पहिलो हाफमा अर्जेन्टिना र आइसल्याण्डको १-१ बराबरी


असार २, काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत शनिबार साँझ भएको खेलको पहिलो हाफमा मेसीको टिम अर्जेन्टिना र विश्वकपमा डेब्यु गरेको आइसल्याण्डले बराबरी खेलेका छन् ।

मेसीको टिम अर्जेन्टिनाले खेलको १८ औँ मिनेटमा लिएको अग्रतालाई आइसल्याण्डले २३ औँ मिनेटमा रोकेको हो । अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए । अर्जेन्टिनाले गोल गरेको पाँच मिनेटमै आइसल्याण्डले बराबरी गोल गरेको हो। फन्नबोगासनले २३ औँ मिनेटमा आइसल्याण्डका लागि गोल गरेका हुन् ।

आइसल्यान्ड त्यही टोली हो, जसले दुई वर्षअघि आफ्नो ‘डेब्यु’ प्रतियोगिता युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो । समूहगत चरणको पहिलो खेलमै पोर्चुगललाई १–१ को बराबरीमा रोकेको आइसल्यान्डले प्रिक्वार्टरफाइनलमा त इङ्ल्यान्डलाई नै पराजित गरेको थियो । आजको खेलमा समेत आइसल्याण्डले राम्रो खेल प्रदर्शन गरेको छ ।

खेल हेर्दा दोस्रो हाफमा आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित नतिजा निकाल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यो नतिजाले विश्वकपको उपाधि जित्दै पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा दर्ज हुने लियोनल मेसीको अन्तिम प्रयासमाथि पनि ठूलो धक्का दिन सक्छ ।

क्लब फुटबलमा बार्सिलोनाबाट कुनै पनि कीर्तिमान आफ्नो नाममा ल्याउन बाँकी नछोडेका मेसी उमेर र राष्ट्रिय टोलीबाट निरन्तरको असफलताका कारण सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन् ।

ब्राजिलमा भएको गत २०औं विश्वकपमा उनले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए । तर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मेसीले देशलाई उपाधि भने दिलाउन सकेनन् । अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० गोलले पराजित भएको थियो ।

२ असार २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको