क्याप्टेन विजय लामा जव आफ्नै देशका युवाहरु जहाजमा बोकेर बेच्न उडिरहन्छन…!


क्याप्टेन विजय लामाले नेपाली ध्वजावाहक जहाज मलेसिया र खाडी मुलुकतिर जव उडान भर्छन, तव पौरखी नेपाली युवाहरुले उनको जहाँन सर्लकै भरिएको देख्छन । अनि हरेक हवाई यात्रामा मिस्रित भावनाले उनलाई सताउने गर्छ ।

आफ्नै नेपाली ध्वजावाहक जहाजलाई माया गरेर, टन्नै भरिएको जहाज देख्दा एकातिर उनलाई केहि खुसि त मिल्छ नै तर आफ्नै स्वदेश बनाउने युवाहरु सात समुन्द्र पारीको देश बनाउन उडीरहदा क्याप्टेन लामाको मनमा सारै पिडा उत्पन्न हुन्छ ।

क्याप्टेन लामालाई यस्तो लाग्छ, आफ्नै देशका पौरखी युवाहरुलाई सिमापारीको देशमा बेच्न हिडिरहेको छु, उडिरहेको छु । यसरि कल्पनाको खुल्ला आकाशमा उडिरहेको बेला आफुले उडाई रहेको जहाज बादलमा कहिँ कतै ठोकिदा झस्किदै कल्पनाबाट मुक्ति पाउछन, अनि निरस हुँदै श्रम खरिद गर्ने शहरको गन्तव्यमा पुग्न खुल्ला आकाशमा जहाँज उडाई रहन्छन।

युवाहरु आफु बेचिन उडिरहेको देख्दा फिटिक्कै चित्त बुझ्दैन र बेचिदै गरेका युवाहरुको आत्मा भित्र पस्ने कोसिस गर्छन । जहाज उडाउदा-उडाउदै आफ्नै जहाजमा सवार नेपाली युवाहरुको भित्रि आत्मालाई खोतल्न र बुझ्न यात्रु कहाँ पुग्छन । बिचलित युवाहरुको आत्माले उस्तै-उस्तै उत्तर दिन्छन ।

बेचिदै गरेका युवाहरुको आत्माले भन्छन ‘आफ्नो देश बनाउने रहर कस्लाई हुदैन र ! जिउन कै लागि अर्काको देश बनाउन, आफ्नै देशलाई लथालिङ्ग छोड्नु परेको छ, यो बाध्यता भोग्नेलाई मात्र थाहा होला’।

उडिजाने जहाँजमा बसेका प्रत्यक युवाहरुको राज्य संग गुनासो छ । उनीहरु भन्छन, ‘युवा जोसमा राज्यले बस्न दिएन, आफु जन्मेको देशमा जिन्दगीको अन्तिम पल सम्म बस्न पाउ भन्नकै खांतिर, जीवनको उर्बराउदो आधा समय समुन्द्र पारीको देशमा बेच्न जाँदै छौ क्याप्टेन साहेब ! कालले साँचे यो जिबन बाँचे तपाई कै जहाजमा आफ्नै देश फर्किने छौ ।’

दुख लाग्छ, यो देश हाम्रा लागि जन्मिन र मर्न मात्र रहेछ । गर्नु त अर्कै देशको लागि रहेछ । नचाहेर पनि शर्मिन्दामै छौ यो पनि विवसता हो, भुल होइन ।

क्याप्टेन लामालाई पनि साँच्चै हो झैँ लाग्यो । राज्यले के नै दिएको छ र… आम जनतालाइ करको नाममा लुट्नु बाहेक ? न त युवाहरुलाई आफ्ना पाखुरी बजारेर गरिखाने रोजगार युक्त थलो दिन सक्यो, न त देशमै बस्ने सुबिधा उपलब्ध गराउन सक्यो ।

अहँ..! बेचिदै गरेका युवाहरुको आत्मा यत्तिमै रोकिएन । उनीहरुले अझै साक्षात्कार गरिदिए सुन्नुस क्याप्टेन साहेब ‘हामी आफ्नै नेपाली ध्वजावाहक जहाँजलाई यति धेरै माया र सम्मान गरेर देशकै झण्डा बोकेको जहाजमा यात्रा गर्छौ, तर आफ्नै झण्डा बोकेको राज्यको सम्पतीले पनि देश छोड्दै गर्दा हामीलाई नै महँगीले लुटिरहेको छ, यी हेर्नुहोस महँगो टिकट बोकेर उडिरहेका छौ ।’

जाँदा लुटिदै जान्छौ, अनि फर्किदा पनि लुटिदै फर्किन्छौ । परदेशमा पसिना बगाएर कमाएको हाम्रै रेमिट्यान्सले करोडको गाडी किन्छन, तलब भत्ता खान्छन । श्रम र पसिना बेचेर फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहि कर्मचारीहरु लुट्न ढुकेर बसेका हुन्छन । खासमा उनीहरु सुबिधा दिन होइन लुट्न कै लागि बसेका हुनकी जस्तो लाग्छ, माफ गर्नुहोस क्याप्टेन !

जहाजमा आफु बेचिन उडिरहेका युवा यात्रुको फड्के किनारामा साँछी बसेर क्याप्टेन बिजय लामाले मलिन भएर मुन्टो हलाउदै सहि दिनु बाहेक अरु के नै गर्न सक्थे र । तर पनि देशका नेताहरुलाई प्रश्न गर्न छोडेनन्, ‘कसैलाइ पनि फुर्सद छैन यी युवाको मुद्दाहरूलाई ध्यान दिन…! चुनावमा नेताहरुले भोट माग्नेबेला दिएका वचनहरु मात्र पूरा गरेको भए, आज यी युवाहरुको मुद्दा समाधान भइसकेको हुन्थ्यो र यसरी हजारौ पौरखी युवाहरु हरेक दिन बिदेश बेच्न/बेचिन लैजानु पर्दैनथ्यो ।’

अब बेचिएको युवा आत्माको अनगिन्ती चित्कारहरु बोकेर उडेको जहाजले श्रम लुट्ने शहरको गन्तव्य पुग्नै आँट्यो । अर्थात खाडी/मलेसिया आइपुगे छ क्याप्टेन लामाको जहाज । जहान ल्यान्डिङ गरिसके पछी आफ्नो सामाजिक संजाल मार्फत क्याप्टेन विजय लामाले नेताहरुलाई खबरदारी गर्दै केहि गम्भीर प्रश्न पनि गरे ।

न त देश भित्र सुख, न त बिदेशमा नै…! यहि हो त नेपालीहरुको भाग्य अनि सुशासन ? के यही होला त गणतन्त्र नेपाल जहाँ नेताहरु मात्र मोटाउने, अनि सुबिधा सम्पन्न जीवन बिताउने ?

जय चन्द्र सुर्य !

(क्याप्टेन बिजय लामाको अभिव्यक्तिमा आधारित रहेर तयार पारिएको सामाग्री)

२७ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको