आँशु वोकेर ल्याएको मेरो दशैं


कति छिटो दशैंले झ्यालबाट चियाइ सकेछ नि । म त बजारतिरको चहलपहल भिडभाड के को होला भनेर एकछिन त अलमल पो पर्छु । अनि आफ्नो सामाजिक सन्जाल खोलेर हेर्छु
सामाजिक सन्जाम भरी दशैंको शुभकामना आदन प्रदान सुरु भईसकेछ । म्यासेन्जरभरि दशैँ शुभकामना गित संगतिले भरिएका मुटु छुने शब्दहरुको भारी वर्षा भएको रहेछ । म नतमस्तक भएर सबैलाई धन्यवाद दिंदै वालापनको यादमा डुब्ने गरेको छु । भएको नभएको पैसा जम्म्मा गरेर त्यो बालापनमा पोस्ट कार्ड किनिन्थ्यो र लेखिन्थ्यो, ‘खोला सुके पनि बालुवा रहिरहने छ, साथी जति टाढा भए पनि तिम्रो याद आईरहने छ । तिमिलाइ दिउँ भने छैन केही महँगो उपहार, दिदै छु है साथी तिमिलाइ यो पोस्ट कार्ड !!’

सायद भुकम्प नगएको भए साथीहरुले पठाएका ति बालापनका पोस्ट कार्डहरु अझै भेटिन्थे होला । घरको भित्ताभरी टाँसिएका ती कार्डहरु कति प्यारो लाग्थ्यो । त्यो पल यहि भन्दै लेखेर बिजया दसमिको शुभकामना आदनप्रदान गर्दै स्कुल बिदा हुने बितिकै जामा लगाएर मामा घर कहिले जाउँ झै लाग्थ्यो । एकजोर नयाँ कपडा आमाले किनिदिनु भयो भने सबै साथिको घर घर देखाउन हिंड्थ्यौं । आहा ! कस्तो मनै फुरुङ हुने । खुब पिङ खेलिन्थ्यौं आधा रातसम्म । भोक लागे घर आयो, खायो फेरि गयो । नयाँ नयाँ लुगा लगाउँदा अर्कै फुर्ति आउंथ्यो । कस्को राम्रो भनेर लुगाहरु दांज्थ्यौं । अनि झगडा पनि गर्थ्यौं । मामा घर टीका लाउन जाँदा कति पैसा कस्ले दिने भन्दै हिसाव राखिन्थ्यो । त्यो बाला पन कहाँ गयो होला ?

आज यहि बालापनको यादमा दशैं मनाउन बाध्य भएको छु । सामाजिक संजालमा दिनको ५० वटा एकै भिडियो मेसेज सबैबाट आएको हुन्छ तर म त्यो मेसेज भित्र के खोजेको हुन्छु थाहै हुँदैन । बलेको आगो ताप्ने स्वार्थी दुनियाँमा जव असक्त भएर बसेकी छु, लाग्छ कसैले त यो दशैंमा ‘ओई तँ दशैं के गरि मनाउदै छस् ? के गरिस् ? अहिले तँलाई कस्तो छ ? भनेर सोध्ने कोहि देखिन, भेटिन । अरुले वनाएको शुभकामना अडियो भिडियो म्यासेजहरू म्यासेन्जर भरिएको छ । असक्त आँखाले तिनै मेसेज खोजीरहेको हुन्छ, कोहि मित्रले ओई तँलाई दशैं लागेको छैन ? भनेर सोधेको छ कि भनि । अनि यसो आफुले लगाएको लुगा तिर हेर्छु । कोठा, भान्छा तिर हेर्छु । हैन कसरी लाग्छ भन्या दशैं ? खै कहाँ लागेको छ दशैं ? भन्दै फिस्स हाँसीदिन्छु । दशैं आउँछ जान्छ । आज जब समयले नै ठगेको छ, देशमा मौलाएको हत्या, बलात्कार, हिँसाको पीडाले छाती चिरिएको छ त कसरी म खुसी हुन सकुँला र ? आज म नियतिको झेल या दैबको खेल के भनुँ यो खेल र झेलको जालोमा हराएको छु ।

कस्तो खुसि लाग्दो होला मलाई कसैले तँलाई कस्तो छ ? के गरि दशैं मनाउदै छौ ? तिमी यस्तो अबस्थामा छौ ? भनेर सोधी दिने हो भने । यो सोध्ने मात्र एकजना हुनुहुन्छ आमा । बाँकी त सबै बलेको आगो ताप्ने न हो । मेरो जिन्दगीमा मेरी जननी र मेरी कान्छी बहिनि अनिताले मात्र मेरो यस्तो अबस्थामा साथ दिएका छन् । लाग्छ, गएको जुनिमा भयानक पाप गरेकी रहेछु क्यारे जसको फल आज भोगिरहेको छु । बिरामीबाट बल्लतल्ल मलाइ केही मित्र, संघ संस्थाको सहयोगले उठ्न त सफल भएँ तर आज बाँचेकोमा आफैलाई दिक्क लागेको छ । जब मृत्यु नजिक पुगें तव बाँच्ने इच्छा जाग्ने जव बाँचें फेरी मर्न इच्छा जाग्ने यो जिन्दगीको कस्तो रंग हो ?

थुप्रै साथीभाइ, नातागोताहरुको साथै एकता समाज महिला बिभाग र बाग्लुङ समाज सेवबाट मिलेको आधारवाट जब हस्पिटलको शैयावाट उठें, अब उप्रान्त दु:ख दिनु हुँदैन, आफै काम गर्नु पर्छ लागेर कामको खोजी गरें । हाकिमनी भारतीय मुलका थिए । नेपालीहरुको बारेमा तुच्छ टिप्पणी गरिरहन्थ्यो । धेरै कन्पारो तात्थ्यो । काठमाण्डौं जाम उस्तै, अब्यबस्थित यातायातको अबस्था, त्यहाँ पनि जागिर छोडियो । एउटा सन्तानलाई बल्ल जागिर लगाएको त्यो पनि उसको सोझो पनले जागिर छुट्यो । थुप्रो मानिससंग हात जोडियो तर कसैले वास्ता गर्नु भएन । यहि बेला फेरि पाठेघरको क्यान्सर शंका भयो । जागिर छुटेको वेला काठमाडौंको गल्लीमा अल्मलिएको छु । महँगीले घाँटी अठ्याएको छ । दैबको खेलले झेल मात्र गरयो । साथ दिने माया दाजुलाई समेत दैवले टपक्क टिपेर लग्यो । माइतिमा बस्न आफ्नो दाजु हुनुपर्छ । आज उहाँले छोडेर जानू भएको पनि ५ महिना भयो । यो संसार उहाँ बिना अधुरो लाग्छ । माइतीमा बस्न मन लागेन । कोठा लिएर बसें । आज दशैंको बेला पलपल दाजुलाई यादमा गरिरहेको छु । दशैं आयो, तिहार आउला, हातको भाईटिका कसले लगाउला ?

भगवानलाई सोध्ने गर्छु कि ती बुढी आमाबाट के भुल भयो यस्तो पीडा दियौ प्रभु ? त्यो ममताले भरिएको छातीमा सन्तानको पिडाले जलिरहेको हुँदो हो । यस्तो अबस्थामा दशैं कसरी खुसियालीको सुभकामना दिन सकिएला । दाजुले यो संसारबाट बिदा लिएपछि मलाई कुनै चाडाबाडमा खुसियाली मनाउन मन छैन । मात्र परम्परालाई जोगाउने कोसिस गर्छु । पुर्खादेखि चल्दै आएको चलन मानैपर्छ परम्परालाई दिगो गराउनै पर्छ ।

म बिरामी हुँदा भरतपुर क्यान्सर हस्पिटलमा लोलाएका जननीका आँखा मैले देखेको छु । आमाका ती रसाएका आँखा र ओलीको बोलीले थालिएको नेपाल आमाको पिडा उस्ताउस्तै लाग्छ । मलाई जन्म दिने आमा र नेपाल आमा, जे सुकै भएपनि आमा भनेको आमै हो । हाम्रा आमाहरु पिडामा रहेको वेला कसरि खुसीका साथ विजयादशमीको शुभकामना दिन सक्छु ? अनि मौन बसेर त्यो रङमन्च नियालिरहेको छु जहाँ चहलपहल भएर पनि शुन्य जस्तै लाग्छ । आशा गर्छु, यो दशैं कसैको दशा बनेर दैलोमा नआवस । म पिडामा छु यसको मतलव यो हैन कि सबै नेपालीले पीडा लिनुपर्छ । आज बिदेसी भुमिमा पनि आफ्नो रगत पसिना बगाउदा समेत आँसु झारेर बस्न बाध्य मेरा नेपाली दाजुभाई र दिदीबहिनीहरुलाई भन्छु, कामलाई पुजा गर्नुहोला, ज्यानलाई माया गर्नुहोला । देशलाई याद गर्नुहोला । जीवन नै असली धन हो । दशैं आयो । जहाँ रहेपनि राम्रोसंग मनाउनुहोला ।

२८ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको