मौलो


गाडियो – ढालियो
र, फेरि गाडियो
मौलो

त्यसपछि कहिल्यै ढलेन
र, उखेलिएन
पापको मौलो
अन्यायको मौलो ।

मौलो
खाँबो हो
काठको – निर्जीव
तर शासन हो

भयको – आतंकको
त्यसैले तर्साउँछ
अत्याउँछ – प्रेतजस्तो लाग्छ

दैत्यजस्तो लाग्छ – मौलो
मलाई छुन डर लाग्छ
टाउको उठाएर हेर्न डर लाग्छ।

मौलो
शासन भो’- प्रशासन भो’
मुखिया भो – राजा भो’
म त रैती हूँ

जगाती मात्र हूँ
मौलोको छायाँ
हाँसिरहेको छ
झुण्ड्याएर खड्ग – मेरो गर्धनमाथि ।

मौलो
आँखा थुन्छ – मुख थुन्छ
नलीखुट्टा बाँध्छ – हात बाँध्छ
गर्धन बाँध्छ

र, च्वाट्ट छिनाल्छ।
आँखा खान्छ – मुटु खान्छ
र, पिउँछ रगत तनतनी
पशुको पनि – मान्छेको पनि ।

मौलोको शासनमा
मैले ‘म मान्छे हूँ’ भन्नुको के अर्थ ?

मौलो
आतंकको शिखर
अत्याचारको श्रीपेच

राजाको मुकुट
मलाई पनि रहर छ
ढालेर देवीलाई भोग दिने ।

मैले खोतलेर हेरेको छु
मौलोको जग
कोतरेर सुँघेको छु- रगतको गन्ध

मौलो
वीरहरुलाई काटेर
कायरहरुले गाडेको खाँबो रहेछ

मलाई देउतासँग हैन
मलाई मौलोसँग डर लाग्छ ।

मौलो
बाचाल छ
सपथ खाएका छन् – पीठाधीशहरुले

निधार जोडेर मौलोमा
मलाई पनि अमूक र बाचाल राख्ने।
म प्रतिवद्ध छु
मौलोविरुद्ध बोल्न ।

गौंडा – गौंडामा
थुम्का – थुम्कामा
कोट – कोटमा

खटाइएका छन् मौलाका पूजारी
पटांगिनीबाट
हिजो जस्तै – आज पनि

मौलो उही
पूजारी मात्र नयाँ ।

अधूरै रह्यो
यो हजार वर्ष

गिंडेर सत्ताको शीर
नयाँ मौलो गाड्ने
निमुखाको आँगनमा ।

२८ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको