भदौ ४, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्त हत्याको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गर्दै भीमदत्त नगरपालिका –१९ बागफाँटाका ४१ बर्षिया दिलिप सिह विष्टलाई सार्वजनिक गरेको हो ।
आइतबार राती ८ बजेतिर घटना स्थल भन्दा ५० मिटर पश्चिम सडक किनारमा हातमा लठ्ठी लिएर अभिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएका सादा पोशाकका प्रहरीले विष्टलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टले घटनाको चौतर्फिकोणबाट अनुसन्धान गर्दै जाँदा दिलिप पक्राउ परेको बताए । प्रहरी प्रमुख विष्टले अनुसार घटना भएदेखि स्थानीयले दिएको हुलियाका आधारमा समेत उनलाई पक्राउ गरिएको बताए ।
कञ्चनपुर प्रहरी प्रमुख विष्टका अनुसार बलात्कार र कर्तव्य ज्यान मुद्दामा जेलबाट छुटेका अपराधि समुहको सुचि तयार गर्दा दिलिपले निर्मलाको समेत हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
कञ्चनपुर प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दिलिपले निर्मलाको हत्या गरेको स्र्वीकार गरेका छन् । ‘१० साउन दिउँसै साढे २ बजेदेखि ३ बजे दिउँसैको समयमा निर्मलाको हत्या भएको खुल्न आएको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख विष्टले भने, ‘पोष्टमार्टम रिर्पोट अनुसार निर्मलाको बलात्कार पछि घाँटी थिची हत्या भएको छ ।’
प्रहरीले पक्राउ परेका अभियुक्त विष्टलाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जिल्ला आदालत कञ्चनपुरबाट थप १० दिनको म्याद समेत थप गरेको छ ।
कञ्चनपुर प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको समन्वयमा थप अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुर प्रहरी प्रमुख विष्टले घटनाको सुक्ष्म अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरो, प्रादेशिक ब्यूरो, जिल्ला र स्थानीय प्रहरीको मानविय स्रोत साधन प्रयोग गरिएको बताए ।
कञ्चनपुर प्रहरीका अनुसार मृतक निर्मला १० साउन ११ बजेर १५ मिनेटमा साथी रोशन बमको घर पुग्दा उनको साईकलको चेन बिग्रकाले बनाउन हातमा कालो लागेको अवस्थामा पुगी हात धोएको थियो ।
यस्तै रोशनी बमको घरबाट दिउँसो २ बजेर १५ मिनेटमा घर जान्छु भन्दै ३ नोटकपी, कालो पोलिथिनको झोला, अम्बा र रोशनीले दिएको २० रुपैया लिएर निस्केकी थिईन् ।
‘१० साउन दिउँसो ४ बजेको समयमा घाँस काट्न हिडेका स्थानीय महिलाले साईकल देखेको तर वास्ता नगरेको हामीले भेटाएका छौँ, ‘प्रहरी प्रमुख विष्टले भने, ‘११ साउन बिहान ८बजेको समयमा कृष्णा केसीले साईकल खोलामा भेटाएर आफन्तलाई खबर गरेका थिए ।’
कान नसुन्ने गोपाल चौधरीले खोलामा भेटिएको साईकल निकालेको अवस्थामा आफन्त र स्थानीयले देखेका थिए । कञ्चनपुर प्रहरीले फेरी पनि अनुसन्धान जारी रहेको जनाएको छ ।
बालिका निर्मला पन्तको हत्याको आरोपमा पक्राउ परेका दिलिप सिह विष्टले आफ्नै भिनाजुको हत्या गरेका थिए । कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विष्टले १० बर्ष अघि विस २०६५ सालमा आफ्नै कान्छा भीनाजु नारायण सिह थापाको हत्या गरेका थिए । हत्याको अभियोगमा उनले ९ बर्ष कैद भुक्तान गरेर गत २०७४ जेठमा जेलबाट छुटेका थिए ।
जेलबाट छुटेको एक बर्षमै उनले पुनः अर्को अपराध गरेको कञ्चनपुर प्रहरीले पुष्टी गरेको छ । कञ्चनपुर प्रहरीका अनुसार उनी गाँजा, मादप पदार्थ सेवन गर्ने, घर परिवारकै महिला एव अन्य महिलालाई यौन दुराचार गर्ने, सडकमा एक्लै हिडेका महिलालाई गोप्य अंग देखाएर जिस्क्याउने, घरबाट निस्किदा बिहानै निस्किने राती मात्रै घर जाने, घर परिवारले उनलाई भित्र नसुताई बाहिरै सुताउने, नयाँ लुगा भएपनि पुरानै लुगा लगाउने, परिवारमा समेत घटना घटाउने सक्ने कृयाकलाप गर्ने र आफु एक पटक जेल परिसकेकाले फेरी सबैलाई मारेर जेल पर्ने जस्ता बेला बेलामा अभिव्यक्ति दिने गरेका थिए ।
१० साउन साथी रोशनीको घरमा होमवर्क गर्छु भन्दै हिडेकी निर्मलाको बलात्कार पछि हत्या गरिएको अवस्थामा ११ साउन शुक्रबार बिहान उखुबारीमा शव भेटिएको थियो । निर्मलाको हत्यारालाई सार्वजनिकको माग राख्दै स्थानीय, महिला आमा समुहले आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस