सल्यानबाट यस वर्ष ७९ करोड भन्दा बढीको कृषिजन्य वस्तु बाहिरीयाे


कार्तिक २९, सल्यान । जिल्लाबाट यस वर्ष ७९ करोड ३३ लाख ५५ हजार रुपैयाँको कृषिजन्य वस्तु जिल्लाबाहिर गएको छ  । कृषि ज्ञानकेन्द्रका अनुसार कपुरकोट, रामपुर र सल्लीबजार हुँदै कृषिजन्य पदार्थ जिल्लाबाहिर गएका हुन्  ।

कान्तिपुर दैनिकमा सल्यानबाट विप्लव महर्जनले लेखेका छन्- अधिकांश कृषिजन्य सामग्रीमा सल्यान आत्मनिर्भर छ । जिल्लाबाट तरकारी, सुन्तला, अदुवा, मह, भटमास जिल्लाबाहिर जाने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यहाँको कृषिजन्य उत्पादन बुटवल, दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज हुँदै भारतसम्म जाने गरेको छ ।

जिल्लामा उत्पादित टिम्मुर फ्रान्स निर्यात हुने गरेको केन्द्रका योजना अधिकृत पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार कृषिजन्य पदार्थ जिल्लाबाहिर जान थालेपछि किसानको जीवनस्तर सुध्रँदै गएको छ । किसानले व्यावसायिक रूपमा तरकारी, सुन्तला, अदुवा, टिम्मुरलगायत खेती गर्न थालेको उनले बताए ।

जिल्लाका विभिन्न ठाउँबाट ३० करोड ३७ लाख रुपैयाँको १६ हजार पाँच सय मेट्रिक टन सुन्तला जिल्लाबाहिर गएको छ । कपुरकोट लगायत विभिन्न हाट बजारबाट १९ करोड ९७ लाख रुपैयाँको ३४ हजार ६ सय मेट्रिक टन तरकारी, २३ करोड ९० लाखको ५ हजार ६ सय मेट्रिक टन अदुवा र सात करोड ४७ लाख ६० हजारको ३ सय ४४ मेट्रिक टन अदुवाको सुठो जिल्लाबाहिर गएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार तीन सय ५० मेट्रिक टन बेसार, तीन हजार मेट्रिक टन तरकारी बीउ र चार सय ६० मेट्रिक टन मकैको बीउ जिल्लाबाहिर गएको छ । उनका अनुसार जिल्लाबाट केरा, आलु, मह , माछा, च्याउ बाहिर जाने गरेको छ ।

‘तरकारी खेतीबाट जिल्लाभरिका सात हजार ९ सय ७५ घरपरिवार व्यावसायिक बनेका छन्, कोटमौला, कोटबारा, दमाचौर, पिपलनेटा, मार्के, सेजवालटाकुरा, कजेरी लगायत गाउँका एक हजार घरधुरीले व्यावसायिक सुन्तलाखेती गरिरहेका छन्,’ उनले भने, ‘जसबाट किसानको जीवनस्तर गुणस्तरीय बन्दै गएको छ ।’

शारदा नदी आसपासका क्षेत्रमा करिब एक हजार दुई सय प्लास्टिक घर बनाई स्थानीयवासीले ४८ हजार वर्गमिटरमा गोलभेंडा खेती गरेका छन् । जिल्लाभरका ७५ प्रतिशत घरधुरी कृषिजन्य उत्पादनबाट आत्मनिर्भर बनेको केन्द्रले जनाएको छ ।

२९ कार्तिक २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको