असोज ३, काठमाडौं । मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ जना पुगेको नेपाली दूताबासले जनाएको छ ।
विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए ।
मलेशियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उनले बताए । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ ।
त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ ।
मलेशियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए ।
कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुगेका थिए । यस्तै मदिरा सेवनबाट अरु १३ विदेशी नागरिकको पनि मृत्यु भएको छ ।
यता बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
निर्देशक डाक्टर नूरका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलासा भएको छ ।
बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की उनीहरुले स्थानीय बजारबाट किनेका हुन् ।
स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस