असोज १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’लाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चले बाटोको म्यादबाहेक तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित प्रकाण्डलाई सर्वोच्चमा पेश गर्न सरकारको नाममा आदेश दिएको हो ।
गैरकानूनी रुपमा गिरफ्तार गरी गैरन्यायिक तरिकाले सरकारले थुनामा राखेको भन्दै तत्काल रिहाईको मागसहित प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।
प्रकाण्डलाई निर्वाचनकाबेला चैत्र २८ गते त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा बम बिस्फोट गराएको आरोपमा उदयपुरमा प्रहरीले मुद्दा चलाएको छ ।
उनलाई काठमाडौंको सर्वोच्च अदालतको परिसरबाट शुक्रबार पक्राउ गरी आइतबार जिल्ला अदालत उदयपुरमा उपस्थित गईराएको थियो । जिल्ला अदालत उदयपुरले प्रकाण्डलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस