काठमाण्डौं : प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम अनैकि काम गर्नेलाई पक्राउ गरी कानूनी कार्वाहीको भागीदार बनाउने पनि हो । तर, सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नु पर्ने प्रहरी नै गलत बाटोमा हिंडिरहेकाहरुको सहयोग बन्यो भने त्यसलाई के भन्ने ?
गलत काम गर्नेहरुका लागि यो काम मनमनै जायज लागे पनि सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भन्ने यो कुरा पाच्य हुँदैन । तर, यहि नपच्ने कुरा नै काठमाण्डौंका विभिन्न ठाउँहरुमा देख्न, सुन्न र भोग्न पाइन्छ । अहिले काठमाण्डौंमा प्रहरीहरुकै संरक्षणमा उपत्यकाका विभिन्न स्थानमा जुवा अखडा र यौनधन्दा चलिरहेको गुनासो सर्वसाधरणले गरिरहेका छन् ।
काठमाण्डौंको सीतापाइला क्षेत्रमा सोम लामा र रोशन लामाले क्यासिनोको रूपमा नै ठूलो कौडा अखडा सञ्चालन गरिरहेको कुरा बारम्बार सार्वजनिक भइरहँदा पनि प्रहरीले नियन्त्रण गर्नुको साटो उनीहरूबाट मोटो रकम लिएर संरक्षण गरिरहेको स्थानीय बताउँछन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भू र मेट्रोबाट सञ्चालित सिभिल प्रहरीहरूको संरक्षणमा उनीहरूले झण्डै दुई महिनादेखि सीतापाइला क्षेत्रमा खुलमखुला र जुवा अखडा सञ्चालन गरेको तथ्य उजागर भएको छ । यसअघि यो समूहले यस्तै जुवा अखडा सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा सञ्चालन गर्दै आइरहेको थियो ।
समूहका केही सदस्यबीच विवाद भएपछि प्रहरीले छापा मार्ने डरले उनीहरूले सीतापाइलालाई आफ्नो संरक्षित क्षेत्र बनाउँदै आफ्नो जुवा सञ्चालन गरिरहेको जानकार बताउँछन् । वृत्त र मेट्रोका घुमुवामार्फत मासिक एक–एक लाख रूपैयाँ दिने गरी प्रहरी सेटिङ मिलाइएको समेत खुल्न आएको छ । जुवा अखडाका रूपमा सबैभन्दा संरक्षित र चर्चित क्षेत्र हो नख्खीपोट, भैंसेपाटी र सातदोबाटो क्षेत्र । यहाँका जुवा अखडाहरूमा प्रहरीले पूर्णरूपमा संरक्षण दिएका कारण करोडौंको जुवा हुँदा समेत खेलाउनेहरूदेखि खेल्नेसम्म कोही पक्राउ परेका छैनन् ।
यसका साथै ललितपुरको ग्वार्को, हात्तीवनलगायत क्षेत्रमा सञ्चालित होटेल तथा गेस्ट हाउसमा युवती राखेरै खुलेआम यौनधन्दा र जुवा खेल हुने गरेको छ । यी सबै कुराको जानकार रहेको सातदोबाटो प्रहरीका प्रमुखले नै यस्ता धन्दालाई संरक्षण गर्दै आएको समाचार स्रोत बताउँछ । ग्वार्को, इमाडोल, लुभु, गोदावरी, धापाखेल, एकान्तकुना, नख्खीपोट, खुमलटारलगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सम्हाल्दै आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुखले नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको आरोप मेट्रोदेखि प्रहरी मुख्यालयसम्म पुगेको छ । ललितपुरको हात्तीवनमा रहेको टायलघर रिसोर्ट आफैंले युवती राखेर यौनधन्दा सञ्चालन गर्दै आएको छ ।
प्रहरीले रिसोर्टबाट महिनामा २५ हजार रूपैयाँ बुझ्ने गरेको रिसोर्टका कर्मचारी नै बताउँछन् । हात्तीवनकै हात्तीवन रिसोर्टले यस्तै व्यवसाय गरेवापत प्रहरीलाई मासिक १५ हजार बुझाउँछ । यस्ता अखडाहरूबाट रकम बुझ्नका घुमुवाका रूपमा परिचालित हवल्दार दिपक पोखरेल पुग्ने गरेको जानकार बताउँछन् । ललितपुरको चापागाउँ जाने दोबाटोमा रहेको नमस्ते रेस्टुरेन्टमा पनि यौन धन्दा हुने गरेको जानकार बताउँछन् ।
रेस्टुरेन्टभित्र प्लाइउडले बारेर बनाइएको एक कोठा छ । सोही बन्द कोठाभित्र यौनधन्दा हुने उनीहरु बताउँछन् । स्थानीयहरूले त्यहाँ यौनधन्दा हुने गरेको जानकारी पटक–पटक प्रहरीलाई गराउँदा समेत प्रहरीले पक्राउ गर्नुको साटो उल्टै संरक्षण दिइरहेको स्थानीयको आरोप छ । सातदोबाटो चोकको एप्पल रेस्टुरेन्ट, महालक्ष्मीस्थानको दरबार दोहोरी, थसीखेलको तीनपाने दोहरीमा पनि यौनधन्दा हुने गरेको आरोप स्थानीयको छ । यी रेस्टुरेन्टहरूबाट समेत प्रहरीले मासिक रूपमा १० देखि १५ हजार बुझ्ने गरेको वृत्तका एक सईले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
ग्वार्कोका धेरै होटलहरूमा खुलेआम यौनधन्दा हुने गरेको पाइएको छ । तर, यसको जानकारी प्रहरीलाई भए पनि कहिले छापा मार्ने र कार्वाही नगर्ने गरेको स्थानीयको भनाइ छ । ती होटलहरूले मासिक रूपमा रकम बुझाउने गरेकै कारण प्रहरीले छापा नमारेको स्थानीय एक रेष्टुरेन्ट व्यवसायीले जानकारी दिएका छन् । सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा वृत्त नजिकै सिंचाहिटी धाराको अगाडि श्याम श्रेष्ठको जुवा अखडा छ । उनको पेशा नै जुवा खेलाउने हो । उनले प्रहरीलाई मासिक ५० हजार रूपैयाँ बुझाउने गरेको समाचार स्रोतले बताएको छ ।
धापाखेल नजिकै एक रातो घरमा रजिना तिमल्सेनाको जुवा अखडा छ । उनले अखडा चलाएको लामो समय भए पनि प्रहरीले पर्वाह गरेको छैन । आफ्नै कार्यक्षेत्र वरिपरी र आँखै अगाडि यस्ता विकृतिपूर्ण कामहरु भइरहेको भए पनि सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवाल भने यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । उनी यस्तो जानकारी आफूलाई नआएको बताउँदै यस्ता गलत क्रियाकलाप गर्न कसैलाई छुट नहुने र कार्वाही गरिने बताउँछन् ।
नयाँपेजबाट साभार
प्रतिक्रिया दिनुहोस