भदौ ३०, उदयपुर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई उदयपुर पुर्याइएको छ ।
सर्वोच्चको आदेशमा हिजो शुक्रबार बेलुका सर्वोच्च परिसरबाटै गिरफ्तार गरिएका नेता प्रकण्डलाई शनिबार दिउँसो पौने १ बजे उदयपुरको सदरमुकाम गाइघाट पुर्याइएको हो ।
प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइपुर्याएको कुरा एसपी चन्द्रदेव राईले पुष्टि गरेका छन् । ‘नेकपा नेता प्रकाण्डलाई केही समयअघि मात्र ल्याइपुर्याएका छौं’ एसपी राईले भने । उदयपुरमा प्रकाण्डलाई ‘बम विष्फोट’को अभियोग लगाइएको छ ।
दाङ प्रहरीमा रहेको ‘विष्फोट र कर्तव्य ज्यान’को अभियोग पुष्टि हुन नसकेपछि शुक्रबार सर्वोच्चले प्रकाण्डलाई मुख्य रजिष्ट्रारको रोहवरमा रिहा गरेको थियो ।
प्रकाण्डको गिरफ्तारीको विरोधमा भोलि उदयपुर बन्द
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारीको विरोध भोलि भाद्र ३१ गते जिल्ला बन्दको घोषणा गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी उदयपुरका जिल्ला ईन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले शनिबार संयुक्त रुपमा एक प्रेस विज्ञिप्त जारी गर्दै नेकपा नेता कार्यकर्तामाथको धरपकड, दमन र झुठा मुद्दा खारेजी गराउन उदयपुर बन्दको घोषणा गरिएको जनाएका छन् ।
‘हाम्रो पार्टीको नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तार गरी यातना दिने र झुठो मुद्दा लगाउने षडयन्त्रका विरुद्धमा भाद्र १ गते उदयपुर जिल्ला बन्दको आह्वान गरेको छ’ शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएको छ ‘ओली–दाहालको ठडो निर्देशनमा उदयपुर प्रहरी प्रशासनले पुनः गिरफ्तार गरी झुठो मुद्दामा फसाउने सरकारको षडयन्त्रप्रति जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । साथै गम्भीर र आक्रोशित बनाएको छ ।’
नेकपाका गिरफ्तार हाम्रा सबै नेता कार्यकर्ताहरुलाई यथाशिघ्र रिहाई गर्न जिल्ला पार्टी जोडदार माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस