सिंह आएको तर दरबार नआएको गाउँ थवाङ


भदौ ५, रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विकले आफ्नो एक बर्षे कार्यकाल कार्यालयमा एक्लै बिताए ।

थवाङ गाउँपालिका भवन ।

सिंगो पालिकाभित्र दुई जना वडा सचिव बाहेक अरु कोही थिएनन्। पाँच वडा रहेको यहाँ उनले एउटा वडा सचिवलाई कामकाज गर्न गाउँपालिकामा ल्याएपछि चार वडा सचिव विहिन भए। ‘गाउँपालिकामा म एक्लो कर्मचारी हो।

गएको असारमा एक जना सहायक लेखापाल पठाएको छ। अरु कोही छैनन्’, थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकले गुनासो सुनाए। ‘एक बर्षसम्म लेखाको काम जिल्ला वन कार्यालयका लेखापालले धानिदिए।’

दुर्गम पहाडी भुभाग, घण्टौ हिडेर सेवा लिन आउने सेवाग्राहीलाई यहाँ जति छिटो सेवा दिउ भने पनि नसकिने अवस्था छ। उता वडाको काममा पनि त्यस्तै सकसमा पर्छन।

एउटाले कति वडाको काम कसरी टुङ्ग्याउने अलमल छ। ‘थवाङ असहज छ भन्ने -युमर फैलिएका कारण पनि कर्मचारी आउन नचाहेको हो। मिडियाले पनि अब थवाङ सहज छ भनेर सच्याउनु पर्छ।

म सुरुबाटै यही छु। काम गर्न कुनै असहता छैन्’, अधिकृत विकले भने, ‘कर्मचारी पनि त्यस्तै छन्। सुगम मात्र खोज्ने। सरकारले कर्मचारी नपठाउँदा काम गर्न असहज भइरहेको छ।’

विगत सशस्त्र द्वन्द्वका समयमा चर्चामा आएको थवाङमा अहिले सकारले नारामा भने जस्तो सिंहदरबारको अधिकार गाउँमा आएजस्तो भएको छैन्। ‘थवाङमा सिंहदरबारको अधिकार आएन भन्दा पनि हुन्छ।

सरकारले प्राविधिक बाहेकका अरु कर्मचारी करारमा राख्न दिँदैन र आफूले पनि पठाउँदैन्। मन्त्रालय र जिल्लामा पटक पटक कुरा उठाइयो तर सुनुवाई हुँदैन्।

गाउँपालिकामा, वडामा कतै कर्मचारी छैनन्। सिफारिस लेख्ने समेत कोही छैन्। अहेब र अरु प्राविधिकले लेख्छन्। पञ्जीकरणको काम आउँछ तर गर्ने मान्छे छैन्’, थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले भने, ‘असाध्यै गाह्रो छ। अर्को बर्ष पनि यस्तै भयो भने एउटा ईन्जिनियरसम्म राख्नुपर्ला तर प्रशासनिक कर्मचारी नहुँदा समस्या परिरहने भयो।’

करिब १६ करोड २० लाख बढी बजेट पुगेको थवाङमा एक जना ओभरसियर भने गाउँपालिकाले करारमा राखेको छ। गाउँपालिकाको १ र २ नम्बर वडासचिवको जिम्मेवारी पाएका खरिदार अधिकार बुढामगर गाउँपालिकामा तानिएका हुन्।

गाउँपालिकाको प्रशासन शाखा, सूचना अधिकारी र सरसफाई सम्पर्क व्यक्ति, योजना, स्टोर, पञ्जीकरणदेखि दर्ता चलानी सम्मका उनैले हेर्छन। ‘कहिले त बिहान ६ देखि बेलुका नौ दश बजेसम्म काम गर्नुपर्छ। के गर्नु अरु कोही छैन्। कर्मचारी नहुँदा समस्या छ’, बुढाले भने, ‘सामान्य मानिसले अनुमान नै गर्न नसक्ने कठिन तरिकाले काम गरिरहेका छौं।’

गाउँपालिकाका अनुसार यहाँ १८ जनाको दरबन्दी छ। २५ हजारभन्दा कम जनसंख्या रहेको गाउँपालिकामा ४ प्राविधिक र १३ अप्राविधिक कर्मचारी हुने व्यवस्था छ।

तर, गाउँपालिका कर्मचारीविहीन जस्तै छ। इन्जिनियर, नासु, आन्तरिक लेखापरीक्षक, लेखापाल, आन्तरिक लेखापरीक्षक लगायत कर्मचारी छैनन्। प्राविधिक जनशक्तिको कमीले सभाले पारित गरेका सयौं योजनाको डिजाइन इस्टिमेट गर्न निकै समस्या भएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती बताउँछन्।

सिंहदरबारको अधिकार गाउँमा भन्ने नारा थवाङमा साच्चिकै अनुभुति छैन्। स्थानीय तहका एक जना वडा सचिवले कुनै हालतमा सेवा प्रवाह गर्न नसक्ने भएपछि गाउँपालिकाले जुक्ति निकालेको छ। ‘१ र २ न. वडामा करारको पशु प्राविधिकलाई कामको जिम्मा दिएका छौं।

३ मा स्थानीय तहका एकजना सचिब हुनुहुन्छ। ४ र ५ न. वडामा कृषि प्राविधिकलाई जिम्मा दिएका छौ’, प्रमुख प्रशासकीय अधिकृत विक भन्छन्, ‘भर्खरका प्राविधिकले प्रशासनिक काम जान्दैनन्। पुरै सिकाइ रहनु पर्छ। उनीहरुले गरेका गल्ती सच्याउँदै काम गर्नुको विकल्प छैन्। सबै भन्दा बढी प्रशासनमा गाह्रो छ।’

त्यसो त रोल्पाका सबै स्थानीय तहमा कर्मचारी अभाव छ। तर थवाङमा असाध्यै सकस छ। जिल्लाले पनि कर्मचारी खटाउन नसक्नु र केन्द्र सरकारले पनि पठाउन नसक्नु एक प्रकारको संयोग जस्तै देखिन्छ। सहरतिर फाट नपाएर बरन्डामै कुर्सी तानेर दिन कटाउने कर्मचारीहरुलाई थवाङले पर्खेर बसिरहेको छ।

४ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको