माओवादीले माग्यो दुई मुख्यमन्त्री र चार सभामुख


३० पुस, काठमाडौं । माओवादी केन्द्रले संयुक्त कार्यदलमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ ।

आइतबार बसेको दुई दलीय कार्यदलमा माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका हुन् । एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श गरेर टुंगोमा पुग्ने जवाफ दिएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी नेताहरुले एमालेले चार र आफूहरुले दुई मुख्यमन्त्री लिने प्रस्ताव गरे । यस्तै प्रदेशसभाको सभामुख भने आफ्नो दलले चार र एमालेले दुई मात्र दिने उसको प्रस्ताव छ ।

कार्यदलमा एक सदस्यले भने, ‘एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लिने प्रस्ताव आएको छ ।’

एमाले र माओवादीको ६ वटा प्रदेशमा बहुमत छ । प्रदेश २ मा भने मधेस केन्द्रीय दलको बहुमत पुगेको छ ।

राष्ट्रियसभामा भने मतका आधारमा सिट बाँडफाँट गर्ने माओवादी प्रस्ताव रहेको एक नेताले जानकारी दिए ।

बैठकपछि एमाले नेता एवं कार्यदलका संयोजक सुवास नेम्वाङले शीर्ष नेताहरुसँग परामर्श गरेर मंगलबार टुंगो लगाइने बताए । उनले भने, द२ गते हाम्रो अध्यक्ष आउनुहुन्छ । यसबीचमा अध्यक्षहरुसँग सम्पर्क गर्ने भन्ने समझदारी छ । त्यसैले ३ गते बैठक राखेका छौं ।’

स्वास्थ्य उपचारका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार स्वदेश र्फकने कार्यक्रम छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रारम्भीक प्रस्ताव आएको भन्दै बुधबार टुंगोमा पुग्ने बताएका छन् । ‘आज हामीले सिटहरुका बारेमा प्रारम्भीक छलफल र प्रस्तावहरु राखेका छौं र केही मापदण्डमा छलफल गरेका छौं’ बैठकपछि अनन्तले भने, ‘सात वटै प्रदेशमा रहेको मतको अध्ययन गर्‍यौं । प्रदेश मुख्यमन्त्री, सभामुख उपसभामुखको के हुनसक्छ भनेर छलफल गरेका छौं ।’

राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि गृहकार्य गर्न एमाले र माओवादीले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा दुबै दलका ३/३ नेता छन् ।

२०७४ पुष ३० गते प्रकाशित

अनलाइन खबर

३० पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको