असोज ३०, काठमाडौं । देशका विभिन्नस्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । चितवन ईच्छाकामाना गाउँपालिका ४ स्थित सडकमा पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बर मारुती भ्यानलाई बा१ घ ५६५ नम्बरको ट्याङ्करले बुधबार ठक्कर दिँदा भ्यानमा सवार ४ जना र ट्याङ्करमा सवार ३ जाना गरी जम्मा ७ जना घाइते भई उपचारको लागि भरतपुर जिल्ला अस्पताल लगिएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ कल्लेरीका २५ वर्षीय चन्द्रबहादुर नेपाली, १२ वर्षीय रोशन गैरे र सनाखत हुन नसकेका एक पुरुष रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर, मनकामना अस्पताल भरतपुर र गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
रुकुम पश्चिम मुसीकोट नगरपालिका १ स्थित सडकमा सल्ले बसपार्कबाट खलङगातर्फ जाँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर मंगलबार दुर्घटना हुँदा बसमा सवार ९ वर्षीय परेश बिसीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २ जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछाप खाँडादेवी गाँउपालिक ३ भिरपानीस्थित सडकमा काठमाडौंबाट गाल्पातर्फ जाँदै गरेको बा ३ ख ४६७५ नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर मंगलबार दुर्घटना हुँदा बसमा सवार सोही गाउँपालिका ७ पिप्लेका ९ वर्षीया अदिक्षा घिसिङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक सहित ६ जनाको धुलिखेल अस्पताल, ८ जनाको नर्भिक अस्पताल थापाथली, ५ जनाको केएमसी अस्पताल सिनामंगल र १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस