साउन २९, काठमाडौँ । आफ्ना प्रवक्ता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव ठाउँ ठाउँमा देखिएको छ ।
राजधानी काठमाडौँमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन् । तर निजी तथा सरकारी विद्यालय बन्द भएका छन् । विप्लवले बन्द गरेको भन्दै स्कुल र कलेजहरुले आज पढाई नहुने सूचना दिइसकेका छन् । देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा बम राखेको खबर प्राप्त भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।
मंगलबार विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ ।
ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको छ । लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा राखिएका शंकास्पद बस्तु बम नभएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।
पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ ।
कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लास्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ । झोलामा बम भएको हुन सक्ने स्थानीयले बताएका छन् ।
सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम केहिबेर अघि निष्क्रिय पारेको हो ।
विप्लवले गरेको नेपाल बन्दको कारण विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् ।
अर्घाखाँचीमा बजार, उद्योग धन्दा , तथा शिक्षण सस्था पुर्ण रुपमा ठप्प भएका छन् । विप्लवले आफ्ना प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुलाई विनाकारण प्रकाउ गरेको भन्दै नेपाल बन्दको आब्हान गरेको हो ।
अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई प्रहरीले पक्राउ गरेको छ।
सुरक्षा जाँचका क्रममा प्रहरीले अखिल क्रान्तिकारी विप्लव समूहकी केन्द्रीय सदस्य उषा किरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सन्जेल रावललाई पक्राउ गरेको हो ।
प्रहरीले से ५ प ६७०१ नम्वरको स्कुटीमा सवार दुवै जनालाई काठमाडौँको जमलबाट पक्राउ गरेको बताइएको छ ।
दाङमा बिहानै देखि बन्दको प्रभाव पूर्ण रुपमा परेको छ ।
नेकपा दाङले गरेको बन्दमा यातायातका लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् भने उद्योग, कलकारखाना, व्यपार व्यवसाय, शिक्षण संस्थाहरु पनि ठप्प रहेक छन् ।
नेपाल बन्दका कारण पोखराको जनजीवन प्रभावित भएको छ ।
पोखरामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन गुडेका छैनन् भने मुख्य बजार पनि बन्द छ । केही मात्रामा निजी सवारी साधनहरु र पसलहरु भने सञ्चालन भएका छन् । शैक्षिक संस्था, उद्योग, कलकारखा पनि बन्द छन् ।
राजधानीकाे बल्खुमा एकाविहानै वम विष्फाेट भएकाे छ । बम विष्फाेट भएपछि त्यस क्षेत्रमा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।
बल्खुचोकमा भएकाे वम विष्फोटबाट कुनै क्षति भने भएकाे छैन । वम विष्फाेट भएपछि बल्खु कलंकी सडक अबरुद्ध हुनुका साथै सर्वसाधारणलार्इ पनि हिडडुल गर्न दिइएकाे छैन ।
काठमाडौंको नयाँपाटीमा बम भेटिएको छ। नयाँ पाटीकाे सडकमा राखिएको प्रेसर कुकर बमलाई निस्किृय बनाउन अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको बताइएको छ । बम राखिएको स्थानलाई नेपाल प्रहरी तथा नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत महोत्तरीको बर्दिबासस्थित रातु–छहरा पुलमा कुकर बम राखिएको छ ।
पुलमै कुकर बम राखिएपछि यहाँबाट पूर्व–पश्चिम राजमार्गको यातायात एक घण्टादेखि पूर्णरुपमा अवरुद्ध भएको छ । यातायात रोकिँदा सयौँ सवारीसाधन र यात्रु सडकमै अलपत्र परेका छन् ।
बम राखिएपछि अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छिन्नमस्ता गणको टोली पुगिसकेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली भने घटनास्थलमा आउने क्रममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस