असोज ३०, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका अवसरमा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ ।
विभागले मंगलबार फूलपातीका दिन काठमाडौं उपत्यकामा २ टोली परिचालन गरेर अनुगमनलाई निरन्तरता दिएको महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
विभागबाट शाखा अधिकृतको नेतृत्वमा खटिएको सो टोलीले नयाँ सडक क्षेत्रका होटल, रेस्टुराँ र कलंकीस्थित खसी बजारको अनुगमन गर्दा नयाँ सडकको एक जुस पसलले सडेगलेका फलफूलको जुस बनाएर बिक्री वितरण गरेको पाइएको थियो । पसलका सञ्चालकलाई दशैं बिदा सकिएलगत्तै आवश्यक कागजातसहित विभागमा स्पष्टीकरण पेश गर्ने निर्देशन दिइएको महानिर्देशक गौचनले जानकारी दिए ।
नेपाल खाद्य संस्थानले काठमाडौं उपत्यकामा बिक्री गर्न ल्याएका खसीबोका तथा च्यांग्रा सकिएपछि निजी क्षेत्रका व्यापारीले चर्को मूल्यमा चौपाया बिक्री गर्न सक्ने भन्दै विभागको टोलीले कलंकीको खसी बजारको समेत अनुगमन गर्यो । अनुगमनमा पुरानै दरमा खसीबोका बिक्री गरेको पाइए पनि खसीबोका व्यवसायीसँग छलफल गरी मूल्य नबढाउन निर्देशन दिइएको उनले बताए ।
कलंकीस्थित भाटभटेनी स्टोरले च्याउ महंगोमा बिक्री वितरण गरेको भन्ने हेलो सरकारमा परेको उजुरीमाथि पनि विभागको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा किसानसँग खरीद गर्दा नै च्याउको मूल्य बढी परेकाले केही मूल्य बढाएर बिक्री वितरण गरिएको भाटभटेनीले जानकारी गराएको महानिर्देशक गौचनले बताए । भाटभटेनीलाई पनि कार्यालय खुलेका दिन आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस