राजेश पायललाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार


पुस ३, काठमाडौं । चर्तित गायक राजेश पायल राईलाई “नातिकाजी राष्ट्रिय संगीत पुरस्कार” प्रदान गरिएको छ । उनलाई नातिकाजीको ९३ औं जन्मजन्यतीका अवसरमा नातिकाजी स्मृति समाजले ११ हजार रुपैयाँ सहित सो पुरस्कार प्रदान गरिएको हो। उनीसँगै गीतकार सुवासचन्द्र ढुंगेल, गायिका मीना निरौला लगायतलाई पनि संगीत पुरस्कार दिइएको थियो ।

उनले पुरस्कारबापत पाएको ११ हजार रुपैयाँ उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने बताए । राजेशपायलले नातिकाजीको संगीतमा झन्डै एक दर्जन गीत गाएका छन् । अर्को साल ती पुराना गीतहरूको एल्बम सार्वजनिक गर्ने योजनामा उनी रहेका छन् । ‘रेडियो नेपालतिर छन् होला हाम्रा गीत,’ उनले भने, ‘सबै जम्मा पारेर एल्बम बनाउँछु।’

तस्बिर: नातिकाजी स्मृति समाजद्वारा सम्मानित भएपछि (बायाँबाट) गायिका मीना निरौला, गीतकार सुवासभन्द्र ढुंगेल, गायक राजेशपायल राई र गीतकार डा. भोला रिजाल

नातिकाजीको ९३ औं जन्मजन्यतीका अवसरमा उनले नातिकाजीको ‘कसोरी आँखा जुधे…’ गीत समेत सुनाए ।

समाजले गायक एलपी जोशीलाई नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान प्रदान गर्‍यो । गायक प्रसाद श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, गीतकार डा. भोला रिजाल, गायक रमेश ताम्रकार, गीतकार अरुण सायमि र पत्रकार पुष्करलाल श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’ दियो । द्विराज शर्माले भने नातिकाजी स्मृति समाज योगदान सम्मान प्राप्त गरे । स्रष्टाहरूलाई राष्ट्रकवि घिमिरेले सम्मान तथा पुरस्कार हस्तान्तरण गरे ।

स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजीको सम्मान र उनका सिर्जनाको व्याख्या, विश्लेषण र चिन्तनका लागि समाज स्थापना गरेको बताए । समारोहमा नातिकाजीले संगीतबद्ध गरेका ‘फूलको थुंगा बगेर गयो…’, ‘आजै र राति के देखेँ सपना…’ लगायत गीत प्रस्तुत गरिएका थिए ।

३ पुष २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको