छोरीहरु संस्कारका पहरेदार ! छोराहरु सम्पतिका हकदार !


कमला भट्टराई । छोरी भएर जन्मेको म । बाल्यकालमा चेत खुल्ने बेलादेखि म सधैं रुने गर्थे । म रुँदा आँशुबाट प्रश्नहरु बग्थे, म किन छोरा मान्छे भएर जन्मिन सकिन ? आमाबुबाले मलाई किन छोरा बनाएर जन्माउनु भएन ?

म प्राय यस्तै कल्पनामा दिनहरु काट्थे, कयौं रातहरु बिताउथे ।

म अनारी चेतबाट ब्युझदै गर्दा छोरा र छोरी बीच विभेदको एउटा संसार थियो । छोरीहरु संस्कारका पहरेदार ! छोराहरु सम्पतिका हकदार !

छोरी त अर्काको घरजाने जात ! अर्काको घरजाने जात आमाबाबाको नजरमा पनि त्यति प्यारो हुँदो रहेनछ । छोरीहरु आमा बाबाको नजरमा त्यति मुल्यवान थिएनन ।

त्यसैले होला त्यस्तो अर्काको घर जाने जातलाई शहरको राम्रो बोर्डिंगमा पढाएर पनि के पाउनु छ र ?

सम्पतिको हकदार छोरालाई पो राम्रो स्कुलमा पढाउनु पर्छ । आफ्नै घरमा हक जमाएर बस्ने जातलाई पढाए ठूलाठूला लड्डुका डल्ला दिनेछन । त्यसैले छोराको जातलाई आमाबाबाले दिने अनमोल मायाको मापन हुने कुरा पनि भएन।

कल्पना गर्छु…, सबैभन्दा ठूलो कुरा त म छोरा हुन्थे भने मेरो सोंच नै परिवर्तन हुन्थ्यो, अनि म संग दम्भ र घमण्ड हुन्थ्यो, त्यसैले प्रफुल्लित हुन्थे । खुल्ला आकाशमा मालचरी झैँ दुनियाँ भरि घुम्थे । न डर हुन्थ्यो न कर हुन्थ्यो ।

म छोरा भए आफुलाई गर्व यो अर्थमा गर्थे कि, बाउको अपुतालीको रक्षक हुँ । त्यसैले त छोराहरु संग घमण्ड छ, दम्भ छ र छोरी मान्छे संग केवल निरीहता छ, अनि सुन्य भ्यालु छ ।

जब-जब म ठुली हुँदैगए, बुझ्ने भए, तब-तब छोरी हुनुको दुर्दशा भोग्दै आए । धर्म र संस्कारले जकडिएको त्यो समाजले पनि म जस्तै छोरीहरुलाई अंकुशको लगाम लगायो ।

संस्कार र संस्कृतिको शास्त्र बोकेर हिडेको समाजमा छोरीहरुले संस्कारी परिचयपत्र बाँडदै हिड्नु पर्यो । संस्कारको लगाममा छोराहरु हिड्नुपर्ने बाध्य थिएन ।

छोराहरुले जेसुकै गरेपनि मर्दको उपमा बन्थ्यो तर हामी छोरीहरु भने कु-लक्षिण भन्दै उपहास हुनुपर्थ्यो ।

पहिलोपटक महिनावारी हुदा संस्कारको लगाममा चल्न सिकाएको यो समाजले अछुत भिराउन सुरु गर्यो । मान्छेले मान्छेलाई नछुने विभेदको त्यो क्षण देखि घर र माइतीको सिमा रेखा भेटिन थाल्यो । हामी छोरीहरुलाई माइतीको सीमारेखा भित्र बाँधि दियो, मानौं त्यो दिन देखि अब आफ्नो जन्म घर पराई भयो ।

छोरीहरुको अंगमा बिकशित हुने प्राकृतिक परिवर्तन नै आफ्नो गलपासो बनाइयो । अनि छोरी रजस्वला हुँदा माइतिको अनुहार हेर्न हुदैन भन्दै अरुको घरमा लगेर लुकाइयो । जतिबेला छोरीहरु अपवित्र भए, अछुत भए ।

अपवित्र छोरीले केहि बस्तु छुने कुरा त टाढाको कुरा भयो नै, हुँदाहुँदा आफ्नै जन्म दिने बाबाको अनुहार हेर्न मिल्दैन रे ! दाजुभाइहरुको अनुहार हेर्न पाप लाग्छ रे ! झुक्किएर हेर्यो कि सात जन्म कुकुर होइन कुकुर्नी भइन्छ रे !

यस्तै त्रासदीपूर्ण भोगाइमा हुर्केका हौ छोरीहरु ।

महिनावारी भएपछी, आमाले भन्नू भएको थियो ‘अब छोरीमान्छे सुरक्षीत हुनुपर्छ, पहिले जस्तो हिड्नु, डुल्नु हुन्न । आफ्नो शरीर आफै जोगाउनु पर्छ । आमाले दिएको अर्थिउपदेश सुनेर कहि-कतै जान मन भएन र हिडिएन पनि ।

यति सम्मकी आफ्ना साथिभाईहरु समेत भेटिएन । आफ्नो शरीर जोगाउन चनाखो भएर बस्नु पर्यो । हामीमाथि कतिबेला आक्रमण हुन्छ । कस्ले के पो गर्ने हो कि ! यसरि क्षण-क्षणमा डराई हिड्नु पर्दा आत्मगत रुपमै कमजोर भयौ । जवकी आत्माबाटै कम्जोर चिज शारीरिकरुपमा कसरि बलियो हुन सक्थ्यो त ?

यस्तै कारण आफू छोरी भएर जन्मिएकोमा सारै दुख लागेर कयौं पटक रोएको छु । सायद अरु छोरीहरु पनि रोएका होलान ।

शिक्षित भनिने मानिसको मुखबाट पनि छोरीहरु सामाजिक संस्कारका गहना मात्र हुन्, जुन बस्तु सजाउन र खेलाउन मात्र प्रयोग गरिन्छ, उनीहरु कमजोर हुन्छन, जस्तै गरि परिभाषित गरिन्थ्यो र अझै गरिन्छ ।

फलस्वरुप, सन्तान जन्माउन मेसिन बनाइएका आमाहरूलाई छोरा जन्माउन बाध्य पारिन्थ्यो । समाजले छोरी जन्माउने आमाहरु उपेक्षा गर्यो । छोरा जन्माउने आमाहरुको सान दियो । अर्थात असल समाज भनिने त्यो समाज पुरुषवादको चाकडीमा रचना गरिएको थियो ।

छोरा नजन्माएर अपुताली हुनै लाग्दा छोरीहरुको आमामाथि सौता हालिन्थ्यो, त्यो केवल छोरा जन्माउनलाई थियो ।

यस्तै दृश्य देखेर, धेरै पटक म छोरा हुन चाहन्थे । अहिले पनि उस्तै परिपाटी बोकेको समाज छ । जुन समाज पुरुषवादको मेन्टलले निर्देशित छ । यसको अन्त्य छोरीहरुले नै गर्नुपर्छ ।

१ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको