भदौ ३, दाङ । देउखुरीको लमही–कोइलावास सडकखण्डमा स्तरोन्नतिका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा समस्या देखिएको छ । पहिलो चरणमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएका जग्गाका जग्गा धनीलाई चेक मार्फत मुआब्जाको रकम वितरण गर्न शुरु गरिने भनिएता पनि मुआब्जाका लागि माग भई आएका फाइलमा उल्लेखित विवरण नमिल्दा कामको प्रक्रिया अघि बढाउन समस्या भएको हो ।
हुलाकी सडक कार्यालयले फाईल पठाउदा त्यसमा लेखिएका विवरणहरु नमिल्दा, बैंकमा जग्गा रोक्का भएको बारेमा जानकारी नहुँदा, जग्गाको श्रेस्ताहरु कायम नभएको पाइएका फाइलहरु आउँदा काम गर्न समस्या परेको मालपोत कार्यालय लमहीका नायव सुब्वा गंगाराम बुढाले जानकारी दिए । फाइलमा उल्लेखित बिबरण नै फरक परेपछि मुआब्जा बितरणमा ढिलाई भएको छ ।
बिबरण नै मिलेकै कारण अहिले सम्म मुआब्जा बितरणका लागि निकासा भएको रकम समेत बितरण गर्न नसकिएको नायब सुब्बा बुढाले भने । ‘मुआब्जा वितरण गर्ने जग्गा बैंकमा पनि रोक्का छन । श्रेस्ता कायम पनि नभएका छन्’ नायव सुब्वाले भने । ‘हामी कहाँ आएका फाइलहरु कुनै वाँकी छैनन । नापी कार्यालय लमहीका प्रमुख कृष्ण अधिकारीले मालपोतबाट आदेश भएर आएका फाईलहरुको कित्ताकाट गर्ने काम भैरहेको जानकारी दिए । ‘हामीबाट ढिलो भएको छैन । मिलेको जति कित्ताकाट गरेर पठाउने गरेका छौं । धेरैको जग्गाको क्षेत्रफल नमिल्दा काम गर्न समस्या परेको हो’ क्षेत्रफल मिलेर आएकाहरुको कित्ता काटेर पठाएका छौं । यहाँ आएका फाईल मध्ये धेरै फाईल सुधारको लागि पठाउनुपरेको छ, अधिकारीले भने ।’
गत वर्ष असोज २५ गते मुआब्जा निर्धारण समितिको वैठकले जग्गाको मुल्य निर्धारण गरेको थियो । सोही मुल्यको आधारमा मुआब्जा वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मुआब्जा वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । सडक निर्माणको नाममा लामो समयदेखि लमही–कोईलावास सडकखण्डमा व्यक्तिका नाममा रहेको सात सय ९९ कित्ता व्यक्तिगत जग्गा रोक्का छ ।
मुआब्जा वितरण नहुँदा सडक स्तरोनन्तिको काम प्रभावित भएको थियो भने जग्गाधनीले समेत जग्गाको बिक्री वितरण, अंशबण्डा गर्ने काम समेत गर्न पाएका छैनन । सडकका लागि केन्द्रविन्दुबाट दायाँ÷बायाँ १५÷१५ मिटर भित्रपर्ने जग्गाहरुको कित्ताकाट गरेर अधिग्रहण गरिएको हो । हाल मुआब्जा वितरण गर्नुनपर्ने स्थानमा सडक स्तरोन्नतिको काम धमाधम भईरहेको र मुआब्जा वितरण सँगै बाँकी क्षेत्रमा पनि सडक स्तरोन्नतिको कामले गति लिने प्रजिअ श्रेष्ठले बताए ।
मुआब्जाका लागि पैंतीस करोड निकासा
लमही—कोइलाबास सडक खण्डमा मुआब्जा बापत ३५ करोड रुपैयाँ निकासा भएको छ । पहिलो चरणमा तीन करोड बढी रकम वितरण हुनेछ । पहिलो चरणमा लमही नगरपालिका भित्र रहेका ५६ जना जग्गा धनीलाई तीन करोड ६ लाख ८३ हजार एक सय रुपैयाँ र गढवा गाउँपालिका भित्रका १४ जना जग्गा धनीलाई ११ लाख १४ हजार दुई सय ९५ रुपैयाँ मुआब्जा बाफत वितरण गरिदैछ । मालपोत कार्यालय लमहीले गत वर्ष माघ ११ गतेदेखि काम सुरु गरेको थियो ।
हालसम्म मुआब्जाका लागि तीन सय ८३ किता जग्गा भएका तीन सय २१ जना जग्गाधनीले लमहीस्थित मालपोत कार्यालयमा मुआब्जाका लागि फाईल पेश गरेका छन । जसमध्ये एक सय ९९ जग्गा धनीको दुई सय २९ कित्ताको काम सकिएर मुआब्जा वितरणका लागि काम अघि बढेको लमही स्थित मालपोत कार्यालयका नायब सुब्बा गंगाराम बुढाले जानकारी दिए ।
पचहत्तर प्रतिशत जग्गाधनीलाई रकम पुग्ने
अहिलेको रकमले ७५ प्रतिशत जग्गा धनीलाई मुआब्जा दिन पुग्ने हुलाकी सडक योजना कार्यालय नेपालगञ्जका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिएका छन । ‘सडक कार्यालयको नाममा जग्गापास भएका जतिको रकम जिल्ला प्रशासन कार्यालयमा पठाएका छौं । जति छिटो नापी र मालपोतबाट काम हुन्छ । उति छिटो रकम उपलब्ध हुन्छ’ ओझाले भने । ‘मुआब्जाको कारण सडक निर्माणमा कुनै ढिलाई हुनदिने पक्षमा छैनौ उनले भनें ।
मुआब्जाका लागि हुलाकी सडक कार्यालयले मालपोत कार्यालय लमहीमा जग्गाहरुको फाईल पठाउने, मालपोत कार्यालयलले कित्ताकाटको लागि नापी कार्यालयमा पठाउने र नापी कार्यालयले कित्ताकाट गरेर सडक कार्यालयको नाममा जग्गापास गर्न मालपोत कार्यालयमा पुनः फाईल पठाउनु पर्ने प्रक्रिया तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस