीकी आठ महिने छोरी सोनालीको अपहरणपछि हत्या भएको थियो ।
अपहरणमा भंगाहा सीतापुर-६ जमुनियाका २५ वर्षीय साहले गरेको प्रमाण उनकै पसलमा रहेको सीसीटीभी फुटेजबाट खुलेको थियो । बालिकाको शव भोलिपल्ट अपरान्ह भंगाहा नगारपालिका-७ स्थित फेकु चौधरीको आपको बगैंचामा हत्या गरी फालेको अवस्थामा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस