दशैंका दृष्य: हिजोको गाउँ आजको सम्झना


“…मलाई मैनटोल र लालटिनको तापबाट आएको मट्टितेलको औधी गन्ध मन पर्छ, खरानीमा पकाएको लुगाको गन्धजस्तै, खडेरीपछिको झरीले भिजाएको रातोमाटोको वासनाजस्तै । त्यहाँ जीवन शर्मा गुञ्जिए, जेबी टुहुरे, खुसीराम पाख्रीनहरु गुञ्जिए । ‘शिमली छायाँ’, ‘फकल्याण्डको टापु’, ‘आमा दिदी बहिनी’, ‘कालो वनको बीचैमा खेतालाको गाउँ’ गुन्जन्थ्यो …”

पृथ्वीनारायण शाहको एकीकरण अभियानताका प्रारम्भिक केन्द्रिकृत नेपालको पहिलो राजधानी नुवाकोटबाट दुइ घन्टाको पैदल दूरीमा छ चोकदे । नेपाल–तीब्बत लडाईताका तिब्बती–चिनिया फौज रसुवाको कालिकास्थान, जिबजिबे, लहरेपौवा हुँदै वेत्रावतीतिर बढ्दै गर्दा उनीहरु फलाखु तरेर मबीर, कुवापानी चोकदे हुँदै नुवाकोट प्रवेश गर्न नसकुन् भन्ने हेतु बनाइएको सूर्यगढी किल्लाको फेदमा छ गाउँ । त्यही किल्लाकै सुरक्षार्थ हुनपर्छ, सेनाले प्रतिस्थापन गरेको शक्तिस्वरुपा बागेश्वरी । चोकदे गाउँ पछि तिनै देवीको नामले चिनियो बागेश्वरी भनेर । गत वर्ष बागेश्वरी विस्तार भयो र, त्यही युद्धकिल्ला अर्थात् सूर्यगढीको नाममा संघीय नेपालको गाउँपालिका भो ।

रसुवाको दक्षिणपूर्वी इलाका, लच्याङग, माझ र उपल्लो गेर्खु, हल्देको माथिल्लो क्षेत्र आकर्षित गर्दथ्यो बागेश्वरीले । बागेश्वरी मावि (हाल बहूमुखी क्याम्पस) मा पढ्ने विद्यार्थीको भूगोल पनि यही तथ्यको उदाहरण हो । बिहानी कक्षा चल्दा चार बजे उठेर हिंड्ने र दिउँसो कक्षा हुँदा राती घर पुग्ने सहपाठी थिए । २२ वर्ष अगाडिको सम्झना हो यो । र, आज लेख्न बसेको दशैं सम्झना चाँहि योभन्दा पनि पुरानो हो ।

मेरो थातथलो त्यही हो । हुर्के बढे पढेको । यही गाउँको एउटा कुनामा हो बालापनको दशैसँग रमाएको । घर, कटेरो, खोर, पल्लोघर, माथ्लोघर, कुँडार, करेसा, खेतबारी, घाँस पराल, साँधीखोला, खहरेखोला, सीमपानी, आदित्यादीसँग जोडिएको । साँधीखोलाको काँसको घाँस, हिटी (कुवा)को पानी भैहाले । अझै पनि खड्करामा खरानी हाली पकाएका लुगालाई मुङ्ग्रोले चुटेर धुँदाको वासना ठोक्किन्छ नाकमा ।

पहाडमा बसोबास गर्ने अधिकांश जातको विविधता छ गाउँमा । बर्ग अनुसार त हुने भइहाल्यो । पहाडमा कटेरै भए पनि घर र फोगटै भए पनि जमीन त हुन्छन् । ऋण काढेर दशैं मनाउने बर्ग उत्ती हुन्छन् । दशैंमा देखिने भिन्नता एउटा बर्ग एक÷दुइ मार आँगनमै ढालेर देवी खुसी पार्छ । अर्को बर्ग सामुहिक रुपमा फिला–फिला र छाती भाग लाएर लालाबालाको अनुहारमा खुसी पोत्छ । आफ्नै पुरानो कविताको केही पङ्तीः

दशैं–मलमल, ढाका र पोलिस्टरमा बाँडिए जस्तो,
अँधियारेलाई आधा र मालिकलाई सिङ्गो भनेजस्तो ।’

ढुङ्गाको छानो त्यही हो, कमेरो र ब्याट्रीको मसलाले पोतिएका घरका भित्ता तिनै हुन् । आयु सकिएपछि दलिन र निदालको अन्तरकुन्तर किन राखिन्छ ब्याट्री भनेको चाडबाडमा रंग भर्ने किफायती मेसो रहेछ । पिङ बनाउन घरघर बाबियो खोज्दै हिंड्ने चलन कम भो होला । गाउँका वा टोलका बलियाबाङ्गाले घेरो बनाएर लठ्ठा बाट्ने काम पनि त्यति नहोला आजभोली । आहालडाँडा, कदमफेद, पोखरीडाँडा, मानडाँडादेखि ठूलोभन्ज्याङसम्म पनि पिङ होला कि नहोला ? पिङ खेल्न नपाएको झोंकमा कापे वा काम्रो नै बोकेर घर बोकेर हिजो हामी जस्तै आजका भाइबैनी दौडेलान् कि नदौडेलान् है ?

पींधमा मट्टितेल हालिने, माथ्लो भागमा शिशाभित्र जाली राखिने, जालीमा मट्टितेल पुर्याएपछि बालेर मैनटोलको चलन पनि हरायो होला । कपडाको लुँडो राखेर बालिने लालटिनको चलन पनि नहोला । बिजुलीले टूकी पनि खायो होला । मलाई मैनटोल र लालटिनको तापबाट आएको मट्टितेलको औधी गन्ध मन पर्छ, खरानीमा पकाएको लुगाको गन्धजस्तै, खडेरीपछिको झरीले भिजाएको रातोमाटोको वासनाजस्तै ।

‘म्याद गुज्रिएका ब्याट्रीका मसला पनि
पर्याप्त छ खुसी पोत्न ÷ जसरी म
विस्मृतिका पुराना केस्रा केलाएर रमाइरहेको छु’

दशैंका लागि गाउँमा घाँस काटेर जोगाड राख्ने चलन हुन्थ्यो । हामी डाले होइन पखेरे र रुख घाँसवाला गाउँका हौं । दश दिनका लागि सोत्तर (वस्तुभाउलाई ओछ्याउन) समेत जोगाड गरेर राख्ने चलन हुन्छ गाउँमा । सार्वजनिक स्वामित्वमा भएका पखेरा वा जंगलमा घाँस फुकुवा गर्ने चलन पनि थियो । एकाध वर्ष चल्यो । दाउरा अर्को जोरजाम गर्नपर्ने जिनिस थियो । घरमा एकदिनको लाठेको मूल्य तिरेर दाउरा चिरेको याद छ मलाई । वल्लो घरको मान्छे नहुँदा पल्लो घरको मान्छेले र तल्लो घरको मान्छे नहुँदा माथ्लो घरको मान्छेले एकअर्काको वस्तुभाउलाई घाँसपानी गरिदिने हार्दिक एकता होला कि नहोला ?

लङ्गुरबुर्जा दशैं र तिहारको पर्याय जस्तै थियो । हामी भुरा माटोमा चिन्ह बनाएर कचौरामा सानासाना गोटी हल्लाएर पनि खेल्थ्यौं । त्रिशुली पुलबाट लगत्तै दायाँ ओरालोमा थियो चल्तीको भीम दाईको पुस्तक पसल थियो । गोटी किन्ने सजिलो ठाउँ । र, गाउँमा लङ्गुरबुर्जा खेलाउने ‘आइकन’ थिए मानडाँडाका विष्णुदाइ । विष्णुदाइले स्कूलको चौतारो (हेडसरको घरमुनी) ठूलो बाल्टीमा बडेमानका गोटी जोडदार आवाजमा हल्लाएपछि मात्र दशैं नाचेजस्तो लाग्थ्यो ।

‘आ‘को झरल खुद्रा बाथ ! ’ अर्थात ठूला नोट जति हाले नि हुने तर चानचुन हाल्न नपाइने थेगो जस्तै थियो । जुवा हो, गाउँका मान्छे सुरवालको ईंजारबाट पैसा निकालेर पनि खेल्थे । बीसौं हजारसम्म हारजीत हुन्थ्यो । माओवादीले नमराज ढकाल र विष्णुदाइसँगै चाडबाडको एउटा ‘आइकोन’ को पनि घाँटी रेटिदियो । गाउँलेलाई आजभोली पनि दशैंमा स्कूलको चौतारोमा कुर्लने विष्णुदाइको गहु्रङ्गो आवाज झल्को आउँदो हो ।

दशैं तिहारमा गाउँमा भलिबल विशेष हुन्थ्यो । बाजी हुन्थ्यो । नमराज ढुंगाना, तपेदाइ (गेर्खु) शिव दाई स्पाइकरहरु थिए । पछि देब्रेहाते कमलदाइ र राजु जमे । मिनबहादुर, राजेन्द्र, मधु, राजकुमार दाइहरु डिफेन्स थिए । ओम थापा सरको ‘आर्टिस्टिक’ भली, मानसिं चौधरी सरको बनाना सर्भिस र साइला दाइको टुचिङ सर्भिसको ‘फन’ अर्कै थियो । त्यहाँ बैंक थियो, हुलाक थियो, प्राधीकरण थियो, कृषि उपकेन्द्र थियो । कर्मचारीगण हुन्थे, शिक्षकगण हुन्थे, शहरमा पढ्दै गरेका अग्रजगण हुन्थे, सरकारी जागिरेगण हुन्थे । जब समूह र कित्ता छुट्टिन्थ्यो बल्ल दशैं जमेछ जस्तो लाग्थ्यो ।

दशैंमा कोहीका बा लाहुरबाट, कोहीका बा शहरबाट तर मेरा बा चाँहि त्रिशुलीबाट घर पुग्थे । त्रिशुलीबाट बा आउनुहुन्छ भनेर सिमपानी, हिले हुँदै धनारथुम्कीसम्म दशैं लिन दौडिएको याद छ । दशैं मान्न गाउँ हिंडेका मान्छे र दशैं किन्न चोकदे ओइरिएका मान्छे देख्दा दशैं भनेकै खुसी, खुसी भनेकै दशैं जस्तो लाग्थ्योः

‘देउरालीबाट देखिन्छ
अरुसँग दशैं हिंडेको, दशैंसँग अरु हिंडेको

घिमिरे बाको कपडा पसल, जानुका दिदी, शेरमान बा, कान्टे बा, तारुके बालगायतको पसल थिए । चुरौटे दाईको टीकाधागो पसल थियो । नमेदाइ दिनमा तीन डेक्ची तरकारी बेच्थे (यो वर्ष दाई पहिरो प्रकोपले पीडित हुनुहुन्छ) । आलु र बाँसका सामान बेच्न यार्सा, भोर्ले, लच्यांगदेखि आउँथे । बजारमै छ्याम्बा (डिंडो) ओडाल्थे काठको दाबिलोले । अग्लो कद, ठूलो नाक, धोक्रे आवाजका मणे दाइ (दामे दाईको भाई) तिनीहरुसँग मित भन्दै ठट्टा गर्थे । ऊ बेलाजस्तो एक भाका सेलोले एक कोशको चोकदे रन्कन्छ होला कि नाईं अचेल ?

माओवादीअघि मोटो मशाल (?) र जनमोर्चाको जमाना थियो । कुनै मेसोमा कुमरीका आनन्द दाई, गोपी दाई, बिमल घले (पछि शहीद), माइला लामासहितको टोलीले पसलघरमा रिहर्सल गथ्र्यो । स्कूलको नाचघर (थियो)मा देखाएको सांस्कृतिक कार्यक्रमको नेगेटीभ अझै छ स्मृतिमा । अरुबेला छरिएर रहने समुदायमा ग्रामीण वस्तीमा विचार र संगठन निर्माण गर्न मनोवैज्ञानिक रुपमा पनि उर्जायुक्त दशैंको माहौल फलदायी रैछ । यो ‘मोटिभ’ पछि थाहा भो’ । त्यहाँ जीवन शर्मा गुञ्जिए, जेबी टुहुरे, खुसीराम पाख्रीनहरु गुञ्जिए । ‘शिमली छायाँ’, ‘फकल्याण्डको टापु’, ‘आमा दिदी बहिनी’, ‘कालो वनको बीचैमा खेतालाको गाउँ’ गुन्जन्थ्यो । पदम दाई, नल दाई, मधु दाई, माइला लामा, राजेन्द्र ढुंगाना दाइका अभिनयको पत्र पनि छ स्मृतिमा । हिलेका दिदीहरु नाचेको धमिलो तस्वीर छ । कार्यक्रम हेर्न सात गाउँका मान्छे आउँथे । गेर्खु, खानिगाउँ, फलाँटे, हल्दे, दार्मे, कटुञ्जे, कुवापानीसम्मका मान्छेले स्कूलको चौर भरिन्थ्यो । र, फर्कंदा बाबियोको राँको बाल्दै हिंडेका दृष्य गज्जब लाग्थे ।

बागेश्वरी यूवा क्लव राजनीतिको शिकार भयो । राजनीतिक विभाजनले मानसिक विभाजन पैदा गर्दोरहेछ । गाउँको हार्दिक एकता कम हुँदै गयो वा रहेन । दशैंको उल्लास पनि कम हुँदै गयो । एक साल फैमानचुलीको नाममा हामीले पनि गायौं क्रान्ति र परिवर्तनका गीत । हामी परिपक्क थिएनौं अथवा ठेट्ना थियौं । तर अराजक चाँहि थिएनौं । हामी अल्मलिएको त्यो बाटोबाट धेरै भाइृसाथी अगाडि बढेनन् । आज म मेरा समवयी पुस्ताका सबै दिदीबहिनी भाइसाथीलाई यहींबाट मिठो सम्झिरहेको छु ।

अब टीका, जमरा र मान्यजनको घर चाहार्दै रमाउने बालापनको नकुरा गरम । नयाँ लुगा भनेर विद्यालयको यूनिफर्म किनेको, नयाँ लुगा लिन दमाई दाइको आँगनमा दिनभर धर्ना दिएर बसेको, खसी घिसार्दै आँगन पुर्याएको, खसीको कान पोलेर खाएको, टाउकाले टेकेर मामाघर कुदेको, निधारको दायाँबायाँ रातो अक्षताको टीका लाएको, भाइसाथी जम्मा भएर दशैंको दक्षीणा गनेको यस्ता दृष्य आजभोलीको दशैंमा कमै होलान्, नहोलान् पनि ।

जातको राजनीति गर्नेले दशैंलाई हिन्दुसँग मात्र जोडे । हाम्रै गाउँमा, छिमेकमा बौद्धमार्गी तामाङ पनि थिए, शाक्य पनि थिए । तामाङले भूमे (भूदेव ?) पूज्थे, दशैं मनाउँथे । मगर दाजुहरु सेतो टीकाले निधार सजाएर आउँथे । लामादाईले पूजा गर्ने पाल्देन ल्हामो को हो हामीले कहिल्यै सोधेनौं । शक्तिको भोक मान्छेको गुण हो, जातको होइन ।

वायुको वेगमा समयले पङ्ख फिंजाएपछि रमाउने त सम्झनामै हो । जहाँ भए नि माटोको वासना आउँदैन भन्नसक्ने बलवान म छैन । राम्रो माटोले बनाउने हो, नराम्रो चैं बाटोले बनाउँछ जुन हामीले रोज्छौं । त्यसैले जहाँ म असल छु त्यो त्यही समाज र माटोको देन हो र जहाँ म खराब छु त्यो म हिंडेको वा मैले रोजेको बाटोको प्रतिफल हो ।
‘माटो त्यही त्यहीं छ÷जाने बाटो फेरिएको छ
गाउँ फेरिएसँगै÷दशैंका रङ्गहरु फेरिएका छन्
मलाइ खुसीका रङ्गहरु मात्र थाहा छ
मलाई खुसीका गन्धहरु मात्र थाहा छ ।’

२८ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको