पृथीछक बुढा मगर । नैतिक पतन भएपछि सबै सकिन्छ । सबै सकिएपछि पनि के राजनिती गर्नु र ! भन्नलाई त भनिन्छ राजनिती भनेको ठूलो समाजसेवा हो । स्वार्थको राजनितिलाई समाजसेवा भनिदैन । समाजसेवी बन्नलाई स्वार्थ त्याग्नै पर्छ तर त्यस्तो त्यागी नेता कहाँ पाइन्छ र नेपालमा ।
यहाँ त कमाउनको लागि राजनिती गरिन्छ । कम्युनिस्ट नेताको कमाउ धन्धा कम्ती सहि नसक्नु छ !
अरुको लागि हो भने सहने ठाउँ छदैछ । तर हिजो यहि प्रवृत्तिलाई पल्टाउनको लागि लडेका लडाकु सांसदहरुले जाबो १८ हजारमा र्याल चुहाउँदा दया लागेर आएको हो । हिजो उनिहरुले बैचारिक पतन भएकाहरुलाई दयाको भावले हेर्दथे । आज उनै कामरेडहरु अति नै निम्न स्तरमा पतन भएको देख्दा भित्रभित्रै आफैलाई दया लागेर आएको हो ।
समाजमा धनले धेरै मान्छे गरिव छन् । त्यसो त गरिविले गरिवको इज्जत जादैन । तर यहाँ बिचारको दरिद्रहरुको कुरा छ । १७ हजार लाशहरुको चाङ माथी चढेर १७ हजार कमाउने लोभ थियो भने त नैतिकताको के कुरा गर्नु र ! हुनसक्छ हिजो खोरिया पाखो पार्टीलाई दान दिएको सम्पतिको ब्याज लिएका हुन् । त्यसो त आन्दोलन ताका जनताको सातु, ढिडोको ब्याज पनि त हिसाबमा आउनु पर्यो, त्यो छैन ।
जनता ठगियो । अझ `कर´ नामको नियम लगाएर जनतालाई दुहुनो गाई बनाए । नेताले जनता पाल्ने कि जनताले नेता ? नेता मालिक कि जनता मालिक ? कामरेडहरुकै भाषामा भन्ने हो भने जनताको सेवक हो नेता । सेवक भनेको नोकर हो । तर यहाँ त नोकरको चाकरी गरिन्छ । अजिवको परम्परा । मालिक दुब्लाउदै जाने अनि सेवक मोटाउदै जाने । बाटोघाटोमा यसो मोटो मान्छे देख्यो कि नेता हो कि भन्ने पनि लाग्छ । चाडै मोटाउनको लागि नेतै हुनुपर्छ नेपालमा ।
नेपाली कंग्रेसको प्रसङ्ग छुट्टै हो । माछा मार्छ त ठुलै मार्छ । एकाद रुपमा जस्तापाता, पाल र छिमेकीले दिएको राहतमा र्याल चुहाउने डाक्टर साहेबहरु बाहेक १७/१८ हजारमा आफुलाई अल्झाउदैन, सायद पुजिपती दल भएर होला ।
साच्चै भ्रष्टाचारले पनि बर्ग छुट्टाउने रहेछ । उता सर्बहारा दल भएर होला कामरेडहरुले १७/१८ हजारमा पनि र्याल चुहाएका । लाज पनि नलाग्ने भए । हिजो पो सर्वहारा थिए र १७/१८ हजार पनि सुहाउँदो थियो । अहिले त बर्ग फेरियो । बर्गको चरित्र फेरियो । सडकवाट महलमा पुगे, जंगलवाट मन्त्रालय छिरे । छिछी १७/१८ हजार खाएर के हुन्छ ? दातका कापकापमै अल्झिएर सकिहाल्छ । बडेमानका पेटहरु कसरी भरिन्छ ? शीत उभ्याएर मानो भरेको हो भने बेग्लै कुरा हो ।
एकजना कमरेडले फ्यात्तै बिज्ञप्ति निकालेर घर भाडा बापत आफ्नो खातामा जम्मा भएको रकम फिर्ता गर्छु भनि कबुले । फिटिक्क लाजै लागेन । उल्टै सिस्टमलाई दोष दिए । १०/१० महिनासम्म आफ्नो खातामा कहाँवाट कति रकम आयो भनेर के थाहा नहोला र ? सतहमा आएर पो फिर्ता गर्न खोजे नत्र त सजिलै पचाईहाल्थे । कम्युनिष्टहरुको घरभाडाको काण्ड बडो हेरिनसक्नु छ । हिजो जंगलमा आश्वासनसंग सातु सातेर १७ हजारलाई मासे । सिधा जनता रमाईरमाई शुलीमा चढे । अबको चुनावमा फेरि कस्तो रडाको मच्चिने हो ? कुन अनुहार लिएर गाउँ पस्ने हो ? नयाँ जोगिले अलि बेसि खरानी घस्ने चलन छ भनिन्छ । हाम्रो देशका पुराना जोगिहरुले पनि अलि बेसि नै खरानी घस्नुपर्छ नत्र जनताले चिनिहाल्छ ।
प्रतिक्रिया दिनुहोस