कुन धर्म कुन रीत ? कुन गजल कुन गीत ?


कुन धर्म कुन रीत ?
कुन गजल कुन गीत ?

जीसस् (क्राइस्ट) ईश्वर हुन् ? मलाई लाग्दैन, हुन् ।
सायद अरुले पनि इशापुर्व ५ तिर जन्मिएका जीससलाई ईश्वर नमान्लान् ।
त्यसो हो भने जीसस् कुन धर्म मान्ने परिवारमा जन्मिएका थिए ? कसैलाई त थाहा होला ।

हजरत मोहम्मद ईश्वर हुन् ?
मलाई लाग्दैन हुन् ।
सायद् अरुले पनि इशापूर्व ५७० मा जन्मिएका हजरत जसले अल्लाहको व्याख्या वर्णन गरे, मोहम्मदलाई ईश्वर नमान्लान् ।

गौतम बुद्ध ईश्वर हुन् ?
भगवान् हुन् ?
होइनन् ।

सायद् अरुले पनि बुद्ध (राजा शुद्धोधनका छोरा सिद्धार्थ जो इशापूर्व ६०० वर्षअगाडि नेपालको लुम्बिनी, कपिलवस्तुमा जन्मिएका थिए र जो पछि ज्ञान प्राप्तीपद्धि बुद्ध कहलिए) लाई ईश्वर नमान्लान् ।

अनि के त्यसो भए इशापूर्व ६०० मा जन्मिएका महावीर जसले जैन नामको धर्मको प्रचार गराए, उनी पनि ईश्वर होइनन् ? मलाई लाग्छ उनी पनि इश्वर होइनन् ।
कसले भन्न सक्छ महावीरभन्दा अगाडि कुनै धर्म थिएन ? थियो । त्यसो भए कुन धार्मिक सम्प्रदायमा उनको जन्म भएको थियो ? मेरो जिज्ञासा हो, महावीर कुन धर्म वा धार्मिक सम्प्रदायको परिवारमा जन्मिएका थिए ?

त्यसो भए सभ्यताको किनारमा आरम्भ भएको शाश्वत धर्मचाँहि कुन हो ? अनि कुनै वा कोही व्यक्तिको विचार र आदर्शमा बर्णित आधारित आचरणलाई कसरी ईश्वरीय धर्म मान्न सकिन्छ ? मान्नुस् नमान्नुस् तपाईकै इच्छा । तपाईंको कुरा तपाईसँग राख्नुहोस् तर म मान्न सक्दिन वा म मान्दिन ।

भोली मैले कुनै नयाँ विचार वा मत सृजना गरें । त्यसलाई कहीं रामदेवको शैलीमा त कहीं ओशोको शैलीमा प्रचार गरें । मेरो विचारलाई मेरो कलाको र मसँग भएका यावत् शस्त्र शास्त्र र अस्त्रको प्रयोग गरी विस्तार गरें । यो विस्तारमा केही मेरो कलाले काम गर्यो केही मसँग भएको शान, सौकत, राज्य, सत्ता र राज्यसत्ताको बलले काम गर्यो । मेरा पछाडि मान्छेको लाम लाग्यो, मान्छेले मेरो बर्णन गर्न थाले, तस्वीर घरको भित्तामा टाँस्न थाले, घाँटिमा लगाइने सिक्रीमा मेरो तस्वीर झुण्ड्याउन थाले, मूर्ति बन्यो, मूर्तिमा पूजा पनि गर्न थाले ।
उफ् ।

अब म भएँ भगवान ?
म भएँ ईश्वर ?

मान्छे हो ।
बिचार गर ।

व्यक्तिको मत, विचार, आचरण र व्यवहारमा जोड दिने त्यस्तो कुनै पनि परम्परालाई धर्म र ती व्यक्तिलाई ईश्वरको उपमा दिएर आफूलाई अज्ञानी नबनाओ । समग्र मानव जातीको लागि समान, जस्तो वायू अर्थात् हावा, सूर्यको प्रकाश, जल, धर्ती (कुनै नामको देशको परिधिमा नबाँधिएको, प्रकृति प्रदत्त चीज वा वस्तु जस्तो अग्नी आदि) समान रुपमा दिनसक्ने सामथ्र्य कोसँग छ ?

सबैसँग मेरो एउटा प्रश्न छ, यदि वैदिक धर्म अर्थात् हिन्दु धर्मबाट राम वा कृष्ण वा बिष्णु वा कुनै देवीलाई हटाउँदैमा त्यो धर्मको अस्तित्व सकिन्छ ? मलाई लाग्छ सकिंदैन । किनकि, त्यसमा काल छैन ।

क्रिश्चियन वा इसाईबाट जीससका् नाम झिकेर हेरौं, इस्लामबाट मोहम्मदको नाम झिकेर हेरौं, जैनबाट महावीरको नाम झिकेर हेरौं र बौद्धबाट बुद्धको नाम झिकेर हेरौं, कसको अस्तित्व देखिन्छ ? देखिन्छ ? देखिंदैन । धर्म इश्वरीय हुनका लागि त्यसबाट काल र पात्र निकालिएको हुन पर्दछ । सभ्यताको शीरमा वा पुच्छरमा कहीं होस्, त्यो रीत चलिआएको मानिन्छ वा ठानिन्छ भने त्यो धर्म हो नत्र होइन ।

त्यसैले इसाईको चर्चअघिल्तिर गएर जीसस्लाई सम्मान दिनु, वा मस्जिदको अघि पुगेको बेला अल्लाहलाई सम्मानको नजरले हेर्नु, बौद्धको गुम्बामा पुगेको बेला ओम मणी पद्में हूँ भन्नु, वा देवी देवताको मन्दिरमा पुगेका बेला मनैदेखि आदरले प्रणाम गर्नु अहिले मेरा लागि धर्म हो ।

जीससलाई झुण्ड्याइएको क्रस चिन्ह वा इस्लामको अर्धचन्द्राकार संकेत वा ध्यानमग्न बुद्ध वा तेत्तिस कोटीमध्ये कुनै एक स्वरुपको हिन्दु भगवना, मलाई सब बराबर छन् । अन्धाले हात्ती छामेको जस्तो यसलाई यो यो जस्तो र उसलाई ऊजस्तो म भन्दिन । म त अहिले पनि भन्छु

“Some ‘Gods’ are made by human
But, human is not made by God.”
बसुधेव कुटुम्बकम ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् ।

२ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको