अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत अनुमोदन


असोज ४, काठमाडौं । संसदीय विषेश सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

प्रमुख आयुक्त सिफारिस घिमिरेविरुद्ध सुनुवाइ समितिमा कुनै उजुरी परेको थिएन । सुनुवाइ समितिका सांसदले सुनुवाइका क्रममा घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । उनले जवाफ दिने क्रममा अख्तियारलाई विवादमुक्त र जनताले सम्झिने बनाउने प्रतिबद्धता जनाए ।

‘अख्तियारलाई विवादमुक्त र जनताले सम्झिने बनाउँछु’, सुनुवाइका क्रममा घिमिरेले भने, ‘दुई वर्षको अवधिमा कोठाभित्र अनुहार देखाउन नमिल्ने गरी बस्दिन, मेरा हरेक कामको अनुभूति जनताले गर्न पाउनेछन् ।’

घिमिरेविरुद्ध समितिमा कुनै पनि उजुरी नपरेपछि समितिले उनलाई सिधै सुनुवाइका लागि बोलाएको थियो । संसदीय समितिबाट अनुमोदन भएपछि समितिले संवैधानिक परिषद्लाई जानकारी गराउने तयारी गरेको छ। बिहीबार नै संवैधानिक परिषद्ले राष्ट्रपतिसमक्ष त्यसको जानकारी गराएपछि राष्ट्रपतिबाट प्रमुख आयुक्त नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

गत भदौ २० गते संवैधानिक परिषद् बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरेको थियो।

४ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको