प्रदेश-५ मा नेकपा एकता: रोल्पा-रुकुमको नेतृत्व माओवादीलाई


साउन ३१, काठमाडौँ । एकताको तयारीमा रहेको नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्रले प्रदेश-५ मा एकताका लागि भागबण्डा टुङ्ग्याएका छन् ।

जस अनुसार पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ ।

जस अनुसार १२ जिल्ला रहेको प्रदेश– ५ का ७ जिल्लाको नेतृत्व (अध्यक्ष) पूर्व एमालेको तर्फबाट हुनेछन् भने माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउनेछ ।

एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङ छन् । माओवादी केन्द्रले रुकुम (पूर्वी भाग), रोल्पा, बाँके, बर्दिया र नबलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को भाग पाउने भएको छ ।

यसैगरी प्रदेश-५ को प्रदेश कमिटीको आकार र भागबण्डा पनि दुबै पक्षले टुङ्ग्याएका छन् । जस अनुसार प्रदेश-५ मा नेकपाको प्रदेश कमिटी २ सय ३ सदस्यीय हुनेछ, जहाँ पूर्व एमालेबाट १ सय ६ र पूर्व माओवादी केन्द्रबाट ९७ जना हुनेछन् ।

प्रदेश अध्यक्षका लागि पूर्व एमालेबाट दलबहादुर राना र सचिवका लागि पूर्व माओवादी केन्द्रबाट गणेशमान पुनको नाम सिफारिस भएको छ । प्रदेश स्तरमा पार्टी एकताका लागि गठन गरिएको कार्यदलले बिहीबार महासचिव बिष्णु पौडेललाई बुझाएको छ ।

३१ श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको