पर्खनुस मन्त्री ज्यु संग-संगै हिडौ, तपाई पनि साइकलमा, अनि म पनि साइकलमा। हाम्रो यात्रा संगै हुनेभयो । बर्गीय धरातल पनि मिल्ने भयो । आज लालबाबु देशको मन्त्री भएपनि तपाई गरिबकै छोरो हो, दुखै गरेर पढेको हो।
यस्तै यस्तै हिजोका मेरा अनुभूतिहरु ताजै लाग्छ । विर्सनु पनि कसरी ? हजूरको त्यो ईमानदारीता स्वाभिमान अनि सरल जिवनलाई हेरेर मैले मेरो बाध्यताको गरिबी जिवनलाई बारम्बार भुलेको थिए।
सायद यस्ता दुखका पहाडहरु छिचोल्ने म जस्ता हरेक नेपालीहरु छन् । म १८ बर्षको हुदो हुँ । १२ सक्काएर क्याम्पस पढ्ने आशामा बसेको थिए । मेरो मानसपटलमा अझै ताजै छ, सन्तान र परिवारको लालनपालनमा बाबाको खल्ति रित्तियर साहुले सम्पती हडपेको दिन, जतिबेला हामी घरबार बिहिन भयौ । जसको पीडाले आक्रान्त मेरा बाबा २०४६ साल देखि यस्तै घरबारविहीनहरुका लागि क्रान्तिमा होम्मिनु भयो।
विडम्बना के भयो भने, २०६६ सम्म आउँदा साथमा न त क्रान्ति थियो, न त सम्पति नै थियो । अर्थात परिवर्तनको लागि देशमा आँधीबेहरी बेस्सरी चल्यो । देशको आवरण फेरिएन ।
तर म कत्ति पनि बिचलित भएन । बरु गनतन्त्र ल्याउन बाबाको भुमिका प्रति गर्व नै रह्यो ।
गर्ब हुनुको कारण देशमा एउटा साइकल मन्त्रि थियो, जस्लाई हेरेर हामी गरिवहरु गर्व गर्यौं । दुखीको दुख केवल दुख भोगेकोले मात्र बुझ्दछ, यस्तै यस्तै लाग्यो ।
मेरा अगाडी २०७० साल आई पुग्यो । देशमा सुशासन आयो अब त कुनै गतिलो व्यवसाय गरौला भन्ने लाग्यो तर सम्भव भएन । किन सम्भब भएन त्यसका कारणहरु थुप्रै छन् । त्यतातिर नजाउ ।
तर बेरोजगार अभागी युवाहरुको जमातमा म एउटा युवाको निधारमा भाग्यको रेखा भेटियो । मतलव सरकारी निजामती सेवामा प्रबेश गरियो, त्यसको खुसिको बयान नगरौ ।
देशमा रोजगार नपाएर विदेश पस्ने युवालाई मात्र थाहा छ, रोजगारले दिने खुसि र बेखुसी कस्तो हुन्छ भनेर…।
त्यसैले त मैले अनुभूति गरेको थिए, यो देशको साइकलवाला मन्त्रि संग साइकलमा संगै सवार हुनेभयो । डि.भि. र पि.आर धारी कर्मचारी/सभासद बर्खास्तीको ऎन संसोधन र साईकलवाट मन्त्रालय सवारको सरलपनले मलाई हदैसम्म लोभ्यायो ।
संकटको बेला मेरो कार्यकक्षमा तपाईको जीवनशैलीको उदाहरण हरेक पटक पेश गरेको छु, प्रशंसा गरेको छु, उदाहरण दिएको छु। सरल, स्वाभिमानी र ईमान्दार नेताको उपमा दिएर धेरैलाई प्रशिक्षित गरेको छु । सायद मेरो बुझाई अलि बढ्तानै थियो क्यारे ।
तपाई र मेरो बर्गिय कुरा लगभग उस्तै थियो । तपाई पुर्ब मधेशको गरिब मन्त्री, म रोल्पा पहाडको गरिब कर्मचारी । हामी माझ बर्गीय समानता थियो ।
जव २०७४ साल सुरु भयो । म पश्चीम रोल्पाको नागरिकले तपाइ प्रति आशा जगाए भने पूर्वमा तपाईलाई साथ् नदिने कुरा असम्भव थियो र चुनाव जित्नु भयो पनि । खाडीबाट तपाईको चुनावी खर्चको लागी युवाहरुले चन्दा उठाएर ठुलो सहयोग गरे। ति युवाहरुले ६० डिग्री घामको तापमा पसिना बगाएर सँगालेको पैसाबाट केहि हिस्सा छुट्याएर तपाइलाई जिताएका थिए ।
स्थानिय चुनाव, प्रदेश चुनाव हुदै, नयाँ सरकार निर्माण संगै राज्यमा तपाइको आगमन पुनः भयो । तपाई माथि आशा र भरोसाहरु अझ जबर्जस्त सल्बलाउदै थिए।
यो २०७४ साल सकियो तव हाम्रो बर्गीय धरातल आकाश र जमिनको फरक भेटियो । सम्पति बिबरण चुलिएको पाइयो । सुनका डल्ला भेटिए । तपाई हिड्ने बाटो रातो कार्पेटको भयो । तपाईको साइकल यात्रामा पूर्ण बिराम लाग्यो। बस्ने उठ्ने, बोल्ने तवर तरिकामा बदलाव आयो ।
सबै भन्दा अचम्मको कुरा साइकल र ट्याम्पो यात्राले करोडौ दामको पजेरो यात्रामा पुर्यायो ।
उहिले डिभि र पिआरमा उर्लेको तपाई अहिले कर्मचारीलाई A, B र C गरेर तिन तहमा बाडेझै गर्नु भयो, A र B बर्गका कर्मचारी आज सम्म स्थानिय तहमा पठाउन सक्नु भएन ।
सरल चरित्र आज पुरै हरायो । तपाईलाई साँची राखेर दिएको उदाहरण भुत बनेर उभियो । जसले आज गाउँगाउँमा नागरिकहरु तर्साई रहेको छ। तपाईको साइकल यात्राले पाएको वाहवाहीले पजेरो पायो तर बदमासीको पाप धुरीबाट कराउने छ ।
जाँदा जाँदै एउटा कुरा सुनाउछु, कर्मको फल सत्यको धन हो, मन्त्रि ज्यु । साहुले हडपेको मेरो पुर्खाको सम्पति हम्य हम्य भएर भएपनि फिर्ता गर्न भ्याए। मनमा शान्ति मिलेको छ । अरु दुई नम्बरी सम्पति मलाइ चाहिदैन, बस… लाउन खान भए हुन्छ ।
लेखक निजामती सेवामा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस