रातो बाकस


निचोहोरेर आफ्नै पसिना
जम्मा गर्छ अमिलो-नूनीलो पानी
र, जनतले बाँध्छ मक्किएको देब्रे कम्मरमा
दुई घुट्को पानी
घरि घाँटी दुखेर अड्कन्छ
घरि घर दुखेर अड्कन्छ
एक मुठ्ठी श्वाश
बारुदको गन्ध मिसिएको
घरिघरि गाँठो पर्छ मुटुमा
र, पटकपटक तर्सेर ब्यूँझन्छ
देखेर रातो बाकस सपनामा ।

हिजोको रात बाँचेपछि
बिहानै फोन गर्यो गाउँमा
र, जोड्न चाह्यो मनको तार
यूद्ध मैदानमा
हरेक दिनको गोलाबारीमा बाँचेको
घाइते योद्धा जस्तै लाग्छ
खाडी खनिरहेका साथीहरु
जो चिसो रोटीमा
आमाको स्नेह सुँघ्छन्
पत्नीको प्रेम सुँघ्छन्
र, घुँक्क~~घुँक्क भकानिन्छन् गह भिजाएर ।

यसपाली पनि
उतै छुट्यो
कुना कुनासम्म
पत्रपत्र खाँदेर सपना
आमाले भिराइदिएको झोला ।
बाँध यसरी भत्कियो
बगर भो’
बाबुले सजाएको
आशाका खेत र खलिहान ।

न क्रोध न असन्तोष
न शंका न घृणा
न ईष्र्या न पराश्रित
उसले केही सुनाएको थिएन आमालाई
हिजै मात्र हो
गाउँमा बालाई
“मुठ्ठीको बलमा कज्याउँछु दु:ख” भनेको।

म त उठ्न आएको भन्थ्यो
म त लड्न आएको जिन्दगीसँग भन्थ्यो
कसले सोध्छ अब-
मृत्युसँग डराउँदिन भन्नेले
जिन्दगीसँग आत्मसमर्पण गरेको प्रश्न ?
सपथ खाँदा
हात राखेर कर्मको शिरमा
कसरी छुट्यो जीवनसँगको आस्था र विश्वाश ?
रातो बाकस
जो घरिघरि तर्सारहन्थ्यो उसलाई
ऊ चैनले सुतिरहेको छ
अंगालोमा बेरेर त्यसैलाई

रातो बाक्सा
गाउँ गाउँ नाचिरहेछ
शोकको बाढी बोकेर।

घुमाउँदै वायूपंखी पखेटा
चिलगाडी बस्यो पाटनमा
उत्सव जस्तो
मेला जस्तो पर्व जस्तो
आतुर छन्
साना नानीहरुको आँखा
प्रौढ अनुहारहरु
देख्न खजाना जान्न रहस्य
रातो बाक्साभित्र ।

पाटनमाथि
खाँवोको अचानोमा
कोही थिचिरहेछन् नाडी र पाखुरा
फुटाइरहेछन् रंगीचंगी चूराहरु
छरपस्ट छन्
जीवन र सपनाहरु
टुक्राटुक्रामा।

धूवाँले खाएपछि
मजेत्रोमा बेरिएर खोपीमा सजेको
सोनीको खटारो रेडियो
सुनाइरहेछ समाचारः
“कतारमा मृत्यु हुने
फलानोको शव गाउँ पुर्याइएको छ।”

शोक धून
कुना कुना छिचोलेर पहाडको
साँधीरहेछ निशाना मुटुलाई ।

त्यो हिजैको हिउँद थ्यो
सेतो टीका लाइदिएर निधारमा
‘छिट्टटै आएस् बाबुु’ भनेको आमाले
ग्वाम्लांग छाँद हालेर
शीरमा हात राख्दै बाबुले
जय गाएको दिन।

रातो बाकस
सपना बाहिरको थियो
कल्पना बाहिरको थियो
र, पनि आयो मखमलको कपडामा मोरिएर
जहाँ लमतन्न
निश्वाश
बाचाल
सुतिरहेको थियो
हिजोसम्म काखमा खेलेको छोरो
हिजोसम्म काँधमा चढेको छोरो
हिजोसम्म अंगालोमा बाँधिएको पति।

देश बाँचिरहेको छ
शिरानी हालेर रातो बाकस
देश त पैसा गन्छ
रातो बाकस गन्दिन भन्छ।

२०७५ भाद्र ३,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको