ओली सरकारलाई कमजोर नआँक्न राजपालाई सोम पाण्डेको चेतावनी


असोज २८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर नआँक्न चेतावनी दिएका छन् ।

आइतबार एक साक्षात्कारमा संयोजक पाण्डेले भने, ‘सानातिना घट्नाहरु घटेका छन् । तर, यस सम्बन्धमा प्रधानमन्त्रीले मसिनो स्वरमा बोल्नुभयो भनेर राजपाका नेताहरुले प्रधामन्त्रीलाई निरिह बन्नुभयो भनेका छन् । सरकारले अपराधी पत्ता लगाएरै छोड्छ । अपराधीलाई सजाय दिएरै छाड्छ । ओली सरकारलाई कमजोर आँकलन नगर्न म चेतावनी दिन्छु ।’

उनले देशमा नेकपा नेतृत्वमा दुई तिहाई बहुमतको सरकार गठन भएको उल्लेख गर्दै भने, ‘प्रधानमन्त्रीले सपथग्रहण गरेको आज ७ महिना २६ दिन भएको छ । सरकार अहिले एउटामात्रै उद्देश्यका साथ अगाडि बढेको छ । सुखी नेपाली र समृद्ध नेपाल सरकारको उद्देश्य हो । यो संकल्पका साथ वर्तमान सरकार अगाडि बढेको छ । समयको हिसाबले मात्रै हामीले ७ महिना २६ दिन पुर्याएका छौं । तर, कामको हिसाबले धेरै कुराहरु अगाडि बढाईसकेका छौं । एउटा कुरा म यहाँ के राख्न चाहन्छु भने वर्तमान सरकारलाई असफल पार्नकै निम्ति हो कि या सुधारको निम्ति हो ठूलो आक्रमण भैरहेको छ । ठूलो आलोचना भैरहेको छ ।’

उनले वर्तमान सरकार गठन गर्दा ताका देशको अर्थतन्त्र ऋणात्मक अवस्थामा रहेको सुनाए । ‘खर्बौ रुपैयाँ ऋणमा गरिएका कामहरुको भुक्तानी बाँकी थियो । ती लगायतका ऋणहरुलाई चाहीँ व्यवस्थापन गरेर वर्तमान सरकारले अहिले आर्थिक अवस्था अत्यन्तै सवल बनाएको छ,’ पाण्डेले भने ।

हिजोको दिनमा नेपाल–भारत, नेपाल–चीनबीचको सम्बन्धलाई आलोचनाको विषय बनाईएको सुनाउँदै वर्तमान सरकारले अहिले सुमधुर बनाएको उनको दाबी छ । उनले भने, ‘त्यतिमात्रै होईन, वर्तमान सरकारले यदि कुनै बेला कुनै छिमेकीबाट नाकाबन्दी भएको खण्डमा अब हामी त्यो नाकाबन्दीबाट नेपाली जनताले सामान ओसार–पोसार गर्नको निम्ति कठिनाई नपर्नेगरि चीनसँगपनि पारवाहन सन्धि गेको छ ।’

संविधान झण्डै फेल हुन लागेको अवस्थामा संविधानको व्यवस्था अनुसार धारा १६ देखि ४८ सम्मका मौलिक हकका विषयमा कानून नबनाएको खण्डमा संविधान नै लागु नहुने र खारेज हुने अवस्थामा भएको बेला वर्तमान सरकारले अत्यन्तै ‘फाष्ट–ट्रयाकबाट’ सबै चाहिने कानून, नियम तथा ऐन बनाएर संविधानको व्यवस्थालाई जोगाएको उनको दाबी छ ।

सरकारले धेरै कुरा अघि बढाईसकेको जनाउँदै पाण्डेले भने, ‘आज तपाईहरुले सुन्नुभएको रेलमार्गको कुरा यो भन्दा विगतका कुनैपनि सरकारले उठाउन सकेका थिएनन् । तर, यो सरकारले रेलमार्गको कुरा उठाएको छ । अब यो निर्माण हुने अवस्थामा पुगिसकेको छ । विकास निर्माणको काममा सरकारले धेरै कामहरु गरिसकेको छ ।’

२८ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको