रुकुममा हँसिया प्रहार गरी भाइ र छोराको हत्या, दुई छोरा पनि घाइते


साउन ३०, रुकुम । पश्चिम रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका एक व्यक्तिले आफ्नै भाइ र छोराको हत्या गरेका छन् । आक्रमणबाट अरु दुई जना छोराहरु घाइते भएका छन् ।

बुधबार बिहान करिब साढे ६ बजेतिर करिब ३७ वर्षीय शंकर विष्टले एक्कासी आफ्ना भाइ र छोराहरुलाई घरेलु हतियारले अन्दाधुन्द आक्रमण गरेका थिए । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको प्रहरी हबल्दार गणेशबहादुर साउदले जानकारी दिए ।

छोराहरु १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । शंकर तथा घाइते दुई छोराको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते छोराहरुका अनुसार आमा पानी लिन गएको बेला शंकरले आक्रमण गरेका थिए ।

छोरा, भाइको हत्या र २ छोरालाई घाइते बनाएपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको जनाइएको छ । उनले आफूमाथी पनि हसिया प्रहार गरेको खुलेको छ । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

स्थानीयले शंकरको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी हबल्दार साउदले जानकारी दिए । घटनास्थल सदरमुकाम सल्लेबाट करिब एक घण्टाको पैदल दुरीमा पर्दछ ।

३० श्रावण २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको