पृथीछक बुढा मगर/पोष्टपाटी । उसको नाम बिरबहादुर मगर हो । पश्चिम नेपाल घर भन्थ्यो । चार बर्ष पहिले बिदेश आएको हो । उ गरिव थियो । त्यसैले खाडीमा भासियो । गरिव नहुदो हो त बिदेशीने कर नलाग्दो हो । केही दिन अगाडी बिरक्तिएर मलाई भनेको थियो, बाध्यताले बिदेशीयो । बाध्यता के थियो ? मैले खोतल्न चाहेन । गरिवको बाध्यता के हुन्छ ? सबैलाई जगजाहेरै छ ।
‘काम गर्छु भनेर पनि हामी जस्ताको लागि कामै पाइदैन’ आफैले आफ्नो बाध्यताका पोयाहरु खोल्न थाल्यो, ‘रोजिरोटीको लागि बिदेश आएको हुँ । यहाँ पनि दु:ख पाइयो । जहाँ पनि दु:ख पाउने गरिवैले रहेछ । चाहे नेपालमा वा बिदेशमा ।’ उसको अन्तिम बाक्यले मेरो मन धुरुक्कै रुवायो ।
भनेको थियो, ‘भाइ के गरिवको लागि भगवान छैन ?’ यो बडो मार्मिक प्रश्न थियो ।
भगवान छ वा छैन । म ठोकुवा गरेर भन्न सक्दिन । उसले सोधेको प्रश्नको जवाफमा म के जवाफ दिउँ ? तर मेरो मनभित्रको जवाफले यो भनिरहेको थियो कि भगवान छ भने सबैको लागि छ । छैन भने कसैको लागि छैन । तर भगवान प्रतिको उसको आस्था डगमगाएको भने पक्कै थियो ।
खुट्टामा धुलैधुलो भएको सेफ्टी जुत्ता, निलो तल खुट्टा देखि शिर सम्म सिङ्गै मिलाएर सिलाएको अजिव खालको डांग्री (युनिफर्म) लगाउँथ्यो ।
उसैले एक दिन त्यहि डांग्रीमै आत्महत्या गरे । उसको सङ्गैको साथीले भन्यो, ‘ड्युटी जाने भनेर निस्केको थियो, क्याम्पको बाहिर पासो लगाएर आत्महत्या गरेछ ।’ साथीले थप्दै भन्यो, ‘कम्पनीले छुट्टि जान दिएको थिएन । बिचराले आत्महत्या गरेछ ।’
कुन ज्योतिषीले राखे होलान उस्को नाम ‘बिर बहादुर’ ! ‘बिर; नाम त कहिलै नहार्ने बहादुर पुर्खाको नाम थियो । तिनै ‘बिर’ले बिदेशमै हारे छन् ।
मैले भेटेको दिन छुट्टि जाने भनेर पेपर हालेको छु भन्दै थियो । गएपछि आउँदैन । तीन महिना देखि तलव पाएको छैन भनेर सुनाएको हो । बरु नेपालमै चिया पसल चलाउँछु भन्थ्यो । उसको सपना खासै ठूलो थिएन । तर उसको सानै सपना पनि पूरा गर्न पाएन ।
विदेशबाट छुट्टी लिएर जान नसक्दा यो धर्तिबाटै सदाका लागि छुट्टी लिएछ, बिर बहादुरले ।
उ बुढी आमा, श्रीमती र दुई छोराछोरीको धनी थिए । बिदेश आएको केही महिनामा बाबू खसेको गुनासो पोखेको थियो । बाबुको अन्तिम संस्कार गर्न नपाएको एकदमै ठूलो दुखेको थियो उसको । भनेको थियो, ‘जहाँ पनि पैसाकै कुरा आउँछ । गरिवको लागि जहाँ पनि सुख छैन । कहिलेकाही त आत्महत्या पनि गरौं जस्तो लाग्छ । तर दिमागमा छोराछोरीको अनुहार झल्झली आइहाल्छ । आत्महत्या गर्न सायद सक्दैन ।’
तर उस्ले अन्ततः हारे छ, अनि आत्महत्या रोजे छ । उसको छोराछोरीको मायाले पनि उसको आत्महत्यालाई रोक्न सकेन । उ निष्ठुरी भयो । बिधुवा आमाको माया लागेन । छातीको जोडा श्रीमतीको माया लागेन र आफ्नै रगतको विजवाट जन्मेका छोराछोरीको पनि माया लागेन ।
र आफैलाई यो दुनियाँको दु:खवाट सधैंको लागि बिदा भयो ।
देशमा धेरै तन्त्रहरु आए गए । धेरै ब्यबस्थाहरु आए गए । तर मनको कुनामा थपक्कै बसेको एउटा गुनासो चाहिँ छ । यी तन्त्र र ब्यबस्थाले बिदेशिने हाम्रो बाध्यतालाई किन रोक्न चाहेन ? अथवा रोक्न सकेन ? नौ जवान सप्लाई गरेर कहिलेसम्म देशले रातो बाकसमा लास बुझिरहने ? खानेपानी मन्त्री बिना मगरले भने जस्तै कहिले देशले अरवमा मिनिरल वाटर सप्लाई गर्छ र रातो बाकसमा फर्किनेहरुको लावालस्करलाई रोक्छ ? कहिले ? कहिले ? कहिले ? तर जवाफ छैन ।
प्रतिक्रिया दिनुहोस