यसअघिको अंकमा मैले दशैंमा हामीले प्राप्त गरिरहेका आशिषमा केही कुरा पक्कै मिलिरहेका छैन भन्ने व्यक्तिगत विचार राखेको थिएँ । जुन पात्रमा मैले दोष देखेको छु, त्यही पात्रलाई आधार बनाएर दिइएको आशिषमा मेरो चित्त बुझेन भन्नु यस लेखको चूरो कुरो हो । जसलाई मन पर्छ ग्रहण गरे हुन्छ, मलाई चित्त बुझेन र मैले सुधार गरौं वा सुधार गरेर ग्रहण गरौं भनेको मात्र हूँ ।
श्लोक यस्तो थियोः
‘ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते
विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे
यो अंकमा श्लोकको दोस्रो पंक्तिमा प्रवेश गर्छु ।
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ‘
एक महान सम्राट । वंशावली अनुसार भगवान विष्णुका सातौं पुस्ता (विष्णु, ब्रम्हा, अत्रि, चन्द्रमा, बुध, पुरुरवा, आयु , नहुष) का दरसन्तान । ब्रम्हहत्याका अभियोगी इन्द्रको अनुपस्थतिमा एक हजार वर्षका लागि स्वर्गको कार्यवाहक देवराज बनेका । अर्थात्, इन्द्रको विकल्पको रुपमा चुनिएका चन्द्रवंशी राजा ।
तर त्यहींबाट अहंकार पालेका, इन्द्रको अनुपस्थितिमा गैरजिम्मेवार शासन चलाएको आरोप लागेका, इन्द्रको आशनमै बसेका मात्र होइन इन्द्रपत्नी शची (इन्द्राणी) माथि नै नजर डुलाएका । सप्तऋषीले बोकको पालकीमा बसेर आए मात्र आफूले अपनाउन सक्ने शचीको शर्तपछिका किस्सा सुनेको थिएँ । यही सन्दर्भमा अगस्त्य ऋषीको शीरमा नहुषले लात्ता हानेको र ऋषीले अहंकारले तेरो मति भ्रष्ट गरेको छ, तँ मान्छे हुनसमेत लायक छैन भनेर अजिंगर भएस् भनेर सर्पयोनीको श्राप दिएको पनि त कथा छ ।
त्यसो भए हे पिताजी, मलाई पनि ऐश्वर्य कमाएर परस्त्रीगमनतिर आकर्षित गर्न खोजिएको त होइन ? म पनि नहुष राजा झैं कामान्ध हुन पर्ने हो ? व्यक्तिको दोषलाई बिर्सिएर गुणको मात्र गान गाइएको आशिष अलि हजम भएन । होइन भने अहंकारको दुष्प्रभावका कारण पतन भएका ऐश्वर्यम् नहुषे आशिर्वचनमा सुधार गरिपाउँ ।
अब पवनको गतिसँग मेरो गुनासो छैन । समयले पनि अब सुस्त हुनु भनेको सबै कुरामा पछि पर्नु हो भन्छ । अणु र परमाणुदेखि सुक्ष्मभन्दा सुक्ष्म कण पराकणको विकास भइसकेको विज्ञान र प्रविधि निर्देशित जमानामा जो अल्छी भो वा जो ढिलो भो त्यो सकियो । अर्थात्, पछि पर्यो ।
त्यसैगरी हावा वा पवनको गतिबारे जो जति जानकार हुन्छ त्यति नै वातावरण र वस्तुस्थितिको जानकारी लिएर आफ्नो दिशा चयन गर्न सक्दछ । हामीले सुनेको सोह्र दिशा छन् तर पढेको चार । पूर्व, पश्चिम, उत्तर र दक्षिण । बाँकि बाह्र दिशाको बारेमा पनि जानकारी भएपछि हावाको बेग जता चल्छ त्यतै आफूलाई अनुकूल बनाउन सकिन्छ । अब यसलाई म अन्यथा लिन्न । तर, व्यवहारमा जता हावा चल्छ त्यतै ढल्किनुपर्छ पो भनिएको हो कि भन्ने शंका चाँहि छ । त्यसैले गतिश्च पवनेलाई मैले सावधानीपूर्वक ग्रहण गरें ।
महाभारतको शुरुमै भनिएको छ, यो कथा सार्थको, पुरुषार्थको, स्वार्थको हो । अर्थात् सत्तास्वार्थको । यसका एक पात्र हुन् धृतराष्ट्रपुत्र दुर्योधन जो निकै बलशाली छन्, अडानमा कटिबद्ध प्रतिवद्ध छन् । उनको स्थायी शत्रु पाण्डव हो । दुर्योधन जन्मनुअघि नै गान्धारीले गर्भपातको प्रयास गर्दागर्दै पनि तुहिएको गर्भबाट कौरवको अस्तित्व देखिनुमा व्यास कारण देखिन्छन् र यहींबाट दुर्योधनको अस्तित्व प्रारम्भ हुन्छ
प्रेमको अर्को नाम प्रेम नै हो । तर राजनीतिको अर्को नाम महाभारत पनि हो । र त्यही महाभारतमा शकुनीको कपट र जाललाई आँखा चिम्लेर व्यवहारिकीकरण गर्ने पात्र हुन् दुर्योधन । अब हामीलाई पढाइएको महाभातमा दुर्योधन भनेको क्रोधी हो, हठी हो, दुष्ट हो, शकुनीको कपटमा चल्ने घमण्डी हो भनिएको छ । अनि आशिषमा चाँहि ‘मानन्च दुर्योधने’ रे । यो विरोधाभाषले आशिषलाई हलुका बनाइरहेको मेरो अनुभूति हो । कर्णसँग मिलेर युवती अपहरण गर्ने पनि दुर्योधन, द्रौपदीलाई निर्वस्त्र बनाएर काखमा राख्न खोज्ने पनि दुर्योधन ।
अन्तिम समयमा जलबन्ध्याबाट भागेका वीर पनि दुर्योधन । त्यसैले भाईको रुपमा मानिएको हो भने ठीकै छ नत्र यो पनि चित्त बुझिरहेको छैन । उसै पनि महाभारतलाई सत्य र असत्यबीचको, धर्म र अधर्मबीचको कथा मानिन्छ । कौरव भनेको असत्य र अधर्मको प्रतिनिधि हो भनेर शिक्षा दिइन्छ । अनि तिनै कौरवका महानायक दुर्योधनको जस्तो मान होस् रे । असत्य र अधर्मीका महानायकको मान हुन्छ चाँहि कत्रो ? मैले नबुझेको वा मेरो जिज्ञासा यही हो।
मेरो नजरमा राधेय कर्ण वा कुन्तीपुत्र कर्ण वा सूर्यपुत्र कर्ण जे पनि पनि श्रद्धा र आदर्शका पात्र हुन् । र, म उनलाई पूरा महाभारतमा कृष्णपछिको सबैभन्दा आकर्षक र विशाल पात्र मान्छु । उनको चरित्रमा अनेक ग्ल्यामर भेटिन्छ । पूरा करिम्याटिक ग्ल्यामर । ज्ञान र वीरताले सज्जित हुँदाहुँदै उनी सधैं अपमानित पात्रको भूमिकामा छन् । यही अपमानले कर्णभित्र एउटा स्थायी ईखको जन्म गराएको छ । सूर्यपुत्र हुँदा हुँदै महाभारतभरी उज्यालोको खोजीमा भौंतारिरहेका पात्र हुन उनी ।
कुमारी आमा अर्थात् कुन्तीको अवैध गर्भबाट जन्मिए लगत्तै जन्मनासाथ त्यागिएर अधिरथले भेट्टाएपछि शुरु भएको उनको अस्तित्व महाभारतको अन्तसम्म उतारचढावपूर्ण छ । जेष्ठ पाण्डव हुनपर्ने तर कहिल्यै पाण्डवको सगोलमा नपरेका । प्रतिकूल परिस्थितिसँग जुधेर नै श्रेष्ठता हासिल गरेका पात्र हुन् कर्ण । नियति पनि कस्तो भने फरक फरक सन्दर्भमा श्रापित भएका कर्णका सबै श्राप युद्ध मैदानमा अन्तिम समयमा कार्यान्वयन हुन पर्ने । अचम्म नै यही हो । अस्त्रविहीन, रथविहीन, असहाय अवस्थामा भएको उनको अन्त मेरो लागि असह्य विषय हो । गुरुको पनि श्राप, धर्तीको पनि श्राप बोकेका कर्णको दानचरित्रको मात्र वर्णन चित्त बुझ्दैन मलाई । कमजोर मनोदशाका दुर्योधनले पाण्डवसँग रिस फेर्नकै लागि अंगराज बनाइएका कर्ण अर्जुन र कर्णलाई कला देखाउने अति ईखका शिकार भएका छन् । शारीरिक, आत्मिक र बौद्धिक रुपमा सुन्दर हुँदाहुँदै उनको दानवीर चरित्र नै उनको कमजोरी हो भन्ने कुरा मेरा अग्रजले मलाई किन पढाएनन् । त्यही कमजोरीको फाइदा इन्द्र र कर्णकी माता कुन्तीले उठाएको हो भनेर अब चाँहि म बुझ्ने भइसकेको छु । अनि म कर्णजस्ता अद्धितीय वीर योद्धाको त्यही कमजोरीलाई आशिष मानेर ग्रहण गरौं ?
कर्ण द्रौपदीको चिरहरणका द्रष्टा र साक्षी दुबै हुन् । र, राजसभामा द्रौपदीलाई वेश्या करार गरेर दुर्योधनको घमण्डको आगोमा घिऊ थप्ने वा हौसला दिने पात्र पनि हुन् । अभिमन्यूको पीडा सहन नसकेर पीडा मुक्त गराउनै सही, कर्णले अभिमन्यू माथि छुरी चलाए । अर्जुनसँगको बैर वा दुश्मनी वा घृणाका कारण कर्णले अभिमन्यूको बध गर्न चक्कु चलाएका होइनन् भन्ने म बुझ्छु ।
तर लडाईमा घाइते, निशस्त्र अवस्थामा आफ्नो घेरामा परेको एउटा महान पराक्रमी योद्धामाथि अश्त्र उठाउनु पनि त अपराध नै होला नि होइन ? हो, यहींनेर म कर्णको पराक्रम स्खलित भएको पाउँछु । मित्रताको नाममा एउटा अधर्मी पात्रका खातिर कर्णले पनि अधर्म गरेका छन् भने मलाई मेरा मान्यजनले दिने आशिषमा अधर्मको कण किन स्वीकार गरौं ? यही मेरो प्रश्न हो ।
निःसन्देह कर्ण आफ्नो वचन र प्रतिवद्धतामा अरुभन्दा धेरै माथि छन् । तर आशिषमा दानपात्रोले अरु गाथालाई गौण बनाएको छ । त्यसैले कर्णको दानसँग भन्दा उनको जस्वनका उतारचडावमा उनले गरेको संघर्षसँग म प्रेम गर्छु । अतः हे मान्यजन अर्को वर्ष मलाई कर्ण झैं संघर्षशील हुनु भन्दिए हुन्छ ।
अब म सत्यवादी युधिष्ठिरतिर जान्छु । महाभारतमा धर्मलाई केन्द्रमा राख्ने तीन प्रमुख पात्र कृष्ण, बिदुर र युधिष्ठिर छन् । उनी कस्तै विषम परिस्थितिमा पनि शान्त रहने सक्ने वा क्रोधलाई जितेका पात्र हुन् । क्षमाशील हुनु उनको गुण हो, मातृ, पितृ, गुरुको भक्ति उनको गुण हो । दम्भ र कामलाई उनले जितेका छन् । कूलको मानमर्दन हुन नदिन उनी सचेत छन् । द्धैतवन काण्डबाट दुर्योधनलाई मुक्त गराउन उनको भूमिका थियो । उनी धर्मराज हुन् । यी सब त भए ।
मेरो मनमा अर्को गम्भीर पाटो छ । युधिष्ठिर जुवाको व्यसनमा लिप्त थिए । उनको यही कमजोरीको फाइदा शकुनीले उठाउँदा हस्तिनापुरको राजसभामा द्रौपदीको चिरहरणको प्रयास भयो । आफ्नो सर्वश्व हारिसकेपछि उनले द्रौपदीलाई नै खालमा राखिदिए । एकछिनलाई मनौं यो कृष्णकै लीला हो, दैवको लीला । तर युधिष्ठिर जुवाको अम्मली नै थिए भन्ने कुरा गुप्तवासताका विराट दरबारमा कंकुको नाममा उनको भूमिकाले पनि त केही भन्छ ।
पूरा महाभारत कथाको ट्विस्ट युधिष्ठिरको एउटै महान झुठबाट हुन्छ । अश्वस्थामा र द्रोण एक अर्काका पूरक थिए । दुबै अति शक्तिशाली थिए । अनि यी दुबैको अन्त तीर वा गधा चलाएर मात्र सम्भव थिएन । अनि द्रोणको अन्तविना न युद्धमा कर्णको आगमन सम्भव थियो न महाभारतको अन्त । यस्तो अवस्थामा युधिष्ठिरले अस्वत्थामा ‘हतः इति नरो वा कुञ्जरो वा’ भनिदिनाले द्रोणको हातबाट हतियार खस्यो, धृष्टद्युम्नले निमेषमै उनको शिर छेदन गरिदिए र समग्र महाभारतको नयाँ आयाम खोलियो ।
महाभारतको द्रोणपर्वमा अर्जुनले व्यक्ति गरेको एउटा विचारबाट म एउटा धारणा बताउँछु ।
पंक्ति छः
‘चिरं स्थास्यति चाकीतिस्त्रैलोेके सचराचरे
रामे बालीवधाद् यद्धदेवं द्रोणे नियातिते’
अर्थात्, हे राजा युधिष्ठीर, रामले लुकेर बालीको हत्या गरे र अपकीर्तिको भागिदार बने । तपाई पनि झुठको साहारामा गुरु द्रोणको हत्याको अपकीर्तिको भागिदार बन्नुभयो ।
अब भन्नुस मान्यजन थाहा पाउँदा पाउँदै म कसरी युधिष्ठिरको त्यो सत्यवादिता स्वीकार गरौं ? यो त संकट पर्दा तैंले झुठको साहारा लिए हुन्छ भनिएको होइन ? म त्यसै गरौं ? बिदुरको नीति, धर्मवादिता र ज्ञानसँग मेरो कुनै गुनासो छैन । प्रश्न पनि छैन र सन्देह पनि । माथिका तीन शीर्षकमा हस्तिनापुरका प्रधानमन्त्री बिदुर भन्दा शक्तिशाली मेरा लागि भगवान भनिएका कृष्ण पनि छैनन् । बिदुर स्वयम् धर्मराजको अंश थिए, जो पछि युधिष्ठिरमा विलय भए । उनको तर्क न्यायको, विधिको र धर्मको पक्षमा थियो । धृतराष्ट्रको पुत्र मोह विरुद्ध सभामा बोल्न सक्ने एक जना बिदुर नै त थिए । धर्मको पक्षमा विद्रोह ओकलेर सभा नै बहिष्कार गर्नसक्ने अरु को थिए ? सभामा भीष्म र द्रोणहरु मूर्तिवत् लाचार भइरहँदा बिदुरले बोलेका हरेक वाक्य न्याय र समानताको पक्षमा देखिन्छ ।
अर्जुनको गाण्डिव भन्दा शक्तिशाली धनुष फ्याँकेर बिदुरले पाण्डव वा धर्मको जीतका लागि बाटो सहज गराइदिएका थिए । सन्दर्भ थियो सभामा दुर्योधनले गरेको अपमानको बदला । उनी युद्धमा संलग्न नहुने घोषणा गर्दै तीर्थाटनमा जानु भनेको पाण्डवको जीतको नयाँ आधार दिनु पनि हो । तर, एउटा क्षेत्रीय राज्यको प्रधानमन्त्री राज्य संकटमा परेको बेला हतियार त्यागेर तीर्थाटनमा जानु शोभनीय हो ? आफ्नो राज्यको सुरक्षा उनको कर्तव्य भित्र किन परेन ? धर्मभित्र कर्तव्य पर्छ कि पर्दैन भन्ने एउटा सवाल मात्र मेरो हो । सही र गलतको अन्तर थाहा हुँदाहुँदै बिदुरले युद्धको सन्किट पुगेको राज्यलाई नेतृत्व विहीन बनाएर तीर्थाटनमा गएको चित्त नबुझे पनि ज्ञान, नीति, र धर्मका पक्षमा उनको अडानका कारण आशिषलाई सहर्ष ग्रहण गर्छु ।
लेख लामो भइसक्यो…. ।
नारायणको रुप र प्रतिरुपको बारेमा हामीले धेरै सुनेका छौं । अहिलेको अवस्थामा कर्म नगरी कीर्ति प्राप्त हुँदैन । र कर्मका लागि पाइताला, मस्तिष्क र पाखुरासहितका अन्य इन्द्रियको प्रचूर उपयोग महत्वपूर्ण छ । मान्यजनका आशिष सद्भाव मात्र हुन् । शुभेच्छा मात्र हुन् । तिनले भित्री बल त दिन्छन् तर नवीन आबिष्कार, नयाँ प्रयोग, नयाँ तथ्य र नयाँ सूचना दिंदैनन् । त्यसैले हामीलाई दिइने शुभेच्छामै त्रुटी नहोस् । आशिर्वाद वा कामना वा शुभेच्छा खोतल्नेका लागि यो मिठो किञ्चित नहुँदो रहेछ । त्यसैले मान्यजनले हिजोका परम्परा अनुसार आशिष जे दिए पनि तिरस्कार नगरौं । मन मनले त्यसलाई आफूले मिलाएर ग्रहण गरौं । आशिष दिनेको चित्त दुखाउनु पनि त गलत हो भन्ने मत राखौं ।
आगे, सबैको जय होस् । फलोस् फूलोस् ।
(३ अक्टोबर २०१७ मा प्रकाशित लेख समय सान्दर्भिक भएकोले पुनः अध्यावदी गरिएको)
प्रतिक्रिया दिनुहोस