युएई बरदुबईको लव डाँडामा नेपालीहरुको ‘रामलिला’


पृथीछक बुढा मगर/मङ्सिर १, युएई । नेपालीहरु विदेश आएर जुन कुरा सिक्नु थियो, कम सिके जस्तो तर जुन कुरा सिक्न जरुरत थिएन, केहि बढी सिके जस्तो ।

आब्राको नजिकै हिन्दु मन्दिरको नजिकै नेपाली चोक छ । नेपाली चोकको नजिक नेपाली लव डाँडा छ । हरेक शुक्रबार यहाँ मेला जस्तै लाग्छ । चाहे गाउँवाट आएको कुनै साथी होस । चाहे स्कुलको पुरानो साथी होस । चाहे घरवाट आमा वा श्रीमतीले साथीको हातमा पठाईदिएको पार्सल लिन जाने काम होस । अथवा सामाजिक संजालवाट नव परिचित युवा युवती होउन । भेटघाटको चाजोवाजो मिलाईन्छ । कहाँ भेट्ने ? उत्तम त्यही नेपाली चोक वर दुवईमा ।

नेपाली चोक वरपर अहिले लगभग एक दर्जन भन्दा बढी नेपाली रेष्टुरेन्ट, पसल, ट्राभल एजेन्सीहरु खुलेका हुनाले नेपालीहरुको लागि झन एक तिर दुई सिकार भएको छ । वर दुवई आयो, नेपाली स्वादको तलतल लागिरहेको वेला मम, चाउमिन, छोईला, सुकुटी, गुन्द्रुक, ढिडो, दालभात गजवले चाख्न पाइन्छ । रङ्गिलाहरुको लागि नेपाली दोहोरी साँझहरु पनि छन् ।

नेपालीहरुलाई प्राथमिकतामा राखेर खुलेका पसलहरु नेपालीहरुकै कारणले राम्रै व्यापार फस्टाएको बुझ्न सकिन्छ । नेपाली चोक वरपर खुलेका रेष्टुरेन्टहरुमा शुक्रबार त खुट्टा टेक्ने ठावै हुँदैन । तर अन्य दिनमा भने खासै ब्यापार हुदैन । एक हप्ताको व्यापार एउटै शुक्रबारवाट परिपुर्ति गर्न सकिन्छ भनेर ब्यबसायीहरु बताउँछन् । नेपाली चोकमा आउने नेपालीहरु प्रायः गरेर त्यही वरपर खुलेका नेपाली रेष्टुरेन्टमा नेपाली खानाको स्वाद लिन चुक्दैनन् । त्यहाँ नेपालीपन हुन्छ । नेपाली मन हुन्च । सानो नेपालमा प्रबेश गरे झैँ लाग्छ ।

सन २००४ तिर साठ्ठी सत्तरी हजारको हाराहारीमा थिए नेपालीहरु । महिलाहरुको उपस्थिति त झन थिएन भन्दा पनि हुन्छ । कमै हुन्थे नेपाली चोकहरुमा पनि मान्छेहरु । अहिले नेपालीको संख्या चार लाख पुगेको अनुमान गरिन्छ । महिला र पुरुषको संख्या लगभग वरावरी देख्न सकिन्छ । पहिले सिडि र भिसिडिका प्रतिलिपिहरु वेच्थे । अहिले जमाना फेरिएको छ । अहिले यहाँ नेपालीले सिडि र भिसिडी वेच्दैन । वालुवामा आफैले उब्जाएको नेपाली सागसब्वी र चटपटे र सुकुटीहरु बेचिन्छ ।

हरेक शुक्रबार म नेपाली पार्क नपुगेको हप्ता छैन । लव डाँडाहरुमा पनि पुगिरहन्छु । ११ महिना पहिले अज्ञात समुहको हातवाट रड खाएर पछाडी टाउकोमा चार टाँका लागेपछि भने म अबेला एक्लै त्यहाँ जाँदैन ।

के देखियो त लव हिलमा ?

फोटोको पृष्ठभूमिमा रहेको औला उठाउने र साधा चस्मा लगाएको मान्छे मै हुँ । कुनै वेला यसैको एउटा छेउमा अज्ञात समुहले टाउकोमा रड बजारेर भागेका थिए । मेरो पछाडीको दृश्य नै लव हिलको बास्तविक दृश्य हो । गैरकानुनी रुपमा खुल्ला सार्वजनिक स्थलहरुमा मदिरा पिउनु यहाँको कानुन विपरित कार्य मानिन्छ । एउटा तथ्यांक अनुसार युएईको जेलमा रहेका अधिकांश नेपालीहरुको कसुर मदिरापान नै देखिएको छ ।

वाटो पारी रुख मुनि पिच्चेका जोडीहरु परैबाट देख्न सकिन्छ । मान्छेहरु हेर्दा पाकेका लाग्थे । त्यहाँ सुरापानीमा डुबुल्की मारिरहेका नौ जवानहरुको गतिबिधी देखिन्छ । के युवा, के युवती ? हालत सवैको उस्तै छ । तपाईं पनि गएर हेर्न सक्नु हुन्छ, शुक्रवार दिउँसो दुई तीन वजे देखि त्यहाँ के के हुन्छ ?

मान्छेलाई मदिरा नपिउने भनिएको होइन, भनाईको तात्पर्य मान्छेले मदिरा पिउने हो, न कि मदिराले मान्छेलाई पिओस । धेरै नेपाली युवायुवतीहरुलाई मदिराले पिएको देखेको छु । कयौंलाई प्रसासनले पक्रेको देखेको छु । यसले नेपाल र नेपालीको गरिमामा धक्का पुग्छ कि पुग्दैन ? नसोची हुँदैन ।

लव डाँडाका दृश्यहरु

दृश्य न. १- केहि समय अगाडी नेपाली चोकको साइकल पार्किङमा उभिएर नेपाली अनुहारहरु नियालिरहेको थिएँ । पार्कमा अस्वभाविक किसिमले भिड लागेको थियो । एउटा पुलिस भ्यान र एउटा एम्बुलेन्स आईपुगेको थियो । त्यहाँ पात्रहरु तीन जना थिए । दुईजना पुरुष अनि एउटी महिला । एकजना पुरुषको निधारमा सेतो पट्टि बाँधिएको थियो । मनमनै सोचें, जरुर केही गडबडी छ । बुझ्दै जाँदा कुरोको चुरो पत्ता लाग्यो ।

नेपाली पुरुष र लगभग दुई बीस पार गरेकी महिलाको विचमा प्रेम भएको रहेछ । पछि महिलावाट धोका भयो र छुटे । यस्तै वेला उक्त महिलाले एकजना पाकिस्तानीसंग सम्बन्ध बढाएको रहेछ र प्रेमप्रेमिकाको रुपमा विचरण गर्न आएका रहेछन् नेपाली चोकमा । ठिक त्यसै वेला महिलाको पुर्व प्रेमी आफ्नो साथीहरुसंग पार्कमा भलिबल खेलिरहेका थिए । यसैवेला वल उफ्रेर नेपाली पार्कमा विचरण गरिरहेका जोडिलाई लागेछ ।

वल लिन जाँदा नेपाली केटाले आफ्नो पुर्ब प्रेमिकालाई पाकिस्तानी नागरिकसंग देख्यो । जब नेपाली केटाले आफ्नो पुर्व प्रेमिकासंग नेपाली भाषामा केही वोलेको हुन्छ तब पाकिस्तानी केटाले आफ्नो प्रेमिका अरु कोहिसंग वोलेको सहन सक्दैन । नेपाली केटासंग क्रोधित हुन्छ तब आफ्नै पुर्व प्रेमिकालाई आफुवाट खोसेको झोंकमा नेपाली केटाले रिस पोख्छ । पाकिस्तानी केटा रक्ताम्य हुन्छ तब केटीले पुलिस बोलाएको रहेछ ।

झगडा हेर्न त्यहाँ नेपालीहरुको बाक्लो भिड लागेको थियो । नेपालीहरुको भिडमा कुनै महिलाको आवाज सुनियो, `हामी महिलाहरु नै ठिक छैनौं । दुई दुईवटा केटा च्यापे यस्तो नभएर कस्तो हुन्छ ? महिला ठिक ठाउँमा बस्न सक्नुपर्छ ।´ यसो टाउको घुमाएर हेरेको नेपालीहरुको विचमा चिरपरिचित चटपटेवाली चेली रहेछ । उ सधै नेपाली पार्कमा `चट्पटे खानु हुन्छ ?´ भनेर सोधिरहन्छ । उसले महिलालाई देखाए । तर म भन्छु, प्रश्न दोषी महिला वा पुरुषको होइन, । प्रश्न त्यहाँ नेपालीको शिर झुक्यो भन्ने हो । किनभने त्यो नेपाली चोक हो ।

दृश्य न. २- नेपालीहरुको गतिबिधी नियाल्न नेपाली चोक जानैपर्छ कि लव डाँडा । यो पनि केहि समय अगाडीको कुरा हो । साइकल पार्किङमा तहलिरहेको वेला पौने चार बजेतिर त्यहाँ कसैको कर्कश आवाज निकालेर बाझिरहेका सुनें । बिस्तारै नेपालीहरुको भिडले उनिहरुलाई घेर्न थाल्यो । दृश्यमा अबरोध पुगेपछि म पनि त्यसै भिडमा नमिसी भएन ।

त्यहाँ दुई महिला लुछालुछ गरिरहेका थिए । विचमा एउटा पुरुष खडा थियो । पछि दुवै तर्फका साथीहरु मिलेर छुट्टाए । विचरी लुरी ज्यान भएको महिलाको चुल्ठो उखेलिएर उसको दायाँ पुन्पुरो कसो रित्तै नभएको । उसको एक मुठ्ठा चुल्ठो पार्कको दुवोमा लत्रीएको थियो । यो चाहिं एउटा केटीको एउटा केटा परेको काण्ड थियो । पुरुष लगभग पैंचालिस उभो लागेकै मान्छे थियो । लाग्छ, उसको नातिनातिनाको सुख भोग्ने उमेर पनि भईसक्यो । तर आफुलाई ठिम्मर ठिटो मान्थ्यो सायद आफुलाई ।

दृश्य नं. ३- केहि दिन अगाडी जसै दिन ढल्किदै गयो, तव लव डाँडामा अन्य हप्ताको जस्तै रमिता शुरु भयो । मातिएका युवाहरु विच तानातान र हात हालाहालको स्थितीमा पुगे । कोलाहल मच्चिंदा त्यहाँ मानिसहरुको भिड लाग्यो । त्यस भिडको छेउमा कोहि वोलेको सुनें, ‘नेपाली लोग यैसे है ।’ खिस्रिक्क भएँ । जवाफ दिने भनेर भिड्ने दाउँ खोजिरहेको थिएँ तर यसले पनि पिएको रहेछ झगडा गरयो भन्ठानलान भनेर मुखमा बुजो लगाएँ । आखिर बदनाम कस्को ? नेपालीको । बोल्ने ठाउँ छैन ।

दृश्य नं. ४- जव राती मेरो साथीसंग पार्कवाट निस्किनै लाग्दा झट्ट हाम्रा आँखाहरु चौरमा यत्रतत्र फिंजारिएर रहेका र दिनै भरि मानिसले खाएका फोहरमा पुगे । अझै हामीले सभ्यता राम्रोसँग सिक्न बाँकी रहेछ भन्ने कुराको बोध गरायो उक्त दृश्यहरुले । हरेक ठाउँमा पानीका बोटल देखि कोकाकोला र अरु चीजका फाल्टु चीज फ्याँकीएका थिए । कुन चिज कहाँ फ्याँक्नु पर्छ भनेर स्थान निर्धारण गरिएको भए पनि थाहा नपाए जस्तो कति लाचार र बेसरम हुँदै यत्रतत्र फ्याँकीरहेका हुन्छौं । जस्ले हाम्रो नेपालीहरुको सभ्यता र अनुशासनलाई दुनियाँको अगाडी दज्जी उदाएको छ ।

नेपालीहरु विदेश आएर जुन कुरा सिक्नु थियो, कम सिके जस्तो तर जुन कुरा सिक्न जरुरत थिएन, केहि बढी सिके जस्तो । अझै हामीले सभ्यता राम्रोसँग सिक्न बाँकी रहेछ भन्ने कुराको बोध गराउँछ । हाम्रै चरित्रले हामीलाई समाजमा खलनायक वनाएको छ । हामी नेपाली बन्न सिकौं र अशल नेपाली बनेर आफ्नो सभ्यताको परिचय दिऔं । म यति नै भन्न सक्दछु । बाँकी आफ्नो मर्जीको मालिक हुनुहुन्छ ।

२०७५ मंसिर १,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको