पुरुषोत्तम लम्साल/पोष्ट पाटी ।
२००७ सालको परिवर्तनपछि नेपालका लागि विश्व र विश्वका लागि नेपाल खुल्ला भयो । गरिबी र अविकास देखाएर यो त्यो सबैको सबै शर्त मानेर सहयोग माग्ने परिपाटी दरबारबाटै शुरु भयो । यहींबाट शुरु हुन्छ नेपालमा इसाइकरणको ‘अर्को सय वर्षको मिसन’ ।
***
साताअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ ट्वीट आयो, किराँत, हिन्दू र बौद्ध तीर्थको त्रिवेणी हलेसीबाट । उनको मुखारबिन्दुबाट मैले पटकपटक विकासमा धर्म नै बाधक रहेको उद्गार सुनेको छु । उनले हिन्दू धर्मलाई सबैखाले अविकास र अशान्तीको जड जसरी व्याख्या नगरेका पनि होइनन् । सनातन धर्ममाथि हिजोका दिनमा जति नै प्रहार गरिए पनि ‘आखिर श्रीकृष्ण रहेछ एक’ को शैलीमा भट्टराई वाणी पढ्दा मन पुलकित भो ।
जनयुद्धको समयमा जात र धर्मको मानसिक विभाजनको बीज रोपिएकै हो । बाबुराम र प्रचण्डले यसलाई परिवर्तनको अंश मात्रको रुपमा व्याख्या गर्लान्, त्यो अलग कुरा हो । तर यसले उब्जाएको स्थायी आन्तरिक द्वन्द र सामाजिक मनोदशा आजको तथ्य हो । हिजोका दिनमा हामीबाट धर्मको ठाउँमा यो यो गल्ती भयो भनेर चाँहि बाबुरामले कहिल्यै बोलेनन् । दरबारिया र माओवादी समूहको चक्रब्यूहमा परेर माओवादीकै बन्दूकबाट मारिएका पण्डित नारायण पोखरेलको उदाहरण पछि चर्चा गरौंला । तर बहूधार्मिक समाजमा एउटा धर्मविरुद्ध मच्चाइएको बितण्डाबारे मुखै नखोल्नु, यो चाँहि उदेक लाग्ने विषय हो ।
भट्टराईले कहिलेकाँहि इसाइकै कार्यक्रममा पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दा पनि तिनबाट समभावको अभिव्यक्ति आइदिएको हुँदो हो त मलाई यो उदेक लाग्ने थिएन । संस्कारी छन्, संस्कृत छन्, तीर्थाटन गर्छन्, रुद्री लाएनन् होला तर दशैं तिहारमा टीका माला उन्छन्, केही भएन । खुसी लाग्छ । अस्ती चाँहि हलेसीथान पुगेर धार्मिक सहिष्णुता र समभाव नमूना उवाच भएछ । हिन्दू राष्ट्रका लागि आन्दोलन थाल्ने घोषणा गरेका कमल थापाप्रवृत्ति लक्षित सन्देश पनि रहेछ । सन्देश गलत पनि थिएन । उसै पनि बिचारभन्दा फाइदा औ नाफाको बाटोमा लिप्त हुने प्रवृत्तिबारे ‘फलोअप’ गरिरहनु पर्दैन । चुल्हो मिले गणतन्त्र ठीक, चुल्हो नमिल्दा धर्म नासियो, ‘राजा आउ देश बचाउ’ को गनगन सुनेर अत्यास लाग्छ, टिप्पणी नगर्दा बेस ।
जता हावा त्यतै तालको उदाहरण विख्यात लेखक खगेन्द्र संग्रौलाबाट पनि लिन सकिन्छ । किनकि, उनी पनि रमाइला ट्विट खेल्छन् । दश दिनअगाडि ‘केपी ओली अहंकारवादी हिन्दु शाषक भएर उदाउन खोजे’ लेख्छन् । दश दिनपछाडि ‘ओली नेपाली धर्म र संस्कृतिको खिलापमा उभिएर इसाइको बुई चढे’ लेख्छन् । नमिलेको धून सिके राउत प्रकरणमा नि बेलाबेला पोखिन्छ ।
पृष्ठभूमिका उल्लिखित सन्दर्भको गुदी चाँहि काठमाण्डौमा साताअघि एउटा अन्तर्राष्ट्रिय चर्चले आयोजना गरेको कार्यक्रम र त्यसमा नेपाल सरकार र देशको साँचो हातमा लिएर बसेका ठूलाबडाको सहभागिता र संलग्नताको हो । सरकारले नाम मेटेर औपचारिक सहयोग गरेकै हो, माधव नेपाल कार्यक्रमको मुख्तियारै हुन् । अरु बाँकि लेखौंला ।
चर्चले कार्यक्रम गर्नै नपाउने होइन, मज्जाले पाउँछ । स्थानीय चर्चले पनि, क्षेत्रीय चर्चले पनि पाउँछन् । त्यस्ता कार्यक्रममा सरकारी मान्छेले उपस्थिति जनाउनै हुँदैन भन्ने होइन । मज्जाले जाँदा हुन्छ, भुँडी फुट्ने गरी खाँदा हुन्छ । तर आयोजकले ढाँट र छल गरी कुत्सित र नियोजित अभिष्टले सरकारको र सरकारले अख्तियारको दुरुपयोग गर्छन् भने त्यो बेला आलोचना र प्रतिकार जायज हुन्छ । अझ त्यसमा संदिग्ध पात्र र सन्देहपूर्ण उद्देश्य घुसाएर सरकारको मान र मर्यादाकै खिल्ली उडाइन्छ भने संगठित प्रतिकारकै जरुरी हुन्छ ।
साँच्चै, मिसिनरीको एउटा शाखाले नेपाल सरकारलाई च्याम्पटी नै बनाएको हो ? सरकार नै गलत हतियारको मतियार बनेको हो ? के हामी फिलिपिन्सकरण हुँदैछौं ? लोकसेवाको परीक्षामा सोधिने सामान्यज्ञानमा संशोधन गरेर मन्दिरको शहर काठमाण्डौबाट चर्चहरुको शहर काठमाण्डौ स्थापना गर्न उद्यत् हुँदै छौं ? कि मनको बाघकै आक्रमणबाट आहत मात्र भइरहेका हौं ? छाल सकिए पनि तरङ्ग बाँकि छ । कुण्ठा र आवेगलाई नियन्त्रणमा राखेर बहस हुने हो भने दूधको दूध पानीको पानी निकाल्न नसकिने चाँहि होइन ।
यूनाइटेड मिसन टू नेपालले ४० वर्ष अगाडि छापेको नेपाल एण्ड द गोस्पेल गड शीर्षकमा सन् १८८१ देखि १९२५ सम्म जम्माजम्मी २ सयजना यूरोपियन इसाई नेपालमा बसोबास गरेको उल्लेख छ । यो संख्या २०२८ सालमा तीन हजार, २०३८ सालमा चार हजार, २०४८ सालमा पैंतिस हजार हुँदै २०६८ मा आइपुग्दा चार लाख पुगेको छ । पछिल्लो आंकडाअनुसार नेपालमा दश लाख इसाई धर्मावलम्वी पुगेका फरकफरक दावी छन् । क्रिस्चियन टूडेको दावी मान्ने हो भने नेपाल विश्वमै तीब्र इसाइकरण भइरहेको अग्रपंक्तिको देश हो जहाँ जनसङख््याको तीन प्रतिशत वा दश लाख छापावाल इसाई धर्मावलम्वी छन् ।
सबैले पृथ्वीनारायण शाहले कान्तिपुर शहरबाट इसाई पादरीहरुलाई देशनिकाला ठोकेपछि नेपालको राजतन्त्रविरुद्ध पश्चिमा देश अनुदार भए भन्ने बनावटी रटान रट्छन् । थेगोमा प्रमाण खोजिन्न । अढाइ सय वर्षअघिको तूष पूरा गरेर तुष्टी लिन नेपालमा धर्मान्तरणको खेती उत्कर्षमा पुगेको हल्लाबोल छ । कथ्य र तथ्य अलगअलग केलाउने काम चाँहि बिरलै हुन्छ । किनकि, बुढा अध्येताहरु कर्क पेट्रिकको किताबबाट बाहिर आउनै सकेका छैनन् । अध्ययनले देखाउँछ, त्यतिबेला पनि बहादुर शाह र प्रतापसिंह शाह दुबै इसाई मिसिनरीप्रति उदार थिए । तर भारतमा मिसिनरीको चालबाट वाकिफ पृथ्वीनारायण शाह अरुभन्दा चतुर र दूरदर्शी दुबै थिए, त्यसैले धर्ममा स्वार्थ बोकेर हिंड्नेलाई लगाम कसे । कुरा यत्ति हो । बाँकि त्रिभुवनदेखि ज्ञानेन्द्रसम्म आइपुग्दा चाँहि कसले के रोकेको छेकेको छ ? यो कोण त आजपर्यन्त खाली नै छ ।
३ सय ९० वर्षअघि कान्तिपुर राजा लक्ष्मीनरसिंह मल्लबाट अनुमति लिएर प्रवेश गरेका फादर क्याब्रलबाट नेपालमा इसाई प्रवेश (सन् १६२८) को औपचारिक कथा शुरु हुने रहेछ । प्रताप मल्ललाई बेलायती दूरवीन उपहार दिएर लोभ्याउने फादर डुर्बल र गोर्बिलको चर्चा पछि गरौंला । राजा भाष्कर मल्लको समयमा तिब्बत मिसनको सहायक अंगको रुपमा कान्तिपुर ओर्लिएको समूह आवासीय बनेछ । यसरी उपत्यकामा इसाईको संगठन बनेको १७७२ देखि गनेर ल्याउँदा ३सय२ वर्ष नाघेछ ।
क्यापुचीन मिसन (इटलीमा विपन्नका लागि खुलेको सेवामूलक संस्था जुन पछि इसाइ विस्तारको मानक अंग भो) का सदस्यको रुपमा कान्तिपुर र भादगाउँ छिरेका मिसिनरीले अभावको बहानामा प्रभावको खेती गरेको नसिहत चाँहि १८२६ मा पृथ्वीनारायण शाहले उनीहरुलाई देशनिकाला (५७ जना नेपाली क्रिश्चियनसहित) गरेर बिहार खेदेपछि मिल्ने रहेछ (इन सर्च अफ क्रिश्चियन नेवार) । खासमा क्यापुचीनको मिसन तीब्बत असफल भएपछि भारतको गोवा र सुरत केन्द्र बनाएर नेपालमा विस्तार भएको दृष्टान्त भेटिन्छ । तिब्बत मात्र क्यापुचीनको निशानामा किन बन्यो ? यो अर्को महाभारत हो, त्यता नजाम् । तर यो काण्डपछि पुरै दुई सय वर्ष नेपालमा इसाइकरणको खेती जारी रह्यो तर फसल कम लाग्यो । किनकि, अनुदार राणा शासनमा पनि यो खेती मौलाउन र फस्टाउन सकेन तर खडेरी नै चाँहि देखिन्न ।
किनकि, चन्द्र शमसेर अगाडिका राणा प्रधानमन्त्री बीर शमसेर जसले घन्टाघर बनाए, तिनका नाती कर्णेल नरराज शमसेर जबरा पनि बाप्टाइज्ड भएका (२००९ सालमा) क्रिश्चियन रहेको औपचारिक तथ्य छ । चन्द्रशमसेरकै शासनमा नेपाल भारत सीमाको नौतनहवामा खडा गरिएको नेपाल बोर्डर फेलोसिप (विस १९८४), मेडिकल मिसन, हालको इन्टरनेशनल नेपाल फेलोसिप (विस २०००) इसाइकरणका सन्दर्भमा संगठित अभियान रहेको छुटाउन हुँदैन । यसलाई नेपाल प्रवेश गर्न तयार रहेको रुपमा सीमा क्षेत्रमा अड्डा जमाएका मिसिनरीको अर्थमा बुझ्न युक्तिसंगत हन्छ । जस्तै, इलामनजिकको सुखियापोखरी, बिराटनगर नजिकको जोगबनी, बीरगञ्जनजिकको रक्सौल,, बुटवलनजिकको नौतनहवा, नेपालगञ्जनजिकको रुपैडिया, महेन्द्रनगरनजिकको टनकपुर, उत्तरी सुदुरपश्चिमका लागि झुलाघाटमा मिसिनरी कार्यालय रहेबाट बुझ्न सकिन्छ । आजको मितिमा जसरी नेपालका पहाडी इलाकाहरुमा चर्चको घेराबन्दी बढ्दो छ । हिजोका दिनमा सीमा क्षेत्रबाट भएको रणनीतिक घेराबन्दीले दिने अर्थ महत्वपूर्ण र संवेदनशील मान्न चाँहि तपाईलाई पनि करै लाग्छ ।
अर्को तथ्य, नेपालमा भानुभक्तको रामायणअगाडि नै बाइबलको प्रकाशन र बितरण उधूम् थियो । राणा शासन ढलेलगत्तै (विस २००९ मा) माथि उल्लेख गरिएको संस्था आइएनफले पोखरामा घर गर्यो । यसैले बनाएको हो रामघाटमा नेपालको पहिलो चर्च । गोरखापत्र प्रकाशन भएकै समयमा प्रवासबाट ‘गोर्खे खबर कागत’ निकाल्ने पहिलो नेपाली पादरी गंगाप्रसाद प्रधानको परिवारलाई राणा शाषकले ठहिटीबाट खेदेर देश निकाला नगरेको हुँदो हो त नेपाली भाषामा बाइबल प्रकाशन हुन अझ केही वर्ष कुर्नपथ्र्यो । परिबन्ध र बाध्यतालाई सर्लक्क कज्याएर अवसर र स्वार्थको बीउ रोप्न कसैले पादरी र फादरहरुबाट सिकून् ।
अर्को सत्य के हो भने त्यतिबेलामा धर्ममा विश्वास र आस्था खोजिन्थ्यो आजजस्तो चाउचाउको पुरिया र सिटामोल मात्र खोजिन्नथ्यो, फरक त्यत्ति हो । त्यतिबेला समाज र संस्कृतिलाई महत्व दिने पादरी र फादरहरु थिए आजभोली धर्मको नाममा व्यापार गर्ने र चन्दाबाट उठेको पैसाले च्यारिटीको नाममा हजम गर्ने बढी छन् । इस्लामको भाषामा हरामहरुको खेती इसाईमा जबरजस्त छ । फरक यत्ति हो ।
२००७ सालको परिवर्तनपछि नेपालका लागि विश्व र विश्वका लागि नेपाल खुल्ला भयो । यो सँगै शोधार्थी पेरीको भाषामा नेपालमा इसाइ स्थापना गर्ने ‘पहिलो सय वर्षको मिसन पूरा भएर अर्को सय वर्षको मिसन शुरु भएको’ हो ।
अर्को अंकमा हामी २००७ सालको राजनीतिक परिवर्तन, पञ्चायतले भरथेग गरेको इसाईकरण, २००७ पछि तय भएको अर्को सय वर्षको मिसनबारे चर्चा हुनेछ । महेन्द्रको राष्ट्रवादको व्याख्या यो मिसनमा जोडेर गरिनुपर्दैन ? राजाको सात खत चाँहि माफी दिने ? आजका केपी ओली र माधव नेपाल मोहर हुन् कि मोहरा ? अर्को बसाईमा भेटौंला ।
(बाँकि अर्को अङ्कमा…)
प्रकाशित मिति : २७ मङ्सिर २०७५
प्रतिक्रिया दिनुहोस