पासपोर्ट सपना र युवाहरु


जिवनको गति संगै एउटा बालक उमेर र व्यवहारले पनि युवा बन्दै गएको थियो..! देशको अवस्था र राजनैतिक अस्थिरताका कारणले गर्दा जनजिवन प्रभावित सबैको थियो । हजारौं चोट र ठक्कर खाएपछि अन्तिम विकल्प पार्सपोर्ट बनाउने लाइन मा त्यस युवा आफुलाई पनि समावेश गराउछ । जिवनका लक्ष्यमा आफुलाई खरो सावित गर्न र सरकारको गलत शासन प्रणाली र आर्थिक भारले उकुसमुकुस भएको एउटा युवा जुन नागरिकता लिएको दिन नै नागरिकतासङ्गै ३० हजार रुपैयाँ सरकारी रिण लिएर घर फर्किएको जोसिलो युवा आफैले आफैलाइ बेच्न बाध्य हुन्छ । देश मा राजनैतिक संघर्षकाको कार्यमा होस वा जनयुद्ध को संघर्ष मा होस । गोलिहरुका ति तातो रापलाइ अङ्गालेर हिडेको त्यो युवा आज पासपोर्टको लाइनमा भेटिन्छ । पासपोर्टमा पनि दलाल र दलालका मतियारहरुको नै मोज देखेर अचम्म मान्दै त्यो युवा सोच्दछ । ति महान बलिदान होस या शाहि सेनाको त्यो शारिरिक वा मानसिक कारवाही ।

वाह ! देश ले र जनताले र जनताको मुक्तिको लागि भनेर लडिएको लडाइँ होस । वा राजशाही शासन को बिरुद्ध मा लडेको १९ दिने जनआन्दोलन, हिजो राणाले बहुदलले राजाहरूले र राजाको भरौटेहरुले लुटिएको जनयुद्धको नाममा कसैको राजनितिक स्वार्थका लागि होस वा सात सालबाट सत्ता लिप्त हुदै आएको पुँजी पति वर्गको रापमा पिल्सिएको त्यो युवा आज पासपोर्टको लाइनमा भेटिन्छ । गाउँ गाउँमा सिँहदरबार भन्दै तत्कालिन सरकारको बिरुद्धमा युद्ध गरेको र जनता को मुक्तिको लागि लडेको युवा आज गाउँमा आएको सिँहदरवारको शासनले लगाएको बाख्राको कर र पानीको कर तिर्न बाध्यताले पासपोर्टको लाइनमा भेटिन्छ । भनिन्छ नि अलग धारमा बगेका नदिलाइ एक ठाउँमा ल्याउन सकिन्छ भने सिङ्गो गाउँनै सिँचाइको लागि योग्य हुन्छ । हो बाम गठबन्धनलाइ ठुलो उपलब्धी र देशले पनि विकास मुखि जलले सिँचाइ हुने आसमा रहेको युवा आज सरकार विरुद्धको नाङ्गो नाच हेरेर पासपोर्टको लाइनमा भेटिन्छ ।

मानव विकास सूचकांकमा पछि रहेको देशको एउटा युवा हातमा पासपोर्ट समातेर आफ्नै अगाडि बढिरहेको प्रदेशिको लासहरुलाइ नजरअन्दाज गर्न बाध्य भएर लाग्छ प्रदेश ! देशमा त राजनैतिक खिचातानीले मानसिकता नै बदलिएको युवा प्रवासको हालतले निरुत्साहित हुन्छ । दलाल र मानव तस्करहरुको सञ्जालले विछिप्त हुन्छ त्यो युवा । हजारौं माइलको यात्राबाट पनि जिवन र जनताको मुक्तिको निम्ति बिद्रोहको आवाज उठाइरहेको हुन्छ त्यो युवा । बर्ग संघर्षको नाममा लगाइएको नारा र जातिय पहिचान र जातिय विभेदको निम्ति लडेको त्यो युवा आज को वर्तमानलाइ नियाल्ने कोशिस गर्छ ।

हिजो सिद्धान्त र बर्ग संघर्षको नाममा गरिएको क्रान्तिले बर्षौंबाट थिचिएका र दबिएको आवाजहरु केहि बाहिर निस्किएको पक्कै हुन । तर आज सिद्धान्त गुमेर हो कि पथ भ्रष्ट भएर हो या बाहिरको हावा लागेर हो आपसमा नै लडेको देखेपछि मनमा लागेको बिभिन्न बिचारलाइ गुम्साएर छटपटीमा सरकार चलाउन भए पनि रेमिट्यान्सको जोहो गर्दै । ताता घाम र मरुभूमि नभनि मेहनत गरिरहेको हुन्छन । जब जब देश मा परिवर्तन को नाममा गरिएको आन्दोलन होस या संघर्ष नेपालको युवाले आफ्नो ठाउँ र बिचारबाट लडेको इतिहास साक्षी नै छ । जनयुद्ध र जनवादको लागि पनि युवा गोलि बन्दुक र शासकको बिरोधमा लडेका तिनै युवा आज पासपोर्ट रुपि नेपाल सरकारको कमाइको माध्यमबाट प्रवासमा बेचिन बाध्य छन् । सुनिन्छ सरकार र बामका प्रधानमन्त्रीले भाषणमा भनेको “युवाले देशको बागडोर सम्हाल्न पर्छ भनेको” तर बिडम्बना आर्यघाटमा पुगेपछि मात्रै कुर्सीको मोह छुट्ने हाम्रा नेताहरुको चिन्तनले युवालाइ कसरि अगाडि बढाउन सक्छ र ? १६ बर्षमा सैन्य तालिम आवश्यक भनेर एक ताका लडेका युवाहरु आज ५ हजार मा नक्कली प्रमाणपत्र लिएर खाडि भासिन बाध्य छन् ।

संघियतामा पहिचान सहितको प्रदेश र स्थानीय विकास र जनस्तरमा बृहत बिकास होला कि भनेर योगदान दिएका तिनै कुनै पार्टीको झण्डा लिएर हिड्ने युवाहरु आज पासपोर्टको लाइनमा भेट्न सकिन्छ । हुनत नेपाल जस्तो राज्य र राष्ट्रलाइ संघियताले नयाँ मोडालिटी देला भन्ने कुरा बालुवामा पानी खन्याउने बराबर हो । किनकि हिजो दमन, बिरोध, बिद्रोह र शोसकको बिरोधमा लडेका युवाको सोचलाइ पहिचानबादी नामका ढेकेदार परिमार्जन गरेर जातिय पहिचानको नाममा आपसमा जुदाउँदै छन । भन्न त सिद्धान्तमा भनिएको छ, कि विकसित राष्ट्र र जनताहरुले समय सापेक्षित रुपमा उत्पादन र प्रयोगका सामनाहरुलाइ जिवनस्तर हेरेर वा रोजगार व्यवसायी नागरिकले कर तिर्न अनिवार्य छ भनेर । हाम्रो देशको बर्तमान संघीयताले त्यो कुरो बुझ्न सकेन फलस्वरूप हुने खाने र हुदा खाने बिचको दुरि झन बढाएको छ । यस्को बिचको राप र ताप ले युवा पिडिलाइ प्रत्यक्ष असर परिरहेको छ ।

५५ डिग्रीको घाममा प्रवासमा खटिएको युवाले पनि देशको आर्थिक-सामाजिक परिवर्तन र विविधताको सु शासन चहान्छन । परिमार्जित कानुनले र सरकारले लगाएको कर सम्बन्धि सकारात्मक कुराहरुलाइ युवा शक्तिले सदैव उच्च नजरले हेरेको हुन्छ । तर डिग्री गरेको एक युवा पासपोर्टको सहयोगले खाडिमा पसिना बगाउन बाध्य हुन्छ र ८ क्लासमा अनुत्तीर्ण नेता नामका आसेपासेले बनाएको कानुनले देसलाइ कसरि बिधिको शासन प्रणालीमा ल्याउन सक्छ र ?

मार्क्सवादको चिन्तन धारि नेता र कम्युनिष्ट अवधारणालाइ बिचारको खोक्रो भाषणमा धर्म अफिम हो भन्ने हिजोका पश्चिमा दलालहरुको घरबाट बिहानै घन्टिको आवाज निस्किरहेको हुन्छ । सिद्धान्त र ति युवाको रगत उमाल्न गरिएको भाषण काठमाडौंको खाल्डोमा परेपछि समाधिमा लीन हुनु कस्तो बिडम्बना ति युवाहरुको लागी, जस्ले गलतलाइ गलत र सहिलाइ सहि भनेर दाजुलाइ सम्म जनयुद्धमा किन सुराकी गरिस भनेर गोलि ठोकेको थियो । राजनैतिक रुपमा होस या सङ्कटमा नेपाली युवाले देश र जनताको हितमा काम गरेको हुन्छ । भौगोलिक विविधता रहेको नेपालमा बाहिरी तत्त्वले आँखा गाडि रहेको समयमा सरकार भने प्रभुको दासत्वमा लागि परेर देशको झण्डालाई नै अपमान गरेर कार्यक्रम आयोजना गरिरहेको हुन्छ । पछि त्यै सरकारले ऐनमा लेखिएको छ झन्डाको स्वरुप र अपमान गरे अपराध हुनेछ भनेर । लाखौं सङ्ख्यामा बाहिरीएको युवा सरकारले तत्काल र दिर्घकालिन भविष्यको लागि देशमा रोजगारको स्थिति सिर्जना गर्न सके साच्चै नै ति युवाको लागि गरिएको फोस्रो भाषणले औपचारिकता पाउने थियो कि ? सरकार
समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा नेपाल मा स्थाइत्व र दिर्घकालिन शान्ति को लागि युवा लाइ पासपोर्ट विहिन र पासपोर्ट लाइ मानव वेचविखन को लाइसेन्स नबनाउने हो भने मात्र नेपाल मा र नेपाली जनता को लागि युवा हरु ले केहि गर्न सक्नेछन ।

नोट: लेखकको आग्रहमा तस्विर र परिचय लुकाइएको छ-

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको