असोज १, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र उनको अभिव्यक्तिको बचाउ गरेकी छन् । पार्टी अध्यक्षसमेत रहेका ओलीले तत्कालीन नेकपा माओवादीका नेता पोस्टबहादुर बोगटीको स्मृतिसभामा दुई दिनअघि दिएको अभिव्यक्तिको उनले बचाउ गरिन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद भुसालले प्रधानमन्त्रीले प्रतिपक्षीबारे नबोलेको अवस्थामा प्रतिपक्षीहरुले अनावाश्यक उछालेको आरोप लगाइन् ।
प्रधानमन्त्रीले सरकारविरुद्ध चौतर्फी आक्रमण हुँदा प्रतिवाद नगरेको भन्दै पार्टीका नेता-कार्यकर्तामाथि आक्रोश पोखेका थिए । उनले सरकारविरुद्ध भएको आक्रमणको अरिंगाल जस्तै संगठित भएर प्रतिवाद गर्न निर्देशन दिएका थिए ।
‘एउटा अरिङ्गललाई चलाउँदा सिंगै गोलो खनिन्छ तर हामीसँग अरिङ्गलको जति पनि बुद्धि छ कि छैन ?’, सभामा बोल्दै प्रधानमन्त्रीले भनेका थिए, ‘अब त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा दुईटा अरिङ्गल मार्दा ठीकै छ भन्दै सहेर बस्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?’
ओलीको बचाउका क्रममा नेकपा नेतृसमेत रहेकी भुसालले देशभर भएका अपराध, हत्या हिंसा र बलात्कारका घटनालाई जोडेर अनावश्यक रुपमा सरकारको बदनाम गर्न खोजिएकाले पार्टीले त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई लक्षित बोलेको कुरालाई प्रतिपक्षीले उल्टो ब्याख्या गरेर अनावाश्यक उछालेको बताइन् ।
नेतृ भुसालले प्रतिनिधि सभामा बोल्दै अदालतप्रति पनि निशाना साँधिन् । उनले लोकतन्त्र र जनमतलाई अदालतले सम्मान गर्न नसकेको आरोपसहित कडा अभिव्यक्ति दिइन् ।
उनले अदालतबाट सरकारका केही काममासमेत बाधा अवरोध भइरहेको बताइन् । अदालतले सरकारको काममा रुकावट ल्याए गम्भीर दुर्घटना हुने समेत चेतावनी दिइन्, अन्नपुर्ण पोष्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस