निमा पोङ्स्युवा/पौष ०४, धरान । गोरु काटेको अभियोगमा धरान–१७ बाट पक्राउ परेका दश जना पाँच दिनपछि मंगलबार रिहा भएपछि बुधबार धरानमा विजय उत्सव मनाइएको छ ।
गत मंसिर २८ गते गोरु काटेको अभियोगमा राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, अनिल शाही, अनिष शाही, बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो ।
धर्मनिरपेक्ष राज्यमा पनि गोरु काटेको अभियोगमा नागरिक पक्राउ गरिएको भन्दै चौतर्फी विरोध, आलोचना र आन्दोलनसमेत भएपछि पक्राउ गरिएकाहरुलाई मंगलबार रिहा गरिएको थियो ।
बुधबार धरानमा विजय जुलुससहित रिहा भएकाहरुलाई सम्मानसमेत गरिएको छ । उनीहरु मासु व्यवसायी नै हुन् ।

फेरि गोरु काटेर भोज
चौतर्फी आलोचना, दबाब र आन्दोलनका कारण पाँच दिनपछि पक्राउ गरिएकाहरु हिरासतमुक्त भएपछि धरानको मंगलबारेमा सामूहिक भोजको आयोजना गरियो । तर उक्त भोजमा फेरि पनि गोरुकै मासु प्रयोग गरियो ।
एकल धार्मिक चरित्र बोकेको राज्यलाई धरानका जनताले कडा चेतावनी दिएका छन् ।
आदिवासी जनजातिहरुले परम्परादेखि खानाको रुपमा र सांस्कृतिक पूजाआजा गर्दा पनि गाई गोरुको मासु प्रयोग गर्ने गरेका छन् । राज्यले गोरु मारेको सूचना पाउनासाथ पक्राउ गरी कारबाही गर्ने गरेको छ ।

तर धरानबासीले भने अहिले पनि एकात्मक राज्यलाई ठाडो चुनौती दिइरहेको छ । बुधबारको विजय उत्सवमा गोरुको मासु खाँदै फेरि चुनौती दिइयो । र उक्त सामूहिक भोजमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेश नं १ का सांसद विष्णु तुम्बाहाङ्फेसमेत सहभागी भइन् ।
जसमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।
अब पनि गोरु काटिरहने
विजय उत्सवको अवसरमा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजक सुवास हुक्पा चोङबाङले धरानमा गोरु काट्ने क्रम नरोकिने प्रष्ट पारे ।
गोरु काटेर खानु आफूहरुको सांस्कृतिक अधिकार नै भएकोले गोरु काट्ने काम नछोड्न उनले आग्रह समेत गरे । मुलुकी अपराध संहिता ऐन २०७४ संविधानविपरीत बनेको उनको जिकिर छ ।
उनले देशभरिका फाइभस्टार होटलहरुमा गाई गोरुको मासु विक्री गर्न दिएर राज्यले कर असुलिरहेको तर आदिवासी जनजातिको परम्परादेखि गोरु गाई खाने संस्कृतिमाथि भने बन्देज लगाएको बताए ।

स्मरण रहोस् अहिले पनि नेपालबाट बुढो भएको गाई गोरु खानाको रुपमा प्रयोग गर्न भारत निकासी गरिन्छ ।
बुढो गाई गोरु जम्मा गरेर भारत लाने मान्छेलाई गाउँघरमा ‘लेवाली’ (ठेकेदार) भन्ने चलन छ । तर राज्यले त्यसमा कुनै रोकतोक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस