मङ्सिर २, काठमाडौँ । दाङबाट सल्यान हुँदै पश्चिम रोल्पाका लागि चल्ने रोडमा यातायात व्यबसायी समितिले केही स्थानमा थप गाडी चलाउन थालेका छन् ।
‘सल्यानका यातायात ब्यबसायी समितिको दादागिरीले यात्रुहरु बिचल्लीमा, प्रहरी बने मुख दर्शक’ भन्ने शिर्षकको समाचार २८ गते पोष्टपाटीमा प्रकाशित भएपछि त्यसको भोलिपल्टै २९ गतेदेखि सल्यान रुकुम यातायात व्यवसायी समितिले रोल्पा र सल्यान सिमानामा पर्ने झ्यामका लागी थप गाडी संचालनमा ल्याएको हो ।
सल्यान रुकुम यातायात व्यबसायी समितीका महासचिव अर्विन्द कुमार राईले यात्रुहरुको समस्यालाई ध्यान दिंदै सल्यान श्रीनगरबाट दमाचौरका लागि छुट्ने गाडीलाई कात्तिक २९ गतेदेखि रोल्पा र सल्यानको सिमाना झ्याम डाँडासम्म पठाइएको पोष्टपाटीलाई जानकारी दिए ।
सल्यान श्रीनगरबाट छुट्ने गाडी रोल्पा र सल्यानको सिमाना झ्याम डाँडामा आउन थालेपछि यात्रुलाई केहि सहज भएको सल्यान रुकुम यातायात व्यवसायी समिति झ्याम डाँडा काउन्टरका कर्मचारी टेकम चन्दले जानकारी दिए ।
चन्दले भने- ‘श्रीनगरबाट मात्र गाडी आएर यात्रुलाई सहज हुँदैन, सिधै दाङबाट दुईओटा गाडी रोल्पाको सुखाओडार लगाउनुपर्छ, अनि मात्र यात्रुलाई भनेजस्तो सुबिधा दिन सकिन्छ’, ।
रोल्पा र सल्यानको सिमाना झ्याम डाँडाका स्थानीय र ब्यापारीहरुले दाङबाट सिधै झ्याम डाँडासम्म अर्को गाडी गुडाउन माग गर्दै ३ वटा समितिलाई निबेदन दिएका छन् ।
एउटा गाडीमा दुई गाडी यात्रु यात्रा गर्न जोखिमपूर्ण भएकाले सल्यान रुकुम यातायात ब्यवसायी समिति, नमस्ते राप्ती यातायात प्रा.लि, राप्ती सार्बजनिक यातायात ब्यवसायी समितिलाई थप गाडीको माग गर्दै स्थानीय र ब्यापारीहरुले निबेदन दिएको स्थानीय खिमलाल ओलीले जानकारी दिए ।
रोल्पाको सुखाओडारबाट दाङका लागि छुट्ने गाडी झ्याम डाँडासम्म आउदा पुरै भरिएर आउने भएकाले झ्याम डाँडामा भएका यात्रुहरु गाडीमा उभिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयको भनाइ छ ।
उता दाङ-सल्यान-बागचौरबाट पातिहाल्न हुँदै लोद्चौरको लागि भने अझैसम्म एउटै गाडी मात्र संचालनमा आएकाले यात्रुलाई यात्रा गर्न असहज भएको स्थानीय प्रेम वलीले जानकारी दिए ।
यता पनि दाङबाट सिधै पाथीहल्ना स्कुलसम्म थप गाडीको आवस्यकता रहेको स्थानीयको भनाइ छ । लोदचौरबाटै गाडी भरिएर आउने भएकाले बिच बाटोमा यात्रुहरुलाई नचढाउने र चढाएपनि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
समितिले श्रीनगरबाट दमाचौर छुट्ने गाडीलाई रोल्पा र सल्यानको सिमाना झ्याम डाँडासम्मका लागि पठाए पनि अरु रुटमा भने नपठाएको स्थानीयको गुनासो छ ।
राप्ती सार्बजनिक यातायात ब्यवसायी समिति, सल्यान रुकुम यातायात ब्यवसायी समिति, शारदा यातायात प्रा.लि, सिस्ने हिमाल यातायात ब्यवसायि समिती, नमस्ते राप्ती यातायात प्रा.लि लगायतका यातायात व्यबसायीहरुले सल्यान, दाङ, रुकुम, जाजरकोट र पश्चिम रोल्पा चल्ने रोडमा केहि दिनअघि क्यु मिलान गरि गाडी संचालन गर्ने सहमती गरेपछि यात्रुहरु बिचल्लीमा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस