प्रदेश ५ को बजेटमा दाङ, समेटिए यस्ता कुरा


असार २, दाङ । नयाँ आर्थिक वर्षका लागि दाङका विभिन्न योजनाहरुका लागि बजेट विनियोजन गरिएको छ । शुक्रबार प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा दाङका विभिन्न आयोजनाहरुका लागि बजेट विनियोजन गरिएको हो ।

भौतिक पूर्वाधारतर्फ अतिरिक्त रणनीतिक सडकका रूपमा पटौटी –दुर्गाफाँट–कुखुरेदेउराली–खज्र्याङ्ग–सिमीचौर–तम्घास सडक, सन्धिखर्क गच्छे –ढिकुरा–धनचौर–जलुके–भालुवाङ सडक, कुइरेपानी–सर्रा र उरहरी–सुकौरा सम्मको दामोदर मार्गको आयोजना छनौट भएको छ । घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गरी बस सेवा सञ्चालन गर्न आवश्यक बजेट बिनियोजन गरिएको छ ।

धेरै जनसंख्या भएका तर पानीको स्रोत कम भएका तानसेन, बुटवल, तुलसीपुर, घोराही जस्ता सहरी क्षेत्रको खानेपानी प्रणाली सुधारलाई प्राथमिकता दिइने र कोइलावासमा खानेपानी सुविधा उपलब्ध गराउन बजेट बिनियोजन गरिएको छ ।

प्रदेशको कृषि तर्फको बजेटमा स्वस्थकर मासु उपभोक्तालाई उपलब्ध गराउन सहयोग पुगोस् भनेर दाङमा पशु वधशाला निर्माण गर्नका लागि बजेट बिनियोजन गरिएको छ । यस्तै पर्यटनतर्फ दाङको धारपानी पाण्डवेश्वर धाममा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न २ करोड बजेट विनियोजन गरिएको छ ।

दाङको घोरदौरामा सांस्कृतिक डबली निर्माण गर्न २ करोड रकम विनियोजन भएको छ, भने तुलसीपुर उपमहानगरपालिका वनस्पती उद्यान स्थापना गर्न २ करोड रकम बिनियोजन भएको छ । दाङको गढवामा थारु संग्रहालय स्थापनाका लागि पनि बजेट बिनियोजन भएको छ ।

शिक्षा र स्वास्थ्यतर्फ दुर्घटनामा परी अंगभंग हुनेहरूको सहज उपचारका लागि दाङको लमहीमा ट्रमा सेन्टरको स्थापना गर्न २ करोड बजेट विनियोजन गरिएको छ । तुलसीपुरको राप्ती अञ्चल अस्पतालका लागि आइ.सि.यूसहितको ‘ए’ ग्रेडको एम्बुलेन्स व्यवस्था गर्न १ करोड ५० लाख बिनियोजन भएको छ ।

उद्योग, वाणिज्य र आपूर्तितर्फ संघीय सरकारको समन्वयमा दाङ, परासी, बर्दिया र कपिलवस्तुमा औद्योगीक कोरिडरको सम्भाव्यता अध्ययन गरिने योजना छ । वन तथा वातावरणतर्फ दाङमा प्रदेशस्तरीय जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेट बिनियोजन भएको छ ।

घोराहीको बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय उद्यान निर्माणको लागि २ करोड छुट्टयाइएको छ, भने आवास भवन र सहरी विकास यस प्रदेशको प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्न घोराही तुलसीपुर क्षेत्रमा एकीकृत सहरी विकास कार्यक्रम कार्यान्वयन गरिने छ । तुलसीपुर उपमहानगरपालिकामा सभाहल निर्माण गर्न समपुरक अनुदान उपलब्ध गराइने भएको छ ।

प्रदेश बजेटमा यातायात व्यवस्थापनका लागि घोराही तुलसीपुरमा विद्युती वस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गरी सेवा प्रारम्भ गर्न ५ करोड ५० लाख बजेट बिनियोजन भएको छ, भने दाङ स्थित रेडियो नेपालको स्टेशनलाई प्रादेशिक प्रशारण केन्द्रका रुपमा सञ्चालन प्रक्रिया अघि बढाउन २ करोड बजेट बिनियोजन गरिएको छ ।

युवा तथा खेलकुदतर्फ प्रत्येक पालिकामा एक खेल मैदान निर्माण गर्दै जाने नीति अनुरुप खेल मैदान निर्माणका लागि ५५ करोड ६० लाख बिनियोजन भएको छ, भने घोराहीमा नेत्रलाल अभागी रंगशाला निर्माणका लागि बजेट बिनियोजन भएको छ । यस्तै लमहीमा पनि क्रिकेट रंगशाला निर्माण गर्न समपुरक अनुदान छुट्याइएको छ ।

२ असार २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको