सुनकाण्डमा पक्राउ परेका एसएसपी लोहनी साधारण तारेखमा रिहा


भदौ २९, काठमाडौं । साढे ३३ किलो सुन र भरिया सनम शाक्य हत्या प्रकरणमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी साधारण तारेखमा रिहा भएका छन्।

उच्च अदालत विराटनगरले शुक्रबार लोहनीलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको रजिष्ट्रार नारायण रेग्मीले बताए। ‘लोहनीविरुद्ध जिल्ला अदालत मोरङको जेठ ७ गतेको आदेश तत्काल संलग्न मिसिल प्रमाण रोहमा नदेखिएको हुँदा तारेखमा राख्नू,’ आदेशमा उल्लेख छ ।

न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरिदिएको हो। लोहनीको मुद्दामा साँझसम्म इजलास बसेको थियो।

३३ किलो सुन र सनम शाक्य घटनाका मुख्य अभियुक्त चूडामणि उप्रेतीलाई भगाएको आरोप लगाउँदै गृह मन्त्रालयको छानविन टोलीले लोहनीलाई पोलेको थियो। सरकारी वकिल कार्यालय मोरङमा वैशाख १९ गते बयान दिन गएका लोहनीलाई पक्राउ पूर्जी दिइएको थियो।

लोहनी पक्राउपछि जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका थिए। शुक्रबार साँझ परिसकेका कारण लोहनीलाई थुनामुक्त गर्न उच्च अदालतले पूर्जी दिइसकेको भने छैन। अभियोग लागेपछि लोहनी निलम्बित छन्।

तत्कालीन महानगरीय अपराध महाशाखा प्रमुख हुँदा सनम शाक्य हत्या तथा ३३ किलो सुन अनुसन्धानमा लोहनी नेतृत्वको प्रहरी खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङले ९ प्रहरीसहित ६३ जनाविरूद्ध संगठित अपराध ऐन अनुसार मुद्दा चलाएको थियो। गृह मन्त्रालयद्वारा गठित छानविन समितिले शंका गरेपछि उनी प्रतिवादी बनाइएका थिए। गत असार ७ गते लोहनीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

सुन र सनम प्रकरणमा लोहनीले खटाएको टोलीका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि थुनामा छन्। पूर्वडिअाइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, डिएसपी सञ्जय राउत, व्यापारी मोहनकुमार अग्रवाललगायतलाई सुन प्रकरणमा विपक्षी बनाइएको थियो।

सुन गायब बनाएको भन्दै मोरङको उर्लाबारी-७ का शाक्यलाई फागुन १८ गते करेण्ट लगाएर हत्या गरिएको थियो। सुन तस्करीका मुखय अभियुक्त उप्रेतीले सनम शाक्यलाई जंगलमा यातना दिएका थिए। गत माघ ९ गते युएइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएको सुन गायब भएपछि महाशाखाको टोली पछि लागेको थियो।

सरकारी छानविन समितिले हालसम्म सुन फेला पार्न सकेको भने छैन। छानविन समिति हाल निष्कृय छ।

२९ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको