रोकिएन सुन तस्करी, त्रिभुवन विमानस्थलबाट एक पक्राउ


पुस ३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनको साथबाट ११६ ग्रामका चार बिस्कुट सुन र करिब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

कतार एयरवेजको उडानद्वारा आएका घिसिङलाई विमानस्थलमा जाँचका क्रममा बिहान पक्राउ गरिएको हो। सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित निलोपुलबाट सोही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन सुन एक केजी लेखेको पहेंलो धातुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई सोमबार साँझ उक्त धातुसहित पक्राउ गरिएको हो। ठगी गर्ने उद्देश्यले पहेंलो धातु लिएको खुल्न आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यता चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्ने मनोज चापागाईंको घरको मूलढोकाको ताल्चा फोडेर करिब रु एक लाख ६९ हजार बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

३ पुष २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको