नेपालमा किन पर्‍यो ‘हिलो’सहितको पानी, आयो मौसमविदको प्रतिक्रिया


असार २, काठमाडौं । पार्किङ गरेर राखेको मोटरसाइकल वा गाडीमा आज बिहानै हिलो देख्नुभयो ? हिजाे राख्दा राम्रै भएको गाडी वा मोटरसाइकलमा हिलो कहाँबाट आयो भनेर अचम्ममा पर्नुभयो ?

भूइँमा भएको धुलो पो उछिट्टिएर हिलो भयो कि भन्ने सोच्नुभयो कि ? तपाईँको गाडी वा मोटरसाइकलमा भूइँको हिलो लागेको होइन । शुक्रबार राति हिलोसहितकै वर्षा भएकाले त्यसो भएको हो ।

मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति पनि पानी पर्‍यो । तर, पानी अरु दिनको जस्तो सफा थिएन । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा परेको पानी धमिलो थियो । धेरैले ठाने, हिलोसहितको पानी बर्सियो ।

हामीले यसबारे मौसम पूर्वानुमान महाशाखामा बुझ्यौं । मौसमविद सुभास रिमालका अनुसार यस्तो वर्षात वायु प्रदुषणका कारण हुन्छ ।

भारतका बिभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको थियो । सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडायो । र, धूलोका कणहरु वायुमण्डलमा फैलिएर नेपालको आकाशसम्म आइपुग्यो । राति पानी परेपछि हावामा रहेको धूलो पनि पानीसँगै खस्यो । जसले पानीलाई धमिलो बनायो ।

‘यो नेपालको प्रदुषणका कारण भएको होइन, राजस्थानको मरुभूमिको धुलो नेपालको आकाशसम्म फैलिएकाले फोहोर पानी परेको हो,’ मौसमविद रिमालले भने ।

यस्तो वर्षा नेपालको पूर्वी क्षेत्रमा बढी भएको छ । अझै पनि नेपाली आकाशमा यस्तो धुलोको कण जम्मा भएर बसेकाले सामान्य वर्षा हुने क्षेत्रमा हिलो मिसिएको पानी देख्न सकिने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । हिलो पानी परेपछि के भयो भनेर धेरै जना अन्यौलमा परेका थिए ।

२ असार २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको