स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा


पुस ४, काठमाडौँ । संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् ।

संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको छ । सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ । यो रकम संघीय संसद्मा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजार बढी हो । सचिवालयका अनुसार पदाधिकारी र सांसदको पारिश्रमिकमा मासिक १ करोड ७१ लाख ७१ हजार २ सय ९५ रुपैयाँ खर्च हुन्छ ।

‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ अनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनुपर्नेमा संसद् सचिवालयले सभामुख र अध्यक्षको खातामा मासिक जम्मा गरिदिने गरेको छ । सचिवालयले यो रकम महराको एभरेस्ट बैंकको खाता नम्बर ००१००५०१२०१९१७ र तिमिल्सिनाको यही बैंकको खाता नम्बर ००१२०५१६२००७४२ मा मासिक जम्मा गरिदिने गरेको छ ।

ऐनको अनुसूची २ अनुसार सभामुख र अध्यक्षले स्वकीय सचिव/सहसचिव तहको स्वकीय सचिव १ जना, उपसचिव १ जना, शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक २ जना र कार्यालय सहयोगी २ जना राख्न पाउँछन् । उक्त ऐनमा पदाधिकारीको निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ता सम्बन्धित व्यक्तिकै बैंक खातामा पठाउनुपर्ने व्यवस्था छ ।

ऐनको अनुसूची २ मा पदाधिकारी तथा सदस्यलाई दिइने अन्य सुविधाको व्यवस्थामा स्वकीय सचिवालयमा कसले कुन पदका कर्मचारीको तलबभत्ता पाउने भन्ने उल्लेख छ । ऐनमा भनिएको छ, ‘स्वकीय सचिवालयका कर्मचारीले सुरु स्केलअनुसारको तलब मात्र पाउनेछन् । कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ ।’ त्यस्तै गत असार ३२ मा प्रकाशित राजपत्रअनुसार कामदार तथा कर्मचारीले पाउने पारिश्रमिक बैंक खातामार्फत अनिवार्य भुक्तानी गर्नुपर्ने सरकारले व्यवस्था गरेको छ ।

४ पुष २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको