भदौ ४, काठमाडौं । आइतबार बेलुका खाना खाएर आफ्नै निवासको कोठामा सुतेका फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ ।
काठमाडौंको बबरमहलस्थित ओलम्पिया कलेजसँगै जोडिएको झाको निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको प्रहरीले जनाएको छ । झाको हत्या शंकास्पद रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।
आइतबार साँझ खाना खाएर आफ्नो कोठामा सुतेका झा सोमबार बिहान अवेरसम्म नउठेपछि उनको श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।
एसएसपी सिंहका अनुसार झा सुतेको कोठा बाहिरबाट बन्द गरिएको थियो । दोस्रो तलामा बस्दै आएका झा सुतेको कोठाको झ्यालका जाली काटिएको छ ।
प्रहरीले घटनास्थलबाट एक चक्कु समेत फेला पारेको छ । झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए । झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवा गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार झा नेपालको तर्फबाट फ्रान्समा ‘चिफ अफ प्रोटोकल’ अर्थात् राजदूत हुने पहिलो अधिकारी थिए । झाका एक छोरा र एक छोरी छन् । उनीहरू दुबैजना डाक्टर हुन् ।
प्रतिक्रिया दिनुहोस