कात्तिक ३०, रोल्पा । रोल्पा नगरपालिकाको कार्यालय रोल्पाले नगरक्षेत्रका बेरोजगार युवाहरुलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रम सन्चालन गर्ने भएको छ । बिहिबार नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
नगरपालिकाले ४५ लाखको बजेट युवा स्वरोजगार कार्यक्रमका लागि बिनियोजित गरेको छ । नगर प्रमुख पूर्ण केसीले भन्नुभयो नगरक्षेत्रका बेरोजगार युवाहरुका लागि सीप मुलक कार्यक्रम तर्फ नगरपालिकाले विशेष चासो दिनेछ ।
नगर प्रमुख केसीका अनुसार पलम्बीङ, ड्राईभिङ, ईलेक्ट्रीसियन, सिकर्मी, डकर्मी, लोकसेवा तयारी कक्षा, होजियारी लगायतका सीपमुलक कार्यक्रमहरु प्रदान गर्ने बताउनुभएको छ ।
युवाहरुका लागि सीपमुलक कामहरु भएमा उनीहरुको क्षमता अभिबृद्धि हुने र जुन स्थानमा पनि आफैं क्षमतावान बनेर काम गर्न सक्ने विकास गराउने उदेश्यका साथमा सीपमुलक कार्यक्रम लागु गर्ने नगर प्रमुख केसीले बताउनुभयो ।
नगरपालिकाका १० वटै वडाबाट युवाहरुलाई छनौट गरेर उनीहरुको क्षमता, दक्षता र चाहना बमोजिमका सीपमुलक तालिम दिने नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको छ ।
यसैवीच यस आर्थिक बर्षको कार्यक्रमअनुसार माघको १५ गते कृषि मेला प्रदर्शनीको तयारी गरिने भएको छ । कृषि र पशुको क्षेत्रमा कार्यरत कृषकहरुको विकास र उनीहरुको कार्यलाई प्रोत्साहन दिने उद्देश्यका साथमा कृषि मेला प्रदर्शनी गर्ने कार्यपालिकाले निर्णय गरेको नगर उपप्रमुख मनकुमारी घर्तीमगरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस