भुकम्प पिडितको आँशुमा कम्युनिष्ट सरकारले मनाएको दशैँ !


कम्युनिष्ट सरकारले दशैँ रमझम बडाहरुबीच एक आपसमा मनायो । राष्ट्रपति भवन शीतलनिवासमा अघिल्लो बर्षभन्दा ठुलो भीड लाग्यो । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट टीका तथा आशिर्वाद लिन उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सत्तारुढ दलका नेतादेखि सुरक्षा निकायका प्रमुखहरुसम्म शीतलनिवास पुगे ।

उच्च कोटीका बडाहरुको दशैँ रौनकको कुरा गर्यो कुरैको दुख हो । जनताबीच खुसि बाँड्ने उनको रहर भित्र पर्दैन । रहर भए पो कर हुन्छ । दशैँ कसरि मनाए भन्दा पनि मुख्य कुरा दुई तिहाई भोट पाएर निर्माण भएको कम्युनिष्ट सरकारको दशैँ ब्यबहार आचरण र शैली कस्तो हुनु पर्थ्यो भन्ने हो ।

सायद आचरण र ब्यबहारमा परिवर्तन ल्याउने बिषय महाभारत नै होला तर परिवर्तनका लागि थोरै पनि चेष्टा नगर्नु अनैतिक जिम्मेवारी हो ।

भन्नुको मतलव हिजोको राज्य ब्यबस्थाको मुख्य अन्तरबिरोध जनता र सासकहरु बिचको ठुलो विभेद हो । भावानात्मक सम्बन्धमा टाढा हुनु हो । ब्यबहार र आचरण बिचको ठुलो खाडल बन्नु हो ।

जनताको करलाई दोहन गरेर दशैको नाममा गरिने कथित रामलिला आर्को ठुलो अन्तरविरोध हो । भुकम्प पिडितको आँशु पिएर कम्युनिष्टधारी बडाहरुले मनाएको दशैँ हो ।

यस्तै हिजोका जटिल अन्तरविरोधमा टेकेर आजका नव शासकहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल ल्याएका हुन् ।

त्यसैले हिजोको परम्पराबादी चिन्तन, ब्यबहार र शैली भन्दा माथि उठ्न अनिवार्य आबस्यक छ, नत्र जन चाहाना अनुरुपको परिवर्तन यस्तो हुन सक्दैन, बरु अर्को बिकराल अराजक जन्मिन सक्छ ।

प्रसंग यहाँ दशैँको छ । दशैँको माहोल हुँदै गर्दा जनप्रतिनिधिहरुको दशैँ रमझमलाई हेर्दा उस्तै पुराना शासकहरुको मनाउने पुरातनवादी पश्चगामी शैली दोहोरियो ।

परम्परागत रुपले मनाउने दशैँलाई धेरैले मानेपनि दशैँ दशाको रुपमा बुझ्ने यथार्थ हबिगत हो ।

बिडम्बना के छ भने ३ बर्ष पहिले भुकम्पले भताभुङ्ग पारिएका गरीबहरु अझै घरबार बिहिन छन । उनीहरुले दशैँ टहरामा मनाउनु पर्यो । भुकुम्प पिडितहरुका ३ बर्ष टहरामै बिते ।  अझै कति बित्ने हुन्, उक्त बिषयमा राज्यको बागडोर समाएकाहरु भने अझै गम्भीर देखिदैनन ।

भूकम्प पिडितहरुलाई आँशुसहित झुपडीको बास बनाएर राजधानीमा बडा दशैँको मेला लगाउने नेताहरुको कुकर्म शीतलनिवासमा गज्जबको देखियो । बडा दशैँको अबसरमा राज्यको करलाई दोहन गरेर दशैँ मनाउनु भन्दा उक्त फजुल खर्च बोकेर तिनै टहराहरुमा हाम्रा राष्ट्रपति पुगेको भए कति खुसि हुन्थे होला गरिवहरु, कति उमंग पलाउथ्यो होला भूकम्प पिडितहरुमा ।

उपरास्ट्रपती नन्दकिशोर पुन ‘पासाङ’ले माननीय राष्ट्रपति ज्युको हातबाट टिका थाप्नु भन्दा टहरामा जीवन बिताई रहेका वृद्ध बाबा-आमाबाट टिका थापेको भए अझै धेरै आशिर्वाद लाग्थ्यो।

प्रधानमन्त्री ओलीले सुकुम्बासीहरुको घरमा गएर दशैँ मनाएको भए, जनताको प्यारो प्रधानमन्त्री बन्ने थिए । जनताले आफ्नो प्रधानमन्त्री भन्ने थिए ।

तर दशैँको टिकाको दिन शीतलनिवासमा कम्युनिष्ट धारी बडाहरुको दशैँको रौनकता हेर्दा कलियुगका नव दैत्यहरुको मेला जस्तो लाग्ने पर्व नागरिकहरुका लागि सुखद थिएन ।

दशैँ गरिबको दशा हो । यसो भन्दा धार्मिक आस्थामाथि धावा बोलेको हुन सक्छ र धेरैको चित्त दुख्न सक्छ । हिन्दुहरुले परापूर्वकालदेखि मान्दै आएको धार्मिक आस्थामाथि प्रहार भएको हुन सक्छ । अर्थात सिधा भाषामा हिन्दुमाथिको प्रहार भन्ने बुझाई रहन सक्छ ।

तर धार्मिक आस्थालाई स्वयं ग्रहण गर्दा कसैले दशा लागेको अनुभूति गर्छ भने त्यसमाथि प्रश्न उठ्नु स्वाभाविक हुन्छ । यो पंतिकार हिन्दु धर्मको आस्थिक हो तर दशैँ आयो भने आफैलाई नै दशा लागेको अनुभूति गर्छ ।

कारण दशैँ बेला बस्तुभाउ माथी हुने महँगी, यातायात माथिको सिण्डिकेट अर्थात असहज यात्रा, बेफजुल बढ्ने खर्चले आर्थिक आधार न्यून भएकाहरुलाई दशा लागे सर नै हुन्छ ।

दशैँको फजुल खर्चले बर्ष दिन सम्मको आएआर्जनमा असर पार्दछ । बेरोजगार नागरिकहरुलाई दशैँ नै दशा बनेर घाँटीको गल्फन्दी बनिदिन्छ ।

अनि महिना दिनको फजुल खर्चले जिन्दगि भरि घरदेश छोडेर परदेश बनाइ दिन्छ ।

त्यसकारण दशैँ तिहार जस्ता पर्वहरु न्यून आयस्रोत भएका नेपाली जनताका लागि घातक छ । बर्ष दिनको पर्वको नाममा आर्थिक भार बेहोर्नु पर्दा गरिवहरुलाई यसले असर पारेकै छ ।

भन्नुको मतलब ‘दशैँ’लाई गरिव जनताले अपन्नत्व गर्न देशको नेतृत्वले ध्यान दिन जरुरि छ । दशैँलाई तामझाम सहितको खर्चालु बनाउने तिर उन्मुख गराउने वा खर्चबाट बिमुख बनाउने तिर प्रेरित गर्ने ? यो बिषयलाई आजका शासकहरुले बुझ्नै पर्छ ।

हरेक धर्मावलम्बीहरुको आफ्नो धर्म अनुसारको पर्व हुन्छ । मुस्लिम समुदायहरुको ठुलो पर्व इद हो । उनीहरु आफ्नो गच्छे अनुसार खर्च गर्छन तर उनीहरुको पर्वको धार्मिक मान्यता भनेको गरिबहरुका लागि समर्पित हुन्छ र धन हुनेले गरिवलाई एक छाक खाना खुवाए पर्व मनाउने चलन हुन्छ ।

मुस्लिमहरुको इदमा मस्जिदमा महिना दिन फ्री भोजन हुन्छ । जुन भोजन पैसावालहरुले दान स्वरूप दिने गर्छन । इद पर्वको बेला धनिहरु सित्तैमा खाना बाँडन गरिबको घरमा पुग्छन ।

त्यसकारण जव इद आउछ, गरिबहरुमा आशा र भरोसा अनि केहि पाउने आशामा पर्व भित्रने गर्छ ।

तर हाम्रो देशमा कम्युनिष्ट ब्यबस्था आउदा पनि देश समृद्दीका लागि पुरातन रितलाई बदल्न हिम्मत गर्दैनन् । बरु परम्पराका कुरीतिहरु भित्र अल्झिएर नैतिकता नै स्वाहा पार्न हिम्मत गर्छन ।

दशैँलाई पदीय मानमर्दनमा सिमित गर्नु उस्तै पुरानो सामन्ती चलन हो । उप-राष्ट्रपतिले राष्ट्रपतिबाट टिका थापेर दशैँ मान्नु पर्ने । मन्त्रीहरुले प्रधानमन्त्रीलाई बिन्ति चढाएर दशैँको टिका थाप्नु पर्ने । अर्थात कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई केवल भक्तिभाव र आदर सत्कारका लागि टिका थाप्नु पर्ने प्रथा सामान्ती चलन हो ।

अझै विडम्बना भनौ, धर्मकर्ममा भन्दा नास्तिकतामा बिश्वास राख्ने कम्युनिष्ट सरकारको पालामा बडा दशैँले बेस्सरी छोयो । सायद कांग्रेसी सरकारको पालामा पनि नेताको कार्यलयमा यस्तो पुरातन शैलीको तामझाम भएको थिएन होला ।

दशैँ र तिहार जस्ता धर्म कर्मलाई महत्व नदिने कम्युनिष्ट सरकारको दशैँ तामझामलाई हेर्दा भ्रमको राजनीतिको पर्दाफास हुने गर्छ । यस्ता अन्धविश्वास कर्महरुबाट अलि टाढा रहन चाहाने माओवादी वृतका नेताहरु हरेक धार्मिक पर्वहरुमा चुर्लुम डुबेर नाङ्गो हुनुले लज्जा बोध गराउछ ।

राजनीतिक स्कुलिङबाट ग्रहण गरेको सैद्दान्तिक बिचार र ब्यबहार बीच देखिएको ठुलो भिन्नता नै असफलताको कारकतत्व हो । परिवर्तनका वहाक ठान्ने हरेक नेताहरुले परम्परावादी शैली आचरण र ब्यबहार भित्र अल्झिनु देशका लागि दुखद हो ।

तस्विर शौजन्य: राष्ट्रपति कार्यालय सुनिल बज्राचार्य

३ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको