जनप्रतिनिधिले डोजर किनेर सडकको ठेक्का आफैं लिएका गुनासाहरू आए: प्रधानमन्त्री


साउन ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधिले उपभोग गरेका सुविधाको विषयमा चासो व्यक्त गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो व्यक्त गरेका हुन् । स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधिहरूलाई प्रधानमन्त्रीले आग्रह गरे ।

‘कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले महँगा गाडी किनेको, कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरू आएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू जनप्रतिनिधि हो । त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस् । जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रीत हुनुहोस्।’

कतिपय सुविधा कानूनले दिएको भनेर त्यसै अनुसार उपभोग नगर्न प्रधानमन्त्री ओलीले सजग गराए । राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउँदै त्यस्ता सुविधालाई अत्यावश्यक बाहेक अहिले त्याग गरेर जनताको मन जित्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले गाउँपालिकाका जनप्रतिनिधिलाई देश निर्माणको ठूलो जिम्मेवारी रहेको बताए । उनले गाउँपालिका दुर्गम ठाउँमा हुने, साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता रहेको जनाए ।

‘जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरू नै हो’, उनले भने, ‘दुर्गमका बस्तीहरू, राज्यको सेवा सुविधा नपुगेका जनताहरूमा तपाईंहरूले नै सेवा प्रवाह गर्ने हो ।’

स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा विशेष ख्याल गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

३१ श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको