घामताराबाट हेर्दा घमाइलो देखिने ‘जिनाबाङ’ [फोटो कथा]


केबी गुरुङ । कोइलावास हाट बजार नुन बोक्न जाँदा होस् वा मेलापात जाँदा होस, आफ्नो यात्रालाई सुभ साइत जुराउन डाँडैमा रहेको फाट्ने बाटोको देउरालीलाई फुलपाती चढाउदै पुर्खाहरुले आत्मालाई स्थिर राख्थे,अनि सन्तोषको स्वास फेर्थे । डाँडैको दोबाटोमा पाती चढाउने भएकोले त्यो ठाउको नाम नै ‘पातीहाल्ना’ रह्यो ।

अहिले नाम मात्रै ‘पातीहाल्ना’ रहेको छ तर पातीहाल्ने चलन भने हराई सकेको छ ।

तस्बिर: घामताराबाट देखिने सिद्दार्थ माबी घोप्टेओढार पातीहालना/पारीपट्टी नाउला, हिले, मंग्रा

२०४५ सालमा त्यहीँ पातीहाल्ने नजिकै चौरमा सानो छाप्राको स्कुल थियो । देउरालीलाई पाती नचढाए असुभ हुन्छ भन्ने सुनेको थिए । पहिलो पटक त्यहिं स्कुलमा जाँदा पाती बोकेर देउरालीलाई चढाउदै दुई हात जोडेर एक फन्को मारेको थिए । मलाई स्कुल लिएर गएका मेरा बाबाले सिकाएका थिए ।

फेरिदो समाजको गतिशीलता संगै प्राथमिकता बिद्यालय बन्यो । छाप्राको स्कुल फेरिएर ढुङ्गा माटो र जस्तापाता द्वारा निर्मित कक्षा ५ सम्मको स्कुल बन्यो । त्यसपछि स्कुलमा एउटा गित निकै प्रचलित भयो ।

घामतारामा घाम लाग्यो घमाइलो
पातीहाल्न गरौ त रमाइलो !!

तस्बिर: सिद्दार्थ माबीबाट देखिने घामतारा लेख

पुस, माघ लागेपछी सबैलाई न्यानोघाम प्यारो लाग्छ । सायद, पातीहाल्नाको माथि लेखको टुप्पोमा विहान सवेरै झुल्किने घाम साँझ अबेला सम्म रहने भएर होला, बुढापाकाहरुले त्यो लेखको नाम नै ‘घामतारा’ राखीदिए होलान ।

अहिले यो लेखलाई घामताराले पुकार्ने गर्छौ ।

नयाँ व्यवस्थाले दिएको नयाँ संरचना अनुसार रोल्पा जिल्लाको गंगादेव गाउँपालिका (सुकिदह) -३ मा रहेको घामतारा लेखको काखैमा सामुदायिक बिद्यालय सिद्दार्थ माबी घोप्टेओढार छ । स्कुल भएको ठाउलाई पातीहाल्ना भनिन्छ । त्यहाँ स्थानीयहरूद्वारा नमुना बिद्यालय निर्माण अभियान थालेका छन् । अहिले माध्यमिक तहसम्म पढाइ हुन्छ ।

तस्बिर: घमताराबाट देखिने कालाभिर, घोप्टेओढार, घरबिर

तल पुछारमा बाह्रजथाकको अग्लो लेखको फेदीबाट कोप्ची खोला सलल बगेको छ । त्यो माडीखोलामा मिसिन्छ र ऐरावती हुँदै राप्ती बनेर हिन्द महासागरमा पुग्छ ।

कोप्ची खोला भने ज्यादै ठुलो छैन, हिउदमा पनि मुस्किलले पानी घट्ट चलाउछ, तर प्राकृतिक वातावरणको असरले होला पहिलेको तुलनामा केहि सुक्दै गएको छ ।

तस्बिर: कोप्ची खोला

घामताराबाट नाकबेली हुँदै झरेसी डाँडाखुट्टी हुँदै झाँक्री सल्ला भेटिन्छ । पंचायत हुँदा झाँक्री सल्लामा पंचायती भवन थियो । हाम्रा बाउ बाजेको पालामा गाउँका प्रधान पन्चलाई चुन्न त्यहि चुनावमा भोट पर्थ्यो । त्यसैले पंचायती ब्यबस्थामा झाँक्री सल्लाह चर्चित थियो । ठुलाबडाहरु अर्थात घोडाचढीहरुको रङ्ग थलो थियो ।

उसो त त्यो थलो वारिपारि अग्ला बस्तीहरु बीच खोलाको बगर छेउमा ‘झाँक्री सल्ला’ जिनाबाङको बीच भागमा पर्छ ।

तस्बिर: घामताराबाट देखिने लोरिबिनी, कुयापानी, सल्यान छाप, कोटमौला

त्यसको नजिकै खहरे भिरमा एउटा सल्लो थियो । बुढापाकाहरु भन्थे, कुनै अनिष्ट आउने भएपछी त्यो सल्लो झाँक्री बस्थ्यो रे ! झाक्री जस्तै काप्ने भएको हुँदा नामै झाँक्री सल्ला रह्यो रे !

त्यो झाँक्री सल्लो देखेर मनमा भय उत्पन्न चाहि हुन्थ्यो तर झाँक्री झैँ काप्ने गरेको चाहि मैले देखिन ।

म परदेश पसेको एक दशक बित्न लाग्यो । अहिले त्यो झाँक्री सल्ला उस्तै छ कि छैन थाहा भएन ।  ‘घामतारामा घाम लाग्यो घमाइलो, झाँक्री सल्ला गरौ त रमाइलो’ भन्ने गित पनि अहिले गाउन छाडीसके । अहिले नयाँ भाका र गीतहरु जन्मिएका छन् ।

तस्बिर: बडाढुङ्गा, चामी

प्रयटन बिकाशको सम्भाबना बोकेको घामतारा

जिनाबाङको उत्तर पश्चिममा रहेको घामतारा लेख सल्यान जिल्लाको कोटमौला संग जोडिएको छ । यो लेख समुन्द्री सतहबाट २३ सय मिटर अग्लो छ ।

घामतारा संगै जोडिएको लामाचौर छ । उक्त चौर हवाई अड्डा बनाउन लाएक छ । त्यहाँ बर्सेनि मेला पनि भरिन्छ ।

पर्यटन क्षेत्रका लागि धार्मिक स्थलको रुपमा विकाश गर्न सकिन्छ । प्रयटन बिकाशका लागि उक्त घमतारा डाँडालाई ‘भिउ टावर’को रुपमा बिकशित गर्न सकिन्छ । सोहि डाँडाबाट ‘जिनाबाङ’ लगायत रोल्पा जिल्लाका अन्य भूभागहरु देख्न सकिन्छ ।  संगै जोडिएका सल्यान जिल्ला र रुकुम जिल्लालाई पनि सजिलै अबलोकन गर्न सकिन्छ ।

तस्बिर: कुकुरगारे, मंग्रा, बाह्रजथाक

कोप्ची अर्थात झाँक्री सल्लाह देखि घामतारा सम्म केवलकार जोडेर प्रयटन अबलोकन क्षेत्रको रुपमा बिकाश गर्न सकिन्छ ।

जिनाबाङ स्याउ खेतीले प्रचलित छ । त्यसैगरी आलु, भाजी, किबी लगायत अन्य कृषि खेतीमा जिनाबाङ उपयुक्त छ ।

यहाँ उत्पादनहुने बस्तुभाउ तथा फलफुलको बजार ब्यबस्थापनका साथै प्रचारप्रसारका लागि यो क्षेत्र माध्याम बन्न सक्छ । हावापानी संग मिल्दो जुल्दो फलफुल खेतिलाई आधुनिक कृषि उत्पादनमा जोड्न सकिन्छ ।

तस्बिर: कुयापानी, निंगालपानि, सल्यान

अन्तमा, पुर्खाहरुले आफुबस्ने भूमिलाई नाम दिए तर हामी नयाँ पिडिले आफु जन्मेको भूगोलको नाम र इतिहास जोगाउन कुनै अभिलेख राख्न आबस्यक छ । बिश्व इतिहास खोतल्दा उल्टै हाम्रा भूमिहरु गुमनाम हुदैछन ।

कलम चलाउन जान्नेहरुले आफ्नो भुमिको ऐतिहासिक बिरासत जोगाउन गाउँघरका भूगोल माथि अभिलेखहरु राखौ, जसले आगामी पुस्तालाई पढ्न र बुझ्न सजिलो हुनेछ । प्रयटन बिकाशका लागि प्रचारप्रसार फाइदा पुग्नेछ ।

तस्बिर: घरबिर, कोप्ची खोला, डाँडागाउँ, सुकाओढार

अहिले बिकसित उपकरणहरुले भौगोलिक अभिलेख राख्न सजिलो बनाएको छ । त्यसैले पंतिकारले घामताराबाट हेर्दा घमाइलो देखिने ‘जिनाबाङ’लाई फोटो कथामा सजाएको छ ।

यसरि तपाईले पनि आफु जन्मेको भूगोलको अभिलेख राख्नु भयो भने आफ्नो भूगोलको परिचय र पहिचान युग देखि युग सम्म बाँची रहनेछ । आगामी अभिलेखमा ‘जिनाबाङ’को बारे अभिलेख संकलन गर्ने चेष्टा गर्नेछु, प्रतीक्षा गर्नुहोला ।

तस्बिर: सामुदायिक बिद्यालय सिद्दार्थ माबी घोप्टेओढार

तस्बिर: घोप्टे ओढार

तस्बिर: लोरीबिनि

तस्बिर: चामी, बडाढुङ्गा, झ्याम

२०७५ पुष ४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको